काठमाडौँ । साउन २९ देखि ३१ गते हुने कांग्रेस संस्थापन इतर पक्षको भेलामा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन्।
विशेष महाधिवेदन विवादमा सर्वोच्चले पूर्णनिर्णय पुनरावलोकनका लागि निस्सा दिएपछि उत्साहित बनेको इतर पक्ष पार्टी विभाजन गर्ने उद्देश्यका साथ अघि बढेको छ। बुधबार आएको आदेशले साउन अन्तिममा हुन लागेको राष्ट्रिय भेला नरोक्ने जनाएको हो।
भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले शुक्रवार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन्।
अदालतको उक्त निर्णयलाई स्वागत गर्दै आगामी न्याय निरूपणबाट पार्टीले न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको बताए। सर्वोच्चको पछिल्लो निर्णयले भेलाको कार्यदिशामा कुनै परिवर्तन नल्याउने बरु कार्यकर्ताहरूमा थप उत्साह जगाउने उनको भनाइ छ।
‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकतावद्ध बनाउन यो भेला कोशेढुङ्गा सावित हुनेछ । पहिले हामीले १० देखि २० हजारको सहभागिता हुने अनुमान गरेका थियौँ, तर अदालतको यो निर्णयपछि पार्टी पंक्तिमा सकारात्मक सन्देश गएको छ, कोइरालाले अगाडि भने, ‘भेलामा उल्लेख्य सहभागिता हुने देखिएको छ, । पूर्णजी अस्वस्थ हुनुहुन्छ र शेखर दाइ विराटनगरमा आफ्नै काममा व्यस्त हुनुभएकोले उपस्थित हुन नसक्नुभएको हो तर यो अभियानमा उहाँहरूको पूर्ण समर्थन र ऐक्यवद्धता रहेको छ ।’
साउन २६ गते पूर्वसभापति स्वदेश फर्कने सन्दर्भमा उठाइएका आशंकाहरूबारे उनले कुनै पनि प्रकारको धरपकड हुने सम्भावना नरहेको र यदि त्यसो गरिएमा पार्टीले कडा प्रतिवाद गर्ने बताए।
कोइरालाले काँग्रेसका भ्रातृ संस्था, शुभेच्छुक तथा सम्पूर्ण कार्यकर्ताहरूलाई भेलामा सहभागी हुन आह्वान गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ जीवन दिने दाबी गरे।

