काठमाडौं । अविरल वर्षाका कारण देशभरका १८ सडकखण्ड अवरुद्ध भएका छन् । गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाका अनुसार, ती सडकहरू बाढी र पहिरोका कारण अवरुद्ध भएका हुन् ।
सिद्धिचरण लोकमार्गकस्थित ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, भँडारे खोलामा आएको बाढीका कारण उक्त सडक अवरुद्ध भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१, गुप्तबराहमा पहिरो जाँदा चतरा–बराहक्षेत्र सडक अवरुद्ध भएको छ ।
पाँचथरको याङवरक गाउँपालिका–२, दोभानेमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रसुवाको बारा घुम्तीदेखि रसुवागढीसम्म बाढीका कारण पासाङल्यामु राजमार्ग अवरुद्ध भएको शाखाले जनाएको छ ।
रसुवाको त्रिशूली–बेत्रावती–खाल्टे–मैलुङ–स्याफ्रुबेसी टिमुरे–रसुवागढीका सडकहरू पनि बाढीका कारण अवरुद्ध छन् । नुवाकोटको त्रिशूलीबाट बेत्रावतीसम्मको मैलुङ–स्याप्रुबेसी सडक बाढीले गर्दा अवरुद्ध छ ।
धादिङको गजुरी गाउँपालिका–२, फुर्केखोलामा सडक अवरुद्ध छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, कृष्णभीर र वडा नं. १० तिङराङखानीमा आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको शाखाले जनाएको छ ।
ललितपुरको गोदावरी नगरपालिका–६, बिर्खेधारामा पहिरो गएका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
ललितपुरको वाग्मती गाउँपालिका–३, भट्टेडाँडा हुँदै जाने पाङदुरडोल र टाकुर्चेमा पहिरो जाँदा कान्ति लोकपथ अवरुद्ध छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८, खहरे खोल्सामा लेदो आउँदा कान्ति लोकपथ अवरुद्ध भएको छ ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२, सिमखोलामा पहिरो खस्दा कुलेकानी–सिस्नेरी सडक अवरुद्ध भएको छ । काभ्रेको रोसी गाउँपालिका–७, चारसयबेसी र वडा नं.८ गिम्दीबेसीमा पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको शाखाले जनाएको छ ।
नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिका–२, चौसठ्ठी मोडमा पहिरो जाँदा पूर्व–पश्चिम राजमार्ग सडक अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२, राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध छ ।
रोल्पाको माडी गाउँपालिका–२, ब्याङखोलामा पहिरा खस्दा घोराही–थवाङ सहिदमार्ग सडक अवरुद्ध छ । पाल्पाको तिनाउ गाउँपालिका–५, चरचरेमा पहिलो जाँदा सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको शाखाले जनाएको छ ।

