रानीपोखरीको लेउ र झ्याउ हटाउँदै काठमाडौं महानगर [तस्बिरहरु]

रानीपोखरीको लेउ र झ्याउ हटाउँदै काठमाडौं महानगर [तस्बिरहरु]

काठमाडौँ । पुनर्निर्माणपछि चिटिक्क परेको रानीपोखरी हरियो लेउ र झ्याउले ढाकिएर कुरूप बन्न थालेपछि काठमाडौं महानगरपालिकाले पोखरीको सौन्दर्यता बढाउन सरसफाइ थालेको छ।

महानगरपालिकाले  हिजो(आइतबार) र आज (सोमबार) गरी दुई दिनदेखि नगर प्रहरीलाई खटाएर त्यहाँको हरियो लेउ र झ्याउ हटाउने र पोखरीको प्राकृतिक सौन्दर्यता बढाउने काम गरिरहेको महानगरपालिकाले जानकारी दिएको हो। जनस्तर तथा सामाजिक सञ्जालहरुमा व्यापक विरोध हुन थालेपछि महानगर प्रहरीले जाल प्रयोग गरी पानी माथिको लेउ हटाउन सुरु गरेको छ ।

दीर्घकालीन व्यवस्था नहुन्जेलसम्म पोखरीको नियमित सरसफाइ गरिने भएको छ । पोखरी सफा गरेर पहिलो चरणमा केही माछा हालेर हेर्ने र विस्तारै दीर्घकालीन समस्या समाधानको बाटो अपनाउने महानगरले जनाएको छ ।

‘राजधानीको केन्द्रमा रहेको पोखरी शुद्धीकरणको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायहरूसँग हामीले छलफल गरिरहेका छौं,’ काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘पुनर्निर्माण प्राधिकरणबाट हामीलाई रानीपोखरी पुनर्निर्माणपछि हस्तान्तरण भैसकेको अवस्था छैन। यद्यपि, पोखरी हाम्रै क्षेत्राधिकार भित्र पर्ने भएकाले हामीले शुद्धीकरणको प्रयास गरेका हौं।’

सहरको सौन्दर्य बढाउने रानीपोखरी हरियो लेउ र झ्याउले कुरूप भयो भन्ने गुनासो सामाजिक सञ्जाल र सञ्चार माध्यममा पनि आएकाले महानगरपालिकाको ध्यानाकर्षण भएको र सरसफाइको प्रक्रिया अघि बढाएको ज्ञवालीको भनाइ छ।

काठमाडौं महानगरका प्रहरी प्रमुख धनपति सापकोटाले पनि दैनिक २० बढी नगर प्रहरी खटाएर उनीहरूकै सहयोगमा पोखरीको लेउ र झ्याउ हटाउने काम गरिरहेको जानकारी दिए। दुई दिन लगाएर करिब ५० जना नगर प्रहरीको सहायतामा पोखरीको झण्डै आठ टिपर जति लेउ र झ्याउ झिक्ने काम भएको बताएका छन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार