मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सम्पादन गरेका कामकाजको विवरण सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले साउन १ गतेदेखि पुस मसान्तसम्मको कार्यसम्पादन विवरण सार्वजनिक गर्नुभएको हो ।
६ महिनाको अवधिमा कार्यालयले २ हजार ९ सय ३३ वटा नागरिकता जारी गरेको छ भने २ हजार ४ सय ६४ वटा नागरिकताको प्रतिलिपि वितरण गरिएको छ । सोही अवधिमा ३ वटा नागरिकता रद्द गरिएको छ भने ७४ वटा नाबालक परिचयपत्र जारी गरिएको छ ।
शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै उहाँले ६ महिनामा लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरिएको बताउनुभयो । यस अवधिमा जिल्लामा १ सय १५ वटा आपराधिक घटना घटेका छन् भने १ वटा हत्याको घटना भएको छ । विभिन्न मुद्दामा संलग्न ६१ जना अभियुक्त पक्राउ परेका छन् ।
कार्यालयले राहदानी सेवातर्फ ६ महिनामा ४ हजार ३ सय ११ वटा ई–पासपोर्ट दर्ता गरिएको र तीमध्ये १ हजार ३ सय ७४ वटा वितरण गरिसकिएको प्रजिअ थानीले जानकारी दिनुभयो । साथै, सोही अवधिमा ७ हजार ४ सय ७४ वटा राष्ट्रिय परिचयपत्र दर्ता गरिएको छ ।
यसबिचमा २० वटा सुरक्षा समितिको बैठक सम्पन्न गरिएको, ८ वटा सार्वजनिक शान्ति विरुद्धका मुद्दा दर्ता गरिएको र ६ पटक बजार अनुगमन गरिएको प्रशासनले जनाएको छ ।
यसैगरी द्वन्द्व प्रभाविततर्फ २४ जनालाई १४ लाख ३४ हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ भने सवारी दुर्घटनामा घाइते भएका २३ जनालाई १ करोड ३२ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको छ ।

