बाँके राप्तीसोनारी साइपुर नालाको पुल उद्घाटन

बाँके राप्तीसोनारी साइपुर नालाको पुल उद्घाटन

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ३ मा रहेको साइपुर नालामा पुल बनेको छ । करिव एक करोडको लागतमा निर्माण भएको पुलको मंगलबार लुम्बिनी प्रदेशका भौतिक योजनामन्त्री बैजनाथ चौधरीले उद्घाटन गर्नुभयो ।

बैसा–खैरहनी–साइपुर–लालपुर–धामपुर सडक खण्डमा पर्ने पुलको उद्घाटन गर्दै मन्त्री चौधरीले प्रदेश सरकारले १२ वटै जिल्लामा यस्ता पुल, कल्भर्ट, कजवे, बाटो र झलुंगे पुलहरु निर्माण गरिरहेको बताउनुभयो ।

मन्त्री चौधरीले प्रदेशमा ५४ वटा पुल उद्घाटनको चरणमा पुगेको जानकारी दिनुभयो । ‘५४ वटामध्येकै यो एउटा पुल हो, मन्त्री चौधरीले भन्नुभयो, यो वर्ष ३५ वटा पुल बनाउन शुरु गरिएको छ । अरु २ सय ५० बढी पुलको ठेक्कापट्टाको तयारी भएको छ ।’ मन्त्री चौधरीले करोडबढीको पुल बनाउन स्थानीय सरकारलाई गाह्रो हुने भएकाले त्यसमा प्रदेश सरकारले सहयोग गरिरहेको बताउनुभयो । ‘पहिला यस्ता पुल बनाउन केन्द्रीय सरकारको मुख ताक्नु पथ्र्यो, अहिले प्रदेश सरकारले बनाइरहेको छ, मन्त्री चौधरीले भन्नुभयो, स्थानीय सरकार र प्रदेश सरकार मिलेर यस्ता काम गर्नुपर्छ ।’

गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले साइपुरमा पुल बन्दा यस क्षेत्रका बासिन्दालाई सहज भएको बताउनुभयो । उहाँले प्रदेश सरकारका मन्त्री चौधरीलाई यस क्षेत्रमा यस्ता योजनाहरु धेरै पारिदिन आग्रह गर्नुभयो । पुल उद्घाटन कार्यक्रममा प्रदेश सांसद भगवती भण्डारी, पूर्वाधार विकास कार्यालय, नेपालगञ्जका प्रमुख गोविन्द महतरालगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार