कर्णाली प्रदेशमा नवनियुक्त कांग्रेसका दुई मन्त्रीले लिए शपथ

कर्णाली प्रदेशमा नवनियुक्त कांग्रेसका दुई मन्त्रीले लिए शपथ

सुर्खेत । आईतबार कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसका दुई नेतालाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई र सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसीलाई नियुक्त गर्नुभएको थियो ।

अब कर्णालीमा मन्त्रालयको सङ्ख्या आठ पुगेको छ । कर्णाली सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित तीन जना र एमालेबाट फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका तीन जना र कांग्रेसका दुई जना मन्त्री छन् । पछिल्लो चुनावपछि केन्द्र र सबै प्रदेशको सरकारमा विपक्षीको भूमिकामा रहेको कांग्रेस कर्णालीमा सत्तामा पुगेको हो ।

विश्वासको मत दिएर सरकार जोगाइदिएको कांग्रेसलाई मुख्यमन्त्रीले सरकारमा सहभागी गराउनुभएको हो । नेकपा एमालेले सर्मथन फिर्ता लिएपछि वैशाख ३ गते नेपाली कांग्रेसले विश्वासको मत दिएर मुख्यमन्त्री शाहीको पद जोगिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार