चौरजहारी नगरपालिकाले ल्यायो ५८ करोड ६५ लाखको बजेट

जनयुद्धजनका घाइते र अपाङ्गलाई शेयर, शिक्षकलाई ल्याप्टप

चौरजहारी नगरपालिकाले ल्यायो ५८ करोड ६५ लाखको बजेट

जनयुद्धजनका घाइते र अपाङ्गलाई शेयर, शिक्षकलाई ल्याप्टप

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि झण्डै ५९ करोड बजेट ल्याएको छ । नगर उप–प्रमुख राधा रोकाले आज (बिहीबार) नगर सभामा आगामी आर्थिक वर्षको लागि ५८ करोड ६५ लाख ६९ हजार बजेट पेश गर्नुभएको छ ।

कूल विनियोजित बजेट मध्य चालू तर्फ ३८ करोड ४७ लाख ६९ हजार अर्थात् ६५।६० प्रतिशत रहेको छ । पूँजीगत तर्फ भने १८ करोड ९८ लाख अर्थात् ३२.३६ प्रतिशत रहेको छ । त्यस्तै वित्तीय व्यवस्था तर्फ १ करोड २० लाख बजेट रहेको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक राजश्वबाट ३ करोड, संघीय सरकार वित्तीय समानीकरण अनुदानबाट १० करोड ७० लाख, संघीय सरकार सशर्त अनुदानबाट २४ करोड २९ लाख, संघीय सरकार राजश्व वाँडफाँटबाट ७ करोड ९७ लाख ४७ हजार, संघीय सरकार समपूरक अनुदानबाट २१ लाख र संघीय सरकार विशेष अनुदानबाट २ करोड ५० लाख प्राप्त हुने बताएको छ ।

त्यस्तै प्रदेश सरकार वित्तिय समानीकरण अनुदान १ करोड १३ लाख २९ हजार, प्रदेश राजश्व वाँडफाँट ५ लाख ६६ हजार, प्रदेश सरकार सशर्त अनुदान २ करोड ८४ लाख २७ हजार, प्रदेश सरकार समपूरक अनुदान २ करोड ५ लाख, प्रदेश सरकार विशेष अनुदान ७० लाख रहेको छ ।

जनयुद्धका घाइते र अपाङ्गलाई शेयर, शिक्षकलाई ल्याप्टप

चौरजहारी नगरपालिकाले माओवादी जनयुद्धका घाइते तथा अपाङहरूलाई शेयर दिने भएको छ। नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममार्फत जनयुद्धका घाइते तथा अपाङहरूलाई शेयर दिने घोषणा गरेको हो।

‘जनयुद्धका घाइते र अपाङगहरूको पहिचान गरी मासिक रुमा एक हजार बराबरको रकम शेयरको रुपमा जनयुद्धका घाइते तथा अपाङ्ग लक्षित उद्योगमा लगानी गरिने छ,’ नगरप्रमुख विशाल शर्माले नगरसभामा पेश गरेको नीति तथा कार्यक्रममा भनिएको छ।

त्यस्तै जनयुद्ध र जनआन्दोलनमा मृत्यु भएका शहिद परिवारलाई पनि मासिक एक हजार रकम उपलब्ध गराउने र उक्त रकम पनि सहिदहरूका घरपरिवार लक्षित उद्योगमा शेयरको रुपमा लगानी गर्ने घोषणा गरेको छ। जनयुद्ध र जनआन्दोलनका घाइते, अपाङ, सहिद परिवार, जेष्ठ नागरिक र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य वीमा र निःशुल्क रुपमा नगरबस र एम्बुलेन्स सेवासमेत दिने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै माध्यमिक तहमा कार्यरत गणित र विज्ञान विषय शिक्षकले अनिवार्य रुपमा आधारभूत तहको कम्प्युटर तालिम लिनुपर्ने छ। शिक्षकहरूको पेशागत सीप र क्षमता अभिबृद्धिका लागि नगरपालिकाले यस्तो नीति लिएको हो। आधारभूत तहको तालिमपश्चात शिक्षकलाई एक–एक वटा ल्याप्टप दिने नीति तथा कार्यक्रममार्फत घोषणा गरेको छ। पहिलो चरणमा गणित र विज्ञान विषयका शिक्षकलाई आधारभूत कम्प्युटर तालिम लिनुपर्ने व्यवस्था गरेको हो।

त्यस्तै निर्वाचित जनप्रतिनिधि र कर्मचारीले छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले नीति अबलम्बन गरेको हो। पाँच कक्षासम्मका विद्यार्थीलाई निःशुल्क पोशाक र स्टेशनरी दिने घोषणा गरेको छ।

सबै बालबालिकालाई शिक्षा अनिवार्य रुपमा विद्यालयमा भर्ना गराउने उद्देश्यले निःशुल्क पोशाक र स्टेशनरी दिने भएको हो। आधारभूत तहसम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने र जंगफुटलाई प्रतिबन्ध लगाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै कृषक पेन्सन दिने उद्देश्यले ‘कृषक पेन्सन कोष’ स्थापना गर्ने घोषणा गरेको छ। नगरपालिकाले बार्षिक रुपमा निश्चित रकम उक्त कोषमा जम्मा गर्ने छ। कोषमा जम्मा हुने रकमलाई पुनः कृषिमा आधारित उद्योगमा लगानी गरिने छ। बृद्ध अवस्थामा सोही लगानीका आधारमा कृषकलाई पेन्सन दिने नगरप्रमुख शर्माले बताए।

त्यस्तै वडा नम्बर २ मा क्षेत्रीय रङ्गशाला, वडा नम्बर १० शहीद मैदान, एक वडा एक खेल मैदान, एक घर एक धारा जस्ता सञ्चालन गर्ने, नगर वस सेवालाई विस्तार गर्न थप दुई वटा बस खरिद गर्ने, भुकम्प प्रतिरोधि संरचना निर्माणमा जोड दिने लगायतका योजनाहरू समावेश गरिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार