मन्त्री चौधरीद्वारा ठूलो अलैंची र सुन्तलालाई जीआईका लागि स्वामित्व र संरक्षण गर्ने निर्णय

मन्त्री चौधरीद्वारा ठूलो अलैंची र सुन्तलालाई जीआईका लागि स्वामित्व र संरक्षण गर्ने निर्णय

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले दुई प्रमुख कृषि उत्पादन—ठूलो अलैंची र सुन्तलालाई भौगोलिक संकेत (जीआई) का लागि स्वामित्व र संरक्षण गर्ने निर्णय गरेकी छन्।

कानुन निर्माण भएलगत्तै लागू हुने गरी उक्त निर्णय गरिएको मन्त्री चौधरीले बताइन्। नेपालका यी दुई उत्पादनलाई जीआईमार्फत अन्तर्राष्ट्रिय बजारमा पहिचान र विश्वसनीयता स्थापित गर्ने उद्देश्यले छनोट गरिएको हो। मन्त्रालयमा पदबहालीसँगै गरिएको यो मन्त्री चौधरीको पहिलो निर्णय हो।

भौगोलिक विविधताका कारण नेपालका विभिन्न क्षेत्रमा उत्पादन हुने अलैंची र सुन्तलामा फरक स्वाद र गुणस्तर पाइने भएकाले जीआईका लागि उपयुक्त मानिएको छ। विशेषतः सुन्तला नेपालको राष्ट्रिय फल हुनुका साथै पर्याप्त उत्पादन, क्षेत्रअनुसार फरक स्वाद र स्थापित बजार पहिचानका कारण छनोटमा परेको हो।

त्यसैगरी, ठूलो अलैंची उच्च गुणस्तरको निर्यातमुखी बाली भएको, विश्व निर्यातमा नेपालको करिब ६८ प्रतिशत हिस्सा रहेको तथा अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाएको कारण प्राथमिकतामा परेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यी दुवै उत्पादनलाई पाइलट जीआई उत्पादनका रूपमा छनोट गरी आवश्यक प्राविधिक तथा कानुनी प्रक्रिया अघि बढाएको छ।
मन्त्री चौधरीका अनुसार जीआईले उत्पादनलाई यसको उत्पत्तिसँग जोडेर विशेष पहिचान दिने मात्र नभई परम्परागत ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षणमा समेत योगदान पुर्‍याउनेछ। साथै, जीआई ब्रान्डिङमार्फत अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य सुनिश्चित भई स्थानीय कृषकहरूको आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ।

हाल नेपालमा बौद्धिक सम्पत्तिसम्बन्धी व्यवस्था भए पनि जीआईका लागि स्पष्ट कानुनी आधार नभएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्बन्धित कानुनको मस्यौदा तयार गरी संसदमा पेश गर्ने तयारी गरेको छ। उक्त कानुन लागू भएसँगै ठूलो अलैंची र सुन्तलालाई जीआईका लागि औपचारिक रूपमा स्वामित्व र संरक्षण प्रदान गरिनेछ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार