फ्लोरेन्स नाइटिंगेलले कसरी बिताइन् आइसोलेसनमा एक वर्षको समय ?

फ्लोरेन्स नाइटिंगेलले कसरी बिताइन् आइसोलेसनमा एक वर्षको समय ?

सागर चन्द

आजभन्दा दुई सय वर्षअगाडि जन्मेकी थिइन् आधुनिक नर्सिङ विज्ञानकी जन्मदाता मानिने फ्लोरेन्स नाइटिंगेल । १९औँ शताब्दीमा नर्सिङ क्षेत्रमा उनले दिएको योगदानको आज पनि कदर गरिन्छ ।

कोरोना भाइरसको संक्रमणका कारण जसरी नेपाली एक हप्तादेखि लकडाउनका बीच आइसोलेसनमा छन्, फ्लोरेन्स नाइटिंगेल पनि सन् १८५७ पछिको आफ्नो पूरै जीवन आइसोलेसनमा बसेकी थिइन् । फ्लोरेन्स नाइटिंगेल अर्थात् ‘लेडी विथ ल्याम्प’को उपमा पाएकी १९औँ शताब्दीकी चर्चित समाजसेवी नर्स ।

१८५३ देखि १८५६ सम्म चलेको क्रिमिया युद्धमा घाइते तथा बिरामी सैनिकको उपचार गरेर ख्याति कमाएकी नाइटिंगेलले आइसोलेसन बसाइका क्रममा नर्सिङ क्षेत्रका लागि सबैभन्दा ठूलो योगदान गरेकी थिइन् ।

ग्रेटब्रिटेनको इतिहासमा पहिलोपटक सैनिक स्वास्थ्य टोलीमा महिला स्वास्थ्यकर्मी क्रिमिया युद्धका दौरान सहभागी भएका थिए । नाइटिंगेल पनि यो टोलीमा थिइन् । सैनिक अस्पतालमा पुगेपछि सबैभन्दा पहिले उनले अस्पतालको सरसफाइमा ध्यान दिइन्  । किनभने फोहोरमैलाले अस्पतालमा रहेका बिरामीहको स्वास्थ्यमा गम्भीर असर पार्न सक्थ्यो ।

उनी सरसफाइलाई निकै महत्वपूर्ण मान्थिन् । उनी हात धुने विषयमा पनि निकै सचेत थिइन् । आइसोलेसन जीवनमा लेखेको पुस्तक ‘नोट्स अन नर्सिङ’मा उनले हात धुने विषयमा उल्लेख गरेकी छिन् । त्यसमा उनले भनेकी छिन्, ‘हरेक नर्सले दिनमा धेरैपटक आफ्नो हात धुने विषयमा सचेत हुनुपर्छ ।’

त्यसो त, स्वास्थ्यकर्मीहरूले नियमित रूपमा हात धुनुपर्छ, नत्र त्यसको असर बिरामीमा गम्भीर रूपमा पर्नेछ भन्ने कुरा हंगेरीका चिकित्सकहरूले १८४० को दशकमै अनुभूत गरिसकेका थिए ।

क्रिमियाली युद्धपछि १८५७ मा उनलाई ब्रुसेलोसिन नामक गम्भीर रोगले समात्यो । यो रोग लागेपछि मानिसलाई अत्यधिक ज्वरो आउने र डिप्रेसनको समस्या देखिन्छ । यही रोगका कारण उनी घरबाट बाहिर जान नसक्ने भइन् । १९५७ पछिको बाँकी जीवन उनले घरको ओच्छ्यानमै बिताउनुपऱ्यो ।

घरमै बस्दा उनले केही महत्वपूर्ण पुस्तक लेखिन् । आइसोलेसनमा बसेको एक वर्षभित्रै उनले ‘नोट्स अन नर्सिङ’ भन्ने पुस्तक लेखेकी थिइन् । क्रिमियाली युद्धका दौरान चिकित्सक कसरी असफल भए भन्ने विषयमा उनले नाै सय पेजको रिपोर्टसमेत तयार पारेकी थिइन् । बिरामी र स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न अस्पतालको डिजाइन कस्तो हुनुपर्छ भनेरसमेत उनले एउटा गाइड पुस्तक तयार गरिन् ।

उनको यही गाइड पुस्तकका आधारमा १८६० मा लन्डनको सेन्ट थोम अस्पतालको नाइटिंगेल तालिम स्कुल र १८६१ मा किंग्स कलेजको एक अस्पतालको डिजाइन गरिएको थियो । (एजेन्सीहरूको सहयोगमा)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार