कथा उनै दिनको¸ गोठाले जीवनको

Duduwa Corona

कथा उनै दिनको¸ गोठाले जीवनको

घरबाट करीब तीन किमी टाढा घना जंगलको वीचमा हाम्रो कागमारेको गोठ । बर्षाको समय र पुसमाघको समय गाइवस्तु लिएर गोठ जाने प्रचलन । माथिल्लो गोठ ठुला बाहरुको । तल्लो गोठ हाम्रो । उतिखेरको जिम्मेवारी शाखा¸ फाँट ग्वाल जाने तोकिएको हुन्थ्यो मेरो । ठुलाबाहरुको गोठभन्दा अली पर माथितिर ठूलो गरगरे ढांरको रेलो । कोटदेखि गर्की आएका ढुङ्गै ढुङ्गाको भ्याङ्कर ठुलो रेलो । राम्रा बनिबनाउ ठुङ्गाहरु¸ वीचवीचमा पुराना राता रङ्गका इट्टाहरु पनि । शायद् पुरानो मुसिकोट दरवारबाट गर्की आएका इट्टा¸ ढुङ्गा पनि होलान ।
गरगरे ढांरको वाल्लोपट्टी ठूलो जबरो र ओरालहरुको लामो श्रृङ्खला । ओरालहरुमध्ये अग्लो ओरालमा बसेर चारैतिर हरियाली बनजंगल नियाल्दै¸ सर्रसर्र शितल हावा खाँदै साल र सल्लाका रुखहरुको बीचमा आनन्दमयक वातावरणमा किताब पढ्ने उतिखेरको क्रान्तिकारी गोठालो म । पाल्लोपट्टी रहेको ठूलो जबरोको तल्तिर रहेको ठूलो चौडा ढुङ्गाको चुच्चोमा बसेर सुल्पामा काचापातको धुलो भरेर बुङ्गर्यौल धुवाँ उडाउंदै कक्कर दन्काउने हाम्रा ठुला बा ।
हाम्रा गाई बाख्रा ओराल श्रृङ्खलाभन्दा यता पट्टी । ठुलाबाका गाइ बाख्रा गरगरे ढाँरको रेलोभन्दा उतापट्टी चरिरहेका । वारीपट्टी म बसेको जबरोबाट ठुला बा र उहाँका गाइ बाख्रा प्रष्ट देखिने । तर रुखहरुको वीचमा केही दम्सिलो गहिरो भागमा अवस्थित ठूलो ढुङ्गामा बसेका ठुलाबाले गाइ बाख्रा देख्न नसक्ने अवस्था । तर ठुला बा बसेको स्थानभन्दा केही तल्तिर ती चरिरहेका ।
अकस्मात वारीबाट हेर्दा ठुलाबाका बाख्रा एकै ठाउँमा ठिङ्ग उभिएर लामबद्ध भएको देखेँ । छुट्टाछुट्टै चरिरहेका बाख्रा किन यसरी उभिए भनी नियाली हेरेको त बाघले एउटा बाख्राको गर्धनमा झम्टिरहेको । शरीर सिरिङ्ङ्ग । शरीरका सबै रौँ एकैसाथ ठाडा । शरिरका नौ नारी कता हराएजस्ता । ज्यान सलाङ्ग सुलुङ्ग कस्तोकस्तो । मुटु ढुकढुक । जिउ कम्पायमान । दिमागमा सररर चिसो सन्को प्रवाह ।
“ठुला बा ठुला बा” “बाघले बाख्रा खायो” भित्रैबाट आवाज निकाल्न खोज्छु तर सकिदैन । श्वास बन्द छ । फेरि बोल्न खोज्छु आवाज निस्कदैन । हात मात्रै यता उता चल्छ । मुखबाट बोली फुट्दैन । अन्तिममा मुस्किलले ‘बाघ बाघ’ उच्चारण । ठुला बाबाट ‘नई के भन्छ यो, काँ छ बाघ ?’ प्रतिउत्तर । ‘तल तल बाख्रा खायो बाघले ।’ यत्ती आवाज निस्कियो बल्लतल्ल ।
ठुला बाले ‘हौत हौत’ भन्दै ढुङ्ग्योल । डल्ल्यौर गर्न थाल्नु भो । माथिबाट अन्धाधुन्ध ढुङ्गा लोटाउन¸ सालका पोथ्रा रुखहरु यताउता हल्लाउंदै जोडजोडले भोलम बढाउंदै ‘भाग भाग तेरी खानका खजन्ते बाघ’ भन्दै ‘हौत हौत’ को मात्रामा भारी बृद्धि गर्न थालेपछि बाघ जिब्राले मुख चाट्दै¸ घाँटी घुटुक घुटुक पार्दै लुसुक्क गरेर दलखेतको माथि घना जंगलतिर । बाघ भागिसकेपछि हेर्दा थाहा भयो । बाघले एउटा बाख्रो मारिसकेको रहेछ ।
गर्धनभरी बाघका दाँतका डाम । अरु बाख्रा ठिङ्ग उभिएका । कतिखेर कान ठाडा पारेर बुरुक बुरुक तलतिर उफ्रिन्छन । तर एउटा बाख्रा त बाघको आक्रमणबाट ठहरै । कठैबरा भन्नुको विकल्प थिएन । सबै गाइवस्तु लखेटलाखेट¸ खेदखाद पारेर गोठतिर हुलियो । अनि गोठको गजावार लाएर लामो श्वास स्वाँ स्वाँ । धन्न बाँचियो बाघबाट ।
सम्झना उनै दिनको । कथा आजभन्दा करीब ३१ बर्ष पहिलेको ।
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार