मुसिकोट । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार युवा नेता राजु केसीले आश्वासनको राजनीति नगरी जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सोमबार रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका विभिन्न वडामा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै केसीले जनताको वास्तविक आवश्यकता अनुसार विकास गर्नुपर्नेमा जोड दिनुभयो। “देखावटी योजना र खोक्रा प्रतिबद्धताले जनताको जीवनस्तर बदलिँदैन, विकास आवश्यकताका आधारमा हुनुपर्छ,” उहाँले बताउनुभयो।
कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि समेत रहनुभएका केसीले विगतमा निर्वाचित केही प्रतिनिधिहरूले झुटा आश्वासन बाँडेर मत लिएको तर जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो। उहाँले कांग्रेस पार्टी एकताबद्ध रहेको उल्लेख गर्दै यसपटक जिम्मेवार र परिणाममुखी नेतृत्व आवश्यक रहेको बताउनुभयो।
“जनताको दुःख–सुखमा साथ दिने, समस्या बुझेर समाधान खोज्ने नेतृत्व सत्तामा पुग्नुपर्छ,” उहाँले बताउनुभयो, “म जनताको घरदैलोमै पुगेर समस्या सुन्दैछु। ती आधारभूत आवश्यकताहरू पूरा गर्नु मेरो मुख्य दायित्व हुनेछ।” उहाँले मतलाई किनबेचको वस्तु नबनाउन आग्रह गर्दै प्रलोभनमा नपर्न मतदातालाई सचेत गराउनुभयो।
जेष्ठ नागरिकहरुले दिने माया र आर्शिवाद तथा युवा पुस्ताले दिईरहेको साथले अघि बढेको दाबी गर्दै केसीले अन्य दलका मतदाताबाट समेत सकारात्मक समर्थन प्राप्त भइरहेको बताउनुभयो। दशकौसम्म रुकुम पश्चिममा सत्ता बिमुख भएका कांग्रेसजनले पाएको पीडा र भोगेको अन्याय चिर्नलाई कांग्रेसले जित निकाल्ने उहाँको भनाई छ ।

