काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाइने भएको छ । २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६ देखि ८ गतेसम्म दिवस मनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति पनि गठन गरेको छ ।
समितिमा नेपाल सरकारका मन्त्री, काठमाडौँ उपत्यकाका सबै नगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपाल सरकारका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य हुनुहुन्छ ।
गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्यसचिव हुनुहुन्छ । निर्णय अनुसार तीन दिनसम्म नेपालभर र विदेशस्थिति नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा विभिन्न कार्यक्रम गरिने छ ।
मूल समारोहको कार्यक्रम काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा गरिने जनाइएको छ ।

