रुकुमेली सेवा समाज गठनका लागि काठमाडौंमा तयारी समिति गठन

रुकुमेली सेवा समाज गठनका लागि काठमाडौंमा तयारी समिति गठन

काठमाडौं । रुकुमेलीहरूबीच एकता, सहकार्य र सामाजिक सेवासँगै रुकुमको समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘रुकुमेली सेवा समाज’ गठन गरिने भएको छ ।

देश तथा विदेशमा रहेका रुकुमेलीहरूको ज्ञान, सीप, अनुभव, स्रोत, सम्पर्क, क्षमता तथा सामाजिक पुँजीलाई संस्थागत रूपमा एकीकृत गरी समुदायको हित र रुकुमको विकासमा परिचालन गर्ने उद्देश्यले शनिबार काठमाडौंमा रुकुमेलीहरूको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

छलफलमा सहभागीहरूले विभिन्न क्षेत्रमा सक्रिय रुकुमेलीहरूको ज्ञान, अनुभव र दक्षतालाई साझा संरचनामार्फत समुदाय तथा मातृभूमिको विकासमा परिचालन गर्न सकिने विश्वास व्यक्त गरेका थिए । सहभागीहरूले प्रस्तावित संस्था कुनै व्यक्ति, समूह वा क्षेत्रविशेषको नभई सम्पूर्ण रुकुमेलीहरूको साझा संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

रुकुमेलीहरू राजनीति, शिक्षा, स्वास्थ्य, निजामती सेवा, सुरक्षा, न्याय, व्यवसाय, उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि, विकास साझेदारी, वैदेशिक रोजगारी तथा सामाजिक सेवाका विभिन्न क्षेत्रमा सक्रिय रहेको भन्दै उनीहरूको क्षमता र अनुभवलाई संस्थागत रूपमा जोड्न आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।

छलफलपछि रुकुमेली सेवा समाजलाई विधिवत् रूपमा स्थापना गर्न आवश्यक कानुनी, संगठनात्मक तथा संस्थागत तयारीका लागि अधिवक्ता दिनेश खड्काको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ ।

समितिमा एकराज केसी, लोकेन्द्र खनाल, धनवीर दाहाल, लोकेन्द्र यरी, खिमप्रकाश बुढा, महानराज ओली, रामबहादुर ओली, मञ्जु केसी, बालकृष्ण शर्मा, लक्ष्मण केसी, आकृती चन्द, लक्ष्मी खड्का ओली, सागर पुन, अनुराग शाह र भीम ओली, आकाश केसी ,समकृति पुन, अविनाश थापा लगायत रहेका छन् ।

तयारी समितिले आगामी दुई साताभित्र प्रारम्भिक तयारी पूरा गरी बृहत् रुकुमेली सभा आयोजना गर्ने र उक्त सभामार्फत रुकुमेली सेवा समाजको औपचारिक संस्थागत संरचना घोषणा गर्ने निर्णय गरेको छ ।

प्रस्तावित समाजले विपद् तथा आपत्कालीन अवस्थामा राहत, उद्धार तथा सहयोग, स्वास्थ्य सहायता, स्वास्थ्य शिविर, रक्तदाता सञ्जाल, शिक्षा तथा छात्रवृत्ति, सीप विकास, युवा तथा महिला सशक्तीकरण, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धनका क्षेत्रमा काम गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै पर्यटन, स्थानीय उत्पादन, वातावरण संरक्षण, भाषा, कला, साहित्य तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखिने तयारी गरिएको छ ।

दीर्घकालमा रुकुम विकास कोष, छात्रवृत्ति अक्षय कोष, विपद् व्यवस्थापन संयन्त्र, अनुसन्धान तथा नीति अध्ययन केन्द्र र प्रतिभा सम्मान कार्यक्रम जस्ता स्थायी संरचना निर्माण गर्ने अवधारणा अघि सारिएको छ ।

समाजले रुकुमको विकासका सम्भावना, चुनौती र आवश्यकताका विषयमा अध्ययन, अनुसन्धान तथा नीति संवाद सञ्चालन गरी सरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार तथा नागरिक समाजसँग सहकार्य गर्ने लक्ष्यसमेत लिएको छ ।

प्रस्तावित संस्था गैरनाफामूलक, गैरराजनीतिक, समावेशी, पारदर्शी, सहभागितामूलक तथा उत्तरदायी सामाजिक संस्थाका रूपमा विकास गरिने तयारी समितिले जनाएको छ ।

संयोजक दिनेश खड्काले रुकुमेली सेवा समाज कुनै व्यक्ति वा समूहको नभई सम्पूर्ण रुकुमेलीहरूको साझा अभियानका रूपमा स्थापित गरिने बताए । रुकुमेलीहरूबीच रहेको सम्बन्धलाई भेटघाट र भावनात्मक सम्बन्धमा मात्र सीमित नराखी त्यसलाई संस्थागत सहकार्य, सामाजिक सेवा र विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

“रुकुमेलीहरू जहाँ भए पनि आफ्नो ज्ञान, सीप, अनुभव र क्षमतालाई रुकुमको आवश्यकता र सम्भावनासँग जोड्ने वातावरण निर्माण गर्नुपर्छ,” खड्काले भने, “रुकुमेली सेवा समाज त्यसैको साझा प्रयास हो ।”

तयारी समितिले नेपाल तथा विदेशमा रहेका रुकुमेली दाजुभाइ तथा दिदीबहिनी, बुद्धिजीवी, पेशाकर्मी, व्यवसायी, उद्यमी, समाजसेवी, युवा, महिला, विद्यार्थी तथा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई अभियानमा जोडिन आह्वान गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार