विघटन भएको संसद् पुनःस्थापनाको सम्भावना छैन : गृहमन्त्री थापा

विघटन भएको संसद् पुनःस्थापनाको सम्भावना छैन : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना नभएको बताएका छन् । शुक्रबार नेकपा दोलखाले चरिकोटमा आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले जनताले अस्थिरता नभई स्थायीत्व चाहेको र समाजवाद एवं समृद्धिको पक्षमा जनता रहेको हुँदा सबैले ताजा जनादेश चाहेको उल्लेख गरे ।

आम नागरिकले स्थायी सरकार चाहेको र नतिजामुखी काम गर्ने समयमा सरकार ढाल्नका लागि पार्टीभित्रैबाट चलखेल गर्ने, आरोपपात्र दर्ता गराउने, आफ्नै सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउनेजस्ता गतिविधिले पार्टीमा फुटको स्थिति आएको वताउँदै गृहमन्त्री थापाले अव राष्ट्रियताको नारा लिएर ताजा जनादेशमा जाने बताए ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले देशमा अस्थिरता खोज्ने तथा देशको विकास र सम्वृद्धि नचाहने तत्वले प्रधानमन्त्री विरुद्ध चालेको कदम गलत भएका कारण यो अवस्थाको सिर्जना भएको बताए । उनले पार्टी भित्रैबाट केही समयदेखि सरकारका राम्रा कामको प्रचारभन्दा पनि विरोध र सरकारमा सङ्कट उत्पन्न गराउने काम भएको आरोप लगाउँदै त्यसैले ताजा जनादेशमा जान लागेको बताए ।

कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटी सचिव एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेल विघटित प्रतिनिधिसभा सांसद शान्ति पाख्रिन लगायतले मनतब्य राखेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार