हाम्रो विद्यालयलाई पूर्वी रुकुमकै उदाहरणीय विद्यालय बनाएका छौं

हाम्रो विद्यालयलाई पूर्वी रुकुमकै उदाहरणीय विद्यालय बनाएका छौं

मदन शाह
निर्वतमान अध्यक्ष
रुक्मिणी माध्यामिक विद्यालय रुकुमकोट

पूर्वी रुकुमको रुक्मिणी माध्यामिक विद्यालय रुकुमकोट लुम्बिनी प्रदेशको नमुना विद्यालयको रुपमा स्थापित भएको छ । विद्यालयको शैक्षिक विकासका लागि विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष मदन शाहको महत्वपूर्ण योगदान रहेको छ ।

दुई कार्यकाल अध्यक्ष भइसक्नुभएका शाहलाई अहिले पनि अधिकांश अभिभावकहरु पुनः अध्यक्ष बन्नुपर्छ भनिरहेका छन् । शाहसँग विद्यालयको शैक्षिक विकास, व्यवस्थापन समितिको नेतृत्व, यहाँका समस्या लगायतका विषयमा केन्द्रित रहेर उजेली न्यूजका सम्पादक लक्ष्मण केसीले गर्नुभएको कुराकानिको सार :

 

हजुरको कार्यकालय सकिएको पनि डेढ वर्ष भइसकेको छ । विद्यालयमा अहिलेसम्म किन नयाँ व्यवस्थापन समिति आउन नसकेको ?

म यहाँका अभिभावकहरुको चाहना अनुसार दुई कार्यकालय अध्यक्ष भएर चलाएको हुँ । विद्यालयको शैक्षिक विकास तथा पूर्वाधार विकासमा मेरो ध्यान केन्द्रित भएको थियो । विद्यालय जस्तो पवित्र स्थानमा राजनीति घुस्नुहुँदैन भन्ने मेरो मान्यता हो ।

हामी सबैको साझा प्रयसाबाट मात्रै विद्यालयको शैक्षिक गुणस्तर बढाउन सकिन्छ । मैले मेरो कार्याकाल सकिएको डेढ वर्षसम्म पनि कामचलाउ अध्यक्षका हैसियतले काम पनि गरेको थिए । म प्रजातन्त्रमा विश्वास गर्छु । हरेक कुराको विधिसँगत काम हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

त्यहीँ अनुरुप हामीले हाम्रो कार्यकाल सकिए लगत्तै विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनका लागि अभिभावक भेला गरेका थियौं । तर, सिस्ने गाउँपालिकाले अभिभावक भेलालाई स्थगित गर्न दबाव दिए पछि नयाँ नेतृत्व चयन हुन सकेन ।

बरु त्यही अभिभावक भेलाबाट हामीलाई काम चलाउको जिम्मेवारी दिइयो । कामचलाउ भएको पनि डेढ वर्ष पुगिसकेपछि मैले यसरी काम गर्नुहुँदैन नयाँ नेतृत्व आउनुपर्छ भन्ने मान्यता राखेर माघ १५ गते अभिभावक भेला गरेर मैले काम चलाउको हैसियतले पनि काम नगर्ने घोषणा गरेको छु ।

 

धेरै अभिभावकहरुले त फेरी तपाई नै आउनुपर्छ भनेका छन् त ?

हो मलाई धेरै अभिभावक तथा विद्यार्थीहरुले यहाँको शैक्षिक विकासका लागि म फेरी व्यवस्थापन समितिमा आउनुपर्छ भन्नुभएको छ । व्यक्तिगत रुपमा मलाई आउने नआउने भन्ने कुनै धारणा छैन । तर, म प्रजातन्त्रमा विश्वास गर्ने भएकाले अभिभावकहरुको चाहना अनुसार चल्नुपर्छ ।

तपाई प्रति अभिभावक र विद्यार्थीको किन यति धेरै मोह देखियो होला ?

मुख्यकुरा म आर्थिक रुपमा पार्दशी छु । म कहिले पनि आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्दैन । म विद्यालय, विद्यार्थी, अभिभावक र शिक्षकको समन्वय गरेर अघि बढीरहेको छु ।

मैले दुई कार्यकालमा यो विद्यालयको भौतिक विकास तथ शैक्षिक विकासका लागि धेरै काम गरेको छु । मेरै कार्यकालमा ६ ओटा भवन निर्माण भए । हामीले टाढाका विद्यार्थीहरुलाई विद्यालयसम्म ल्याउनका लागि स्कुल बसको व्यवस्था गरेका छौं । विपन्न, असहाय, दलित, द्धन्द्धपीडित तथा पछाडी पारिएका छात्राहरुलाई २० ओटा कोठा बनाएर छात्राबासको व्यवस्था गरेका छौं ।

अभिभावक विहिन विद्यार्थीहरुलाई विद्यालयकै होस्टेलमा बस्ने व्यवस्था गरेका छौं । कक्षा ९ देखि १२ सम्म प्राविधिक धार सञ्चालनमा ल्याएका छौं । १८ महिने कृषि जेटिएको पढाई पनि मेरै कार्यकालमा शुरु भएको छ । अबको शिक्षा प्राविधिक हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

मेरै कार्यकालमा यो विद्यालय प्रदेशको नमूना विद्यालयको रुपमा छनोट भएको छ । यो पनि हाम्रो प्रयासमा भएको हो । हामीले विद्यालयमा शैक्षिक सुधार मात्र नभएर अतिरिक्त कृयाकलापलाई ध्यान दिएका छौं ।

खेल क्षेत्रमा हाम्रो विद्यालय यो जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित भएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हाम्रो विद्यालयले ६ पटक सिल्ड हात पारिसकेको छ । यी यावत कुराले अभिभावकहरु फेरी पनि केही समय मैले नै विद्यालयको नेतृत्व गर्नुपर्छ भन्ने चाहना राख्नुभएको छ ।

हामीले हाम्रो शिक्षालाई विश्वमै प्रतिस्पर्धा गर्न लायक बनाउनुपर्छ । त्यसै अनुरुप हामीले बेलातबाट दुई जना शिक्षक झिकाएर तीन वर्ष यहाँका विद्यार्थीहरुलाई पढाउने व्यवस्था गरेका थियौं । यो पनि मेरो कार्यकालमा भएको अर्को महत्वपूर्ण उपलब्धि हो । कोरोना महामारीको बीचमा हामीले सञ्चार माध्यमबाट विद्यार्थीलाई पढ्ने व्यवस्था गरेका थियौं । हाम्रो प्रदेशमा थोरै विद्यालयले मात्रै यस्तो गर्न सकेका थिए । हामीले यो सबै काम विद्यालयकै लगानीमा गरेका थियौं ।

प्राविधिक शिक्षाको क्षेत्रमा सुधार भएको उल्लेख गर्नुभयो । अरु के के काम गर्नुभएको छ ?

विगतमा प्राविधिक शिक्षा हासिल गर्नका लागि यहाँका विद्यार्थी नेपालगञ्ज, वुटवल, चितवन तथा काठमाण्डौं जानुपर्ने बाध्यता थियो ।

हामीले हाम्रै घर आँगनमा प्राविधिक शिक्षा लिन सफल भएका छौं । यसले पूर्वी रुकुमको समग्र शैक्षिक सुधारमा उल्लेख्य योगदान पुगेको छ । हामीले कृषि पढिरहेका विद्यार्थी तथा अभिभावकहरुलाई वेमौसमी तरकारी खेति सम्बन्धी तालिम सञ्चालन गरिरहेका छौं । माछा पोखरी निर्माणको काम भएको छ ।

विद्यालयले नै विद्यार्थीको प्रयोगात्मक अध्ययनका लागि मौरी पालनको व्यवस्था गरेका थियौं । कृषि ल्यावका लागि हामीले सम्पूर्ण उपकरणको व्यवस्था गरेका छौं । हामी पूर्वी रुकुमको केन्द्रमा रहेको विद्यालय भएको नाताले पनि यहाँका अन्य दूर दराजमा रहेका विद्यालयहरुको शैक्षिक विकासका लागि पनि केही योगदान गर्नुपर्ने छ । त्यसैले हामीले विद्यालय तथा विद्यार्थीहरुको अनुभव आदानप्रदानको काम गरेका छौं ।

यसले गर्दा यो विद्यालयबाट यहाँका अन्य विद्यालयहरु पनि केही सिक्ने र अनुभव हासिल गर्ने अवसर पाएका छन् । हामीले पनि अन्य विद्यालयबाट केही कुरा सिक्ने अवसर पाएका छौं ।

विद्यालयको शैक्षिक विकासका लागि तपाईहरुलाई कुनकुन निकायले सहयोग गरेका छन् ?

हामीलाई यस क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने पूर्वमन्त्री गणेशमान पुन, पूर्वमन्त्री दलजित सेर्पाली, पूर्व मन्त्री मिट्ठु मल्ल, पूर्व माननीय कमला रोका, प्रदेशसभा सदस्य तेजबहादुर ओली, आशा स्वर्णकार, प्रदेश सभामुख पूर्णबहादुर घर्ती, कृषि मन्त्री आरती पौडेल, सामाजिक विकास मन्त्री सुर्दशन बराल, जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र ओली लगायत यहाँका राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायत यहाँका सम्पूर्ण अभिभावक र विद्यार्थीहरुको सहयोग रहेको छ ।

तर, शिक्षा क्षेत्रको जिम्म लिएको स्थानीय सरकार सिस्ने गाउँपालिकाबाट हामीले अपेक्षा अनुसार सहयोग पाएका छैनौं । विद्यालयलाई राजनीतिक पूर्वाग्रहबाट हेर्ने काम भएको छ । यसले गर्दा विद्यालयमा थप सुधारका लागि केही समस्या देखिएको छ ।

 

र, अन्त्यमा के भन्न चाहनुहुन्छ ?

म सबैभन्दा पहिले त मेरा सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई धन्यवाद दिन चाहन्छु । जसले मलाई विश्वास गरेर विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा हातमा हात मिलाएर साथ दिनुभएको छ ।

मैले तपाईहरुको विश्वासलाई सम्मान गर्न चाहन्छु । साथै आगामी दिनमा तपाईहरुकै चाहनामा म चल्न चाहन्छु । मदन शाह कुनै पदको लोभी होइन । तर, काम गर्नका लागि जिम्मेवारीबाट पछि पनि हट्दैन ।

किनकी यो विद्यालयसँग समग्र पूर्वी रुकुमको शैक्षिक जगत जोडिएको छ । हामीले राम्रो काम गरेनौं भने पछिल्लो पुस्ताले हामीलाई सम्झने छैन । हामीले विद्यालयमा राजनीति गर्नुहुँदैन । कसैले व्यक्तिगत स्वार्थ पनि लिनुहुँदैन । शैक्षिक विकासका लागि साझा सहमति हुन जरुरी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार