समावेशी शिक्षाका लागि कर्णालीका नागरिक समाज संस्थाको क्षमता विकास गरिदैं

समावेशी शिक्षाका लागि कर्णालीका नागरिक समाज संस्थाको क्षमता विकास गरिदैं

सुर्खेत । कर्णालीको जाजरकोट र सल्यानमा शिक्षा क्षेत्रमा कार्यरत नागरिक समाज संस्थाको क्षमता विकासका लागि अनलाईन तथा भौतिक उपस्थितिमा तालिम प्रदान गरिएको छ । सबैका लागि शिक्षाको सुनिश्चिततामा नागरिक समाजको भूमिकालाई तिब्र बनाउने (एक्सेस) परियोजनामार्फत संस्थाहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिएको हो ।

नेपालको कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशमा शिक्षा क्षेत्रमा पहुँच, समावेशीता र गुणस्तर अभिबृद्धि गर्न सञ्चालित एक्सेस परियोजना युरोपियन युनियनको सहयोग, पिपुल इन निडको नेतृत्वमा एकान्टेबिलिटी ल्याब, नेपाल अपाङग महिला संघ र शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा सञ्चालित परियोजना हो । एकान्टेबिलिटी ल्याबका कार्यक्रम प्रबन्धक शुभेच्छा चापागाईंका अनुसार परियोजनामा आवद्ध जाजरकोटका पाँच र सल्यानका चार वटा संस्थाहरुलाई १४ वटा अनलाईन र एक वटा दुई दिने क्षमता विकास तालिम प्रदान गरिएको हो ।

नौ वटा नागरिक समाज संस्थाका पदाधिकारी तथा कर्मचारीहरुलाई सुर्खेतको वीरेन्द्रनगर दुई दिने क्षमता विकास तालिम सम्पन्न गरिएको उहाँले जनाउनुभयो । समावेशी शिक्षा सम्बन्धी साझेदार नागरिक समाज संस्थाहरुको क्षमता अभिबृद्धि गरी उनीहरुलाई स्थानीय तह तथा विद्यालयस्तरमा समतामुलक र समावेशी शिक्षा नीति, अभ्यास तथा प्रणालीहरुको प्रभावकारी वकालत, प्रवद्र्धन र कार्यान्वयनमा योगदान गर्न सक्षम बनाउने उद्धेश्यले तालिम आयोजना गरिएको एकान्टेबिलिटी ल्याबका कार्यक्रम प्रबन्धक चापागाईंले जानकारी दिनुभयो ।

तालिम समापन समारोहमा बोल्नु सामाजिक विकास मन्त्रालय शिक्षा महाशाखाका प्रमुख सुवर्ण कुमार खड्काले शिक्षा क्षेत्र सरकारको प्राथमिकताको बिषय भएकोले एक्सेस परियोजनासँग कर्णाली सरकारको आवश्यक सहकार्य र समन्वय भईरहेको बताउनुभयो । उहाँले जहाँ सरकार जान सक्दैन त्यहाँ परियोजनाहरु जान्छन् भन्ने मान्यता अनुसार विकास साझेदार निकायहरुसँग कार्य भईरहेको उल्लेख गर्नुभयो ।

एक्सेस परियोजनामार्फत एकिकृत रुपमा अगाडी बढ्नलाई छलफल र सहकार्य भईरहेको महाशाखा प्रमुख खड्काले बताउनुभयो । खड्काले तालिममा सहभागी संस्थाहरुले अब आफै प्रस्ताव तयार गरेर सोहिअनुसार काम पाउने र कार्यान्वयन गर्न सक्ने अवस्थामा पुगेको विश्वास जागेको बताउनुभयो ।

कार्यक्रममा पिपुल इन निडका प्रवन्धक अनुरोध साहले स्थानीय सरकार र नागरिक समाज संस्थाहरुको प्राविधिक र संस्थागत क्षमता अभिबृद्धि तथा प्रणाली सुदृढीकण गरेर सबैलाई शिक्षाको पहुँचमा ल्याउन एक्सेसले कार्य गरिरहेको जानकारी दिनुभयो । सीमान्तकृत तथा बञ्चित बालिका, अपाङ्गता भएका बालबालिका तथा अन्य बहिष्कृत समुदायहरुलाई सुरक्षित, सहयोगी र समावेशी वातावणमा गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गर्ने उद्धेश्यका साथ एक्सेस परियोजनाले कार्य गरिरहेको उहाँले जनाउनुभयो ।

अनेकन चुनौतीका बिच काम गर्ने इच्छा शक्ति बोकेका नागरिक समाजहरु सक्रिय हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले एक्सेस परियोजना अन्तर्गत नागरिक समाज संस्थाको संगठनात्मक र प्राविधिक क्षमता विकास गरेर समावेशी शिक्षा कार्यविधि तथा अभ्यास कार्यान्वयन गरिने, बालिका तथा समावेशी शिक्षा र नागरिकको सहभागितामा पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गरिने समेत बताउनुभयो ।

तालिममा सहभागी पहाडी क्षेत्र विकास अभियान जाजरकोटका मेमा शाहले तालिमका विभिन्न बिषयवस्तुहरुमार्फत समावेशी शिक्षामा काम गरिरहेका नागरिक समाज संस्थाहरु बिचमा अनुभव तथा सिकाइ र असल अभ्यासहरु आदान प्रदान भएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा काम गर्ने संस्थाहरुको ज्ञान, सीप र क्षमता विकास गर्न तालिम महत्वपूर्ण भएको बताउनुभयो ।

सल्यानको कल्याणकारी अपाङ्ग संघका अध्यक्ष कृष्ण बहादुर बुढाले अनलाईन र भौतिक उपस्थितिमा भएका विभिन्न तालिम पश्चात समावेशी शिक्षाका सवालहरुमा स्थानीय सरकार, विद्यालय तथा सरोकारवालासँग प्रभावकारी पैरवी र सहकार्यका अवसरहरु पहिचान गर्न सक्ने गरी क्षमता विकास भएको बताउनुभयो । समावेशी शिक्षा सम्बन्धीका चुनौती र अवसरहरुको साझा बिश्लेषणगरी समाधानका उपायहरु खोज्नुका साथै कार्ययोजना समेत निर्माण गर्न समक्ष भएको उहाँको भनाइ छ ।

तालिममा नागरिक समाज संस्थामा आवश्यक पर्ने नीति तथा रणनीतिहरु, एक्सेस परियोजनाबारे जानकारी, समावेशी शिक्षा विधि र अवधारणा, बालिका तथा समावेशी शिक्षा सञ्जाल, समावेशी शिक्षाका मूल्य मान्यताहरु, समावेशी शिक्षा क्षेत्रका चुनौती र अवसरहरु, बजेट र श्रोत परिचालन, नागरिक समाज संस्थाले तयार पार्ने प्रस्तावना, प्रतिवेदन र कार्ययोजना, विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा नागरिक समाज संस्थाको भुमिका, एक्सेस परियोजनाले नागरिक समाज संस्थालाई प्रदान गर्ने अनुदान रकम लगायतका बिषयमा सहजीकरण गरिएको थियो ।

तालिमको सहजीकरण पीपुल इन निडका अनुरोध शाह, मञ्जु लोहनी, नितिन नरेन सिंह, एकान्टेबिलिटी ल्याबका परियोजना प्रबन्धक शुभेच्छा चापागाई, स्वष्तिका बस्नेत, नेपाल अपाङग महिला संघका गंगा देवकोटा लगायतले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार