उपलब्ध श्रोत साधनको अधिकतम परिचालनबाट जनमुखी काम गरिरहेका छौ : अध्यक्ष के.सी.

बाँफिकोट गाउँपालिकाका अध्यक्ष सँगको संवाद

उपलब्ध श्रोत साधनको अधिकतम परिचालनबाट जनमुखी काम गरिरहेका छौ : अध्यक्ष के.सी.

बाँफिकोट गाउँपालिकाका अध्यक्ष सँगको संवाद

धर्म बहादुर के.सी. बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको अध्यक्ष हुनुहुन्छ । कोरोना संक्रमण रोकथाम, न्यूनिकरण तथा उपचारमा गाउँपालिकाले अहिलेसम्म गरेका कार्यहरु, आगामी बर्षको बजेट तथा योजना लगायतका बिषयमा केन्द्रित रहेर अध्यक्ष केसी सँग उजेली न्यूज डटकमका प्रमुख संवाददाता संगम देवकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

  •  तपाईको गाउँपालिकाले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण गर्ने के कस्तो काम गर्दै आएको छ ?

हाम्रो बाँफिकोट गाउँपालिकाले कोरोना सङक्रमणको दोस्रो लहरको रोकथाम तथा न्युनीकरण गर्नको लागि नेपाल सरकारले गरेको निषेधाज्ञाको पालना तथा कार्यान्वयनकोलागि हातेमालो गरेको छ । प्राप्त निर्देशनको पालना गरेको तथा गराएको छौं । सामाजिक दुरीको कायम, मास्क स्यानीटाइजरको प्रयोग, बारम्बार साबुन पानीले हात धुने लगायतका ब्यवहार गर्न भनिएको छ । यसका साथै स्वास्थ्य शाखा मार्फत मास्क, स्यानीटाईजर, साबुन वितरण गरिएको छ। स्थानीय स्तरमा गइ चेकजाँच गर्नुका साथै होम आइसोलेशनमा वस्नको लागि निर्देशन दिएको छ । स्वास्थ्य समस्या भएका ब्यक्तिहरुलाइ १५ वेडको अक्सिजन सहितको आइसोलेशन तथा उपचार केन्द्र स्थापना गरी संचानमा ल्याइएको छ । थप समस्या भएमा उपचारको लागि जिल्ला अस्पताल सल्लेमा निशुल्क रुपमा एम्बुलेन्सको ब्यवस्था गरी रिफर गरिएको छ ।

  • कोरोनाको दोस्रो भेरियन्ट सुरु भएको अवस्थामा जिल्लाका अधिकाश पालिका भित्रका नागरिकले अक्सिजन नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आएको थियो । तपाईको पालिकाको अवस्था कस्तो छ ? अक्सिजनको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

बाँफिकोट गाउँपालिकामा कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि अक्सिजन नपाएर कुनै मानिसले ज्यान गुमाउनु परेको अवस्था छैन । हामी सँग अहिले आइसोलेशन तथा उपचार केन्द्रमा ४० थान अक्सिजन र ३ थान कन्सन्ट्रेटर रहेको छन् ।

  • पछिल्लो समय गाउँघरमा निषेधाज्ञा फितलो हुँदा कोरोना संक्रमण थप फैलिएको भन्ने गुनासो छ । यसलाई कडाइ गर्न जरुरी छ कि छैन ?

सवैबाट पालना नगरिएको होला तर धैरै मानिसहरुलाई ज्यानको माया छ । पालना गरेका छन् । कतिपय मानिसहरु लापरवाही गर्ने स्वभावका हुन्छन् । स्थानीय प्रहरी वडा समिति शिक्षक समाजसेवीको सहयोगमा सुझावहरुको पालना गर्न लगाइएको छ । कतिपय स्थानमा पूर्ण पालना नगरेको पाइएको पनि छ ।

  • बाँफिकोट गाउँपालिकाको सानो बजेटले कोरोना नियन्त्रण गर्न सम्भव होला त ? कोरोना रोकथाम नियन्त्रण र उपचारमा संघ र प्रदेश सरकारबाट के कस्ता सहयोग पाउँनुभएको छ ?

गाउँपालिकाको सानो वजेटबाट कोरोना नियन्त्रण गर्न मुश्किल छ। हामीले उपलब्ध साधनस्रोतबाट सक्दो प्रयास गर्ने हो । गरेका छौं । प्रदेश सरकारबाट सहयोग पाएका छौं । पूर्व सामाजिक मन्त्री माननीय विमला के सी ज्यू ले १००० थान परीक्षण किट र अन्य स्वास्थ्य सामग्री लिएर हाम्रो स्वास्थ्य शाखामा आउनु भएको थियो कोभिडको महामारीमा खटिने स्वास्थ्यकर्मीलाइ उत्प्रेरणा तथा हौसला दिनुभएको थियो । हाम्रो पालिकाबाट स्वास्थ्य समस्या जटिल भइ प्रदेश अन्तर्गत रहेको स्वास्थ्य सेवा कार्यालयल सल्ले रिफर गरेका सवै विरामीहरुले राम्रो उपचार तथा स्याहार पाएका छन् । समग्रमा हामीले सहयोग पाएका छौं ।

  •  गत बर्ष कोरोना कहरकै बिचमा पनि तपाईहरुले पालिकामा दैनिक ज्याला मजदुरी गर्ने मानिसहरुलाई खाद्यन्न वितरण गर्नु भएको थियो । यसपालि भयो कि भएन ?

हामीले यस वर्ष हालसम्म दैनिक ज्याला मजदुरी गर्ने नागरिकलाई खाद्यन्न वितरण गर्न सकिएको छैन । कार्यापालिकाको निर्णयानुसार विपन्न परिवारका ब्यक्तिलाइ सक्दो खाद्यान्न सहयोग गर्ने योजना रहेको छ ।

  • यो चार वर्षका अवधिमा तपाईहरुले गरेका महत्वपूर्ण उपलव्धिलाई क्रमैसँग बताइदिनुस् न ?

बाँफिकोट गाउँपालिकाले यस ४ वर्षमा निरन्तर जनताको सेवा गरिरहेको छ। समुदायका सवै आवश्यकता र आकाक्षा पुरा नभएका होलान तर उपलब्ध साधनस्रोतको अधिकतम परिचालन गर्ने तथा जनताको हितमा काम गर्ने कार्य भएका छन् । केही मुख्य कामहरु यसप्रकार छन् ।

६ वडामा नयाँ वडा स्वास्थ्य सेवा इकाइ स्थापना
४४ वटा सामुदायिक विद्यालयमा नि:शुल्क शिक्षा कार्यान्वयन
गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा ९० भन्दा बढी अनुदान शिक्षक ब्यवस्था
बालबिकास सहयोगी कार्यकर्ताको पहिलो वर्षदेखि नै मासिक चारहजार थप गरी दशहजार अनुदान उपलब्ध गराएको
१०० किलोमीटर बढी नयाँ सडक ट्याक खोलिएको
३०० बढी घर परिवारमा एक घरएक खानेपानी धारा कार्यक्रम लागु गरिएको
२०० बढी घर परिवारलाइ सहज हुने गरी विद्युत पोल तथा तार विस्तार गरिएको
६ किलोमीटर बढी सिचाइ कुलो निर्माण गरिएको
१८ वटा नयाँ विद्यालय भवन ९ वटा नयाँ विद्यालय शौचालय निर्माण ३ वटा नयाँ सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण १ वटा वडा भवन निर्माण गरिएको
सामुदायिक परिचालन मार्फत नियमित मर्मत सम्भार तथा निर्माणका काम गरिएको छ ।

  • अन्तमा केहि भन्न चाहनुहुन्छ ?

सवैजना बाँफिकोटवासी आदरणीय आमाबुवा दाजुभाइप्रति कोभिड महामारीको दोस्रो लहरको यस अवस्थामा स्वास्थ्य सुरक्षाको पालना गरौं । सामाजिक दुरी को पालना गरौं । मास्क स्यानीटाइजरको प्रयोग गरौं । आफ्नो घर खेतबारीमा काममा जाऔं, अनाबश्यक भेला समूह नगरौं । स्वास्थ्य समस्या भएमा नजिकको स्वास्थ्य इकाइमा सम्पर्क राखी चेक जाँच गर्न तथा उपचारमा जोडिन सवैमा हार्दिक अनुरोध गर्दछु ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार