मुसिकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) रुकुम पश्चिमले उम्मेदवार चन्द्र बुढाको नेतृत्वमा निरन्तर घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ ।
निर्वाचन अभियान अन्तर्गत सहिद परिवारका सदस्यहरूसँग भेटघाट तथा छलफल गर्दै सुरु गरिएको घरदैलो कार्यक्रम हाल विभिन्न बस्ती तथा समुदायमा केन्द्रित हुँदै अघि बढिरहेको छ । अभियानका क्रममा उम्मेदवार बुढाले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक चुनौतीबारे जानकारी गराइरहनुभएको छ ।
उम्मेदवार बुढाले देशमा बढ्दै गएको कुशासन र व्याप्त भ्रष्टाचार अन्त्यका लागि आफ्नो पार्टी संसदमा बलियो उपस्थितिका साथ जान आवश्यक रहेको बताउनुभयो । उहाँले सडक र संसद दुवै माध्यमबाट मुलुक र जनताको बृहत्तर हितका पक्षमा आवाज उठाउन जनताको साथ अनिवार्य रहेको उल्लेख गर्दै, सोचविचार गरेर आफ्नो चुनावी चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
चुनावी अभियान टोलीले निरन्तर घरदैलो गर्दै स्थानीय मतदाताबाट माया, सद्भाव र समर्थन संकलन गरिरहेको जनाएको छ । यस क्रममा नागरिकहरूले राखेका रचनात्मक सुझाव र अपेक्षालाई समेत अभियान टोलीले प्राथमिकताका साथ संकलन गरिरहेको बताइएको छ ।
घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनभावना बुझ्ने र स्थानीय समस्या समाधानका विषयलाई केन्द्रमा राख्ने उद्देश्यले अभियानलाई थप तीव्र बनाइने बताइएको छ ।

