मुसिकोट । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजु केसीले जिल्लाका विभिन्न स्थानमा घरदैलो तथा जनभेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन्। कांग्रेसले विकास, समृद्धि र सुशासनको एजेन्डासहित अभियानलाई अघि बढाएको जनाएको छ।
कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका युवा नेता केसीले जिल्लाको बाँफिकोटका ९ वटा वडा र त्रिवेणी गाउँपालिकाका ४ वटा वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् भने शनिबारबाट अभियान सानीभेरी गाउँपालिकामा केन्द्रित भएको जनाइएको छ।
घरदैलोमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको उनले बताए। मतदातासँग प्रत्यक्ष संवाद गर्दै कांग्रेसको चुनावी एजेन्डा, सुशासन, विकास, रोजगार र जिल्लाको समग्र समृद्धिका विषयमा जानकारी गराइएको छ।
उम्मेदवार केसीले घरदैलो कार्यक्रममा सहभागी भएका स्थानीयवासीप्रति धन्यवाद व्यक्त गर्दै आफूले व्यापक मतदाताको समर्थन पाइरहेको दाबी गरे। उनले चुनावी अभियान प्रभावकारी रूपमा अघि बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जनताको विश्वास र समर्थन प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अभियान अन्तर्गत विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग अन्तरक्रिया गर्ने कार्यक्रमलाई निरन्तरता दिइने कांग्रेस रुकुम पश्चिमले जनाएको छ।
कांग्रेसले यस निर्वाचनमा सुशासन, विकास, रोजगारी सिर्जना र जिल्लाको समग्र समृद्धिलाई मुख्य एजेन्डा बनाएर चुनावी अभियान सञ्चालन गरिरहेको पार्टिका जिल्ला उपसभापति हर्कसिंह खत्रीले जानकारी दिनुभयो ।

