गुणस्तर यकिन नभएको भन्दै सरकारद्वारा चीनबाट ल्याइएका किट प्रयोग नगर्न निर्देशन

गुणस्तर यकिन नभएको भन्दै सरकारद्वारा चीनबाट ल्याइएका किट प्रयोग नगर्न निर्देशन

रामु सापकोटा
गुणस्तरमा आशंका गरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी ग्रुपमार्फत चीनबाट झिकाइएको कोभिड—१९ र्‍यापिड डायग्नोष्टिक किट तत्काल प्रयोग नगर्न निर्देशन दिएको छ ।

यसबाहेक मन्त्रालयले विभिन्न ठाउँबाट व्यक्तिगत तथा निजी संस्थामार्फत ल्याइएको यस्ता किटको प्रयोग पनि निषेध गरेको छ ।
स्वास्थ्य मन्त्रालय स्वयंले १२ चैतमा ओम्नि ग्रुपमार्फत चीनबाट ६ लाख अमेरिकी डलर मुल्य बराबरका ७५ हजार थान र्‍यापिड डायग्नोष्टिक किट खरीदको सम्झौता गरेको थियो ।

मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले विश्व स्वास्थ्य संगठन र सरकारको मापदण्ड विपरीतका किटहरु भित्रिएको सुन्नमा आएका कारण परीक्षण बेगर यसको प्रयोग नगर्न निर्देशन दिएको बताए ।

“व्यक्तिगत तथा निजी संस्थामार्फत बाहिरबाट ल्याइएका किटहरुमार्फत पनि कोेभिड–१९ परीक्षण गर्न थालिएको सूचना आएपछि मन्त्रालयले गुणस्तर यकिन नभएका किट प्रयोग नगर्न निर्देशन हो”, कार्कीले हिमालखबरसँग भने ।

यसअघि हिमालखबरले चीनबाट ल्याइन लागिएको किट गुणस्तर यकिन गरेर मात्र ल्याइनुपर्ने नत्र स्पेनको जस्तो दूरावस्था आउन सक्ने भन्दैं टिप्पणी प्रकाशित गरेको थियो ।

हेर्नुस् लिंक – नेपाली विमान स्वास्थ्य सामग्री लिन चीन जाँदै, नदोहोरियोस् गुणस्तरहीन किट प्रकरण

आफूले नै खरीद सम्झौता गरेको कम्पनीले ल्याएको किटको गुणस्तरमा अहिले मन्त्रालय स्वयं किन शंका गरिरहेको छ त ?

विज्ञ सल्लाहकार कार्की भने खरीदको औपचारिक निर्णय हुनु अघि नै कम्पनीले गुणस्तर यकिन नभएका किट अर्डर गरेर तिब्बतसम्म ल्याइसकेको र तिनै किट अहिले नेपाल आएको बताउँछन् ।

“कतिपय किटको गुणस्तर यकित नभएकाले तिब्बतमै रोकियो । कति चाँहि नेपाल भित्रिएछन्, जसको जानकारी हामीलाई समयमै भएन”, उनी भन्छन् ।

उनले गुणस्तर यकिन नभएका किटहरु सरकारीस्तरबाट कुनै पनि सरकारी संस्थामा वितरण नभएको पनि दाबी गरे ।

उनी विभिन्न मुलुकमा यस्ता किट बन्न गरेको तर सबै डब्लूएचओ मापदण्ड अनुसार नभएका कारण गुणस्तरमा शंका गर्नु परेको बताउँछन् ।

स्पेनले एक चिनियाँ कम्पनीमार्फत खरीद गरेको कोभिड १९ किट गुणस्तरहीन भएको पाइएपछि किटको गुणस्तरमाथि आशंका बढेको हो । छानबिनका क्रममा उक्त कम्पनी चीनमा दर्ता नै नभएको खुलासा भएको थियो ।

“गुणस्तरहीन किटका कारण स्पेनले जुन समस्या भोग्नुपर्‍यो, हामी त्यसो नहोस् भन्नेमा सचेत छौं, डा. कार्कीले भने, “त्यसैले यस्तो निर्देशन जारी गर्नु परेको हो ।”

गुणस्तर यकिन नभएका किटमार्फत गरिएको परीक्षण उल्टो पनि हुनसक्ने र यसले झन् भयावह स्थिती निम्तिनेमा सरकार चनाखो भएको दाबी गर्छन् । कार्कीका अनुसार, किट मात्र होइन, सरकारले अनुमति दिएका प्रयोगशाला बाहेकबाट गरिने कोभिड–१९ परीक्षण पनि आधिकारिक नहुने बताउँछन् । (हिमाल खबर बाट)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार