रुकुम पूर्वको कथा : खडेरी, अतिवृष्टि अनि अनिकाल

कृषि

रुकुम पूर्वको कथा : खडेरी, अतिवृष्टि अनि अनिकाल

कृषि

रुकुम पूर्वको भुमे गाउँपालिका- ३ झुम्लावाङमा खडेरीले गुदी राम्ररी नलागेको गहुँ काटेर जोतिँदै । तस्वीरहरू: स्मिता मगर

रुकुम पूर्वको भुमे गाउँपालिकाको झुम्लावाङसहितका ठाउँहरूका बासिन्दा खडेरी र अतिवृष्टिका कारण कृषि उत्पादन नाशिँदा पटकपटक खाद्यान्न अभावसँग जुधिरहेका छन्।

“आज त जमीन पनि झ्वाइँयऽऽ गर्‍यो होला है कान्छी!” दर्के झरी परेपछि भाउजू वीरमती विकले फुरुंग पर्दै भनिन्।

वैशाख पहिलो साता रुकुम पूर्वको भुमे गाउँपालिका वडा नं. ३ स्थित झुम्लावाङ गाउँमा झन्डै आठ महीनाको अन्तरालमा पानी परेको थियो। यति लामो खडेरीले गाउँमा गहुँ–जौ बाली मात्र स्वाहा पारेको थिएन, जंगल नै खक्रक्क सुकाएको थियो।

गत चैत–वैशाखमा देशभर विभिन्न ठाउँका वनमा व्यापक डढेलो लाग्यो। जसले काठमाडौं उपत्यकामा डम्म धुवाँ र तुवाँलो लागेर सास फेर्न कठिन र आँखा पोलेर हैरान बनाएको थियो। यता झुम्लावाङका बासिन्दालाई खडेरीका कारण खर्सुङ डालेघाँसमा कीरा लाग्दा काट्ने वेला चिलाएर बिजोग बनाएको थियो। त्यसमाथि गाईबस्तुका लागि हरियो घाँसपात कसरी जुटाउने र सम्भावित अनिकाल कसरी टार्ने भन्नेमा उनीहरू चिन्तित थिए।

पानी परेको अर्को दिनदेखि नै झुम्लावाङका स्थानीय हातगोडा तन्काउँदै खेतबारीमा पसे। केहीले अलि–अलि उम्रिए पनि नसप्रेको गहुँ बालीमा गाईबस्तु चराए, जोते र मकै छरे। “मुरी फल्ने बारीमा दुई–तीन मुठा (मुठी) पनि नआउने भएपछि यो वर्षको गहुँ बाली गाईबस्तुको चरन बने,” जोखीकुमारी थापाले भनिन्।

मकै र गहुँ प्रमुख खाद्यबाली रहेको झुम्लावाङमा आलु, जौ, भटमास, भाङ्ङो (भाङ), तोरी, सिमी, कोदो तथा विभिन्न मसला उत्पादन गरिन्छ। तर, आफ्नो बारीमा उत्पादित यी खाद्यान्नले अधिकांश परिवारलाई वर्षभरि पुग्दैन। खडेरी र अनिकालको सकस झुम्लावाङको मात्र नभई यस आसपासका धेरै ठाउँको साझा व्यथा हो।

बाली थन्क्याउने वेला लगातार पानी परेकाले अलि–अलि फलेको गहुँ पनि स्थानीयले राम्ररी भित्र्याउन सकेनन्। गहुँ बाली भित्र्याउन यसै पनि विभिन्न चरणमा धेरै जुट्नुपर्ने हुन्छ। गहुँ काटेपछि पारिएको मुठा सुकाउने, थटाउने, उडाउने, सुप्पोमा सार्ने, त्यसपछि गेडा सुकाएपछि मात्र घरमा थन्क्याउन मिल्छ। यी सबै गर्ने क्रममा घाम लागेन भने भोम्सिने (कालो भएर बालामै उम्रिने) समस्या धेरै हुन्छ, जसले गर्दा उत्पादित बाली पनि खान नपाउने अवस्था निम्तिन सक्छ।

यही डरले हरियै बाली काट्न भदैनीहरू ऋतु, स्वस्तिका र वर्षा गहुँ बारीमा पसेका थिए। “बज्यैले भनेको साना–साना बाला भए’नि टिपेर लैजानुपर्छ है, नत्र अन्न रुन्छन् रे,” गहुँका स–साना बाला काट्दै वर्षाले दिदीहरूलाई सम्झाइन्।

झुम्लावाङका किसानबीच एउटा कथा प्रचलित छः साना भनेर बारीमा छोडिएका अन्न रात परेपछि सांरि (बारीमा ढुङ्गा राखेर छुट्याइएको साँध) मा भेला भएर रुँदै भन्छन् रे– ‘ठूला अन्नले ठूलै भकारी भर्थे, हामी सानाले सानै। थुन (डोको जस्तै तर मसिना अनाज पनि नछिर्ने भाँडो) नभए फुङ्ङो (थुन जस्तै तर सानो भाँडो) भए’नि भर्थ्याैं। हाम्रो गोसा (मालिक)लाई हामी पनि पाल्थ्यौं।’

यसरी अन्न नरोऊन् भनेर गहुँका बाला काट्न झुम्लावाङकै दाङ्लिगा गएकी सेनामई (सानीआमा) हस्तकला बुढालाई मेरी आमा भगवती बुढाले त्यतातिर त बाली अलि भयो कि भनेर सोध्दा उनले खितिति हाँस्दै भनिन्, “कठै बरै नाना! न मल न पानीको बाली त भो, एक मुठा (मुठी) पुर्‍याउन पनि कम्ता गाह्रो परेन।”

राम्रो बाली हुने बारीमा पनि खडेरीका कारण यसपालि उत्पादन भएन।

गहुँ काट्न हामीलाई सघाउन शिरमाया विक आएकी थिइन्। यतातिर दिनभर गहुँ काटिदिए बापत एक भारी गहुँ लैजान पाउने चलन छ। तर, यसपटक कसैकोमा पनि गहुँ राम्रो नफलेकाले शिरमायालाई कसैले पनि काम लगाएनछन्। घर फर्किने क्रममा उनले भनिन्, “तिमीहरूको पनि त गहुँ कत्ति रैनछ है। के खान्छौ?”

त्यही समय कोरोनाभाइरस संक्रमण फैलिँदा माइतमै रोकिएकी बहिनी कृष्णा बुढा बालामा फल नभई खोस्टा मात्र रहेको गहुँलाई जरैदेखि उखेल्दै थिइन्। उनले खिन्न हुँदै भनिन्, “हेर्नु त दिदी, के बाली भको होला यस्तो लाजमर्दो! अब खान्छन् गाईबस्तुले।”

कृष्णाले उखेलिराखेको गहुँ हेर्दै दिक्किएकी स्वस्तिकाले थपिन्, “फुपू, गहुँ काट्दा त मुठी पुग्नु अगावै झरप्प फलेको बालाले हात लसक्क भुइँतिर तानोस् अनि पो काट्न जाँगर लाग्छ; मन पनि खुशी हुन्छ।”

गहुँ काट्दा स्वस्तिकाले भने झैं मन खुशी बनाउने बाली थियो, झुम्लावाङ खासिवाङको डल्लेपातामा रहेको कान्छाबा लोकबहादुर बुढाको। सिँचाइ गरिएकाले उनको बाली अरूको भन्दा धेरै राम्रो भएको थियो। अरूको बीउ नै मासिएको अवस्थामा कान्छाको बारीमा ६ मुरी फल्नेमा यसपटक ४ मुरी भए पनि फलेको छ।

यो उदाहरणले सिँचाइ गरे खडेरी पर्दा पनि राम्रै उत्पादन हुनसक्ने देखायो। तर, गाउँमा कस्तो मान्यता छ भने, सिँचाइ गर्दा मल माटोमुनि जान्छ र त्यसले मकै बालीलाई असर गर्छ। त्यसैले खाद्य सुरक्षामा काम गर्ने संघ–संस्थाहरूले सिँचाइका लागि बनाइदिएका ड्यामहरूको खासै उपयोग भएको छैन।

आफूहरूको समाजमा सिँचाइ संस्कृति नै नरहेको भुमे गाउँपालिकाकी उपाध्यक्ष मनकुमारी बुढा विष्ट बताउँछिन्। जलवायु परिवर्तनका कारण भइरहेको अनावृष्टि र अतिवृष्टिले परम्परागत रूपमा गरिँदै आएको कृषिलाई प्रत्यक्ष असर गरेको छ। साथै, कृषिमा अनिश्चितता पनि बढेको छ। “त्यसैले कृषिमा समयानुकूल आधुनिक तौरतरिका अपनाउन जरुरी भइसकेको छ, तर नयाँ संस्कृति बसाल्न समय लाग्ने देखिन्छ,” गाउँपालिका उपाध्यक्ष विष्ट भन्छिन्।

अहिले भने झुम्लावाङमा वैशाखदेखि नै असारे झरी झैं निरन्तर परेको पानीले आलुको बोट मारिसकेको छ। फागुनमा रोपेको आलु वैशाखमा पानी परेपछि उम्रेका थिए। “आलु फुलेको वेला पानी नपरेको भए फल्ने थियो, तर पानी परेकोपर्‍यै गरेपछि बोटै कुहिएका छन्,” वीरमती भाउजूले भनिन्।

आलु फल्ने त छेकछन्द नै छैन, मकै बाली पनि त्यति सप्रिएको देखिँदैन। मकै छरेदेखि दर्केको पानीले बोट नसप्रेको मात्र होइन, बिरुवा भएको वेला नै कीरा लागेको थियो। यसैबीच, रुकुम पूर्वमा फौजी कीरा देखिएकाले स्थानीय किसानमा थप चिन्ता बढेको छ। गत वर्ष झैं सलह आउने हो कि भन्ने अर्को चिन्ता पनि छ। हावाहुरी र पानीले मकै बाली नाश गर्ने त हरेक वर्षको सिलसिला छँदै छ।

बालीमा यस्तो चौतर्फी आक्रमण हुने गरेपछि अनिकालले त सताउने नै भयो। झुम्लावाङ सामुदायिक स्वास्थ्य केन्द्रका इन्चार्ज शिव बुढा गाउँमा अनिकालको साक्षी हुन्। “हाम्रो गाउँमा एउटा बाली सखाप भो भने अनिकाल लाग्छ, दुवै बाली मर्‍यो भने ठूलै अनिकाल लाग्छ,” उनी भन्छन्।

विगतदेखि नै प्रकृतिको जुलुम
वर्षमा दुई बाली हुने झुम्लावाङमा गत वर्ष पनि अतिवृष्टिले गर्दा मकै निकै कम उत्पादन भएको थियो। कारण, २०७६ माघदेखि पर्न शुरू भएको पानी असोजसम्म परेको थियो। त्यस लगत्तै अनावृष्टि अर्थात् खडेरी शुरू भयो। जसले गर्दा मकैपछि गहुँ पनि फलेन। यो वर्ष फेरि अविरल वर्षाका कारण आलु र मकै बाली बिग्रिँदै छ। यसले ठूलै अनिकाल लाग्ने संकेत गरेको छ।

उसो त झुम्लावाङका बासिन्दाका लागि अनिकाल नयाँ कुरा होइन। विगतदेखि नै वेलावेला सामना गर्दै आएका हुन्। तर, केही दशकयता भने अनिकाल लाग्ने क्रम बढेको छ।

झुम्लावाङवासीले २०२८ र ३४ सालमा परेको महाअनिकाल अझैसम्म भुल्न सकेका छैन। त्यतिवेला फाँडो र सिस्नो मात्र नभई सिस्नोको जरा खाएर बाँचेकाहरू यहीँ छन्। खाद्यान्नका लागि गहना धरौटीमा राखेका यहीँ छन्। सरकारले बाँडेको गहुँ लिन पाँच दिन हिँडेर दाङको तुल्सीपुर झरेका पुस्ता अहिले सुस्केरा काढ्दै भन्छन्, “हामी दुःख पाउने समयमा जन्मेका रहेछौं।”

त्यतिवेला गाउँ पञ्चायतले ‘विकासका लागि खाद्यान्न’ कार्यक्रम चलाएर राहत पाए बापत क्याङ्सी, सीमा, मोरावाङ र झुम्लावाङवासीलाई रत्वामारेदेखि क्वाचिवाङसम्म बाटो खन्न लगाएको थियो। यस हिसाबले त्यो बाटो धेरै अनिकालको साक्षी बनेको छ।

त्यसपछिका विभिन्न समयको अनिकालमा झुम्लावाङवासीहरूले सडक सुविधा नहुँदा धाइधपेडीको सास्ती पनि भोग्नुपर्‍यो। उनीहरू चामल किन्न जहाँ–जहाँ मोटरबाटो पुग्यो, त्यहीँ पुगे। “चामल लिन कहाँ–कहाँ पो पुगिएन,” रामकुमारी थापाले डोको र नाम्लो बोकेर डालसिङ्ङे, धावन्ने, दोमई, रत्वामारे पुगेको सम्झँदै भनिन्, “मान्छेहरूको भीड देख्दा कतिलाई अनिकाल लागेको होला भनेर विरक्त लाग्थ्यो।”

दुई वर्षअघि कच्ची बाटोले गाउँ छोएपछि भने अहिले खाद्यान्न ढुवानी सहज भएको छ। “अहिले त गाडी घरमै आइपुग्छ, पैसा चाहिँ हुनुपर्‍यो,” रामकुमारी भन्छिन्।

त्यही रकम जुटाउन वैदेशिक रोजगारीमा विभिन्न देशमा रहेका आ–आफ्ना परिवारका सदस्यलाई आईएमई गर्न खबर पुगिसकेको छ। रेमिटेन्सबाट भित्रिने रकम खाद्यान्नमा खर्च हुने राष्ट्रिय तथ्यांकमा यस वर्ष झुम्लावाङवासीहरूको पनि योगदान हुनेछ। परिवारका सदस्य वैदेशिक रोजगारीमा नभएकाहरू भने ऋण काढ्न गाउँघरमा धाइरहेका छन्। स्थानीय साहुसँग ३० देखि ४० प्रतिशतसम्म ब्याजदरमा लिने ऋणले उनीहरूलाई थप गरीबीको भासमा धकेल्ने देखिन्छ।

यो वर्ष अनिकालको मात्र समस्या नभई कोरोना महाव्याधिले पनि च्यापिरहेको छ। संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञा थपिने क्रम जारी छ। वर्षायाम पनि परेको छ। भाउजू वीरमती वेलावेला गुनासो गर्छिन्, “भगवान्‌ले पनि के गर्‍या होलान्, काल र अनिकाल सँगसँगै पठाइदिएर!”

संक्रमण जोखिम बढेपछि लगाउनुपर्ने निषेधाज्ञा र अनिकालका कारण स्थानीय जनता भोकभोकै मर्ने जोखिमबारे गत फागुनमै गाउँपालिकाका अध्यक्ष रामसुर बुढासँग कुरा गरेको भुमे गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिलमान रोकाले बताए। उनले भने, “शहरी क्षेत्रमा त ढुवानीमा समस्या नै रहँदैन, झुम्लावाङ, क्याङ्सी जस्ता गाउँमा वर्षायाममा बाढीपहिरोका कारण ढुवानीमा अवरोध मात्र हुँदैन, महँगो पनि पर्छ।”

अहिले झुम्लावाङ भिलेज फाउन्डेसन र झुम्लावाङ ग्रामीण सहकारीको सहकार्यमा केही अत्यावश्यक खाद्यान्न दाङबाट ल्याइएको छ।

गाउँपालिका प्रमुख अधिकृत चन्द्रसिंह श्रेष्ठका अनुसार, अनिकालले अति जोखिममा रहेकाहरू थप समस्यामा नपरून् भनेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई राहतको खाद्यान्नका लागि चिठी लेखिसकेको बताए।

भुमे गाउँपालिकाले पारम्परिक ज्ञानको संवर्द्धन र प्रवर्द्धन गर्दै आधुनिक रूपमा कृषि गर्ने योजना बनाएको छ। गाउँपालिकाले खावाङ, काँक्री र गुनाम गाउँको वर्षे गोठ रहेको मारिङमा कृषि अध्ययन–अनुसन्धानका लागि क्षेत्र छुट्याएर विभिन्न खाद्यबालीको परीक्षण गर्दै आएको छ। खेतबारी बाँझो नराख्ने नीति अवलम्बन गर्दै युवाहरूलाई कृषिमा आकर्षण गर्न विविध परियोजनाहरूमा अनुदान र सहुलियत पनि दिइरहेको गाउँपालिकाले जनाएको छ।

तर, राम्रो कृषि उत्पादनका लागि ‘जल, मल र बल’ सबथोक चाहिन्छ। जब कि शिक्षा र रोजगारीका लागि युवाहरूको शहर र विदेश पलायनका कारण गाउँमा कृषिका लागि आवश्यक जनशक्ति छैन। त्यसैले खेती भइरहेका ठाउँमा पनि राम्रो उत्पादन नभइरहेको गाउँका वृद्धवृद्धा बताउँछन्। झन् समय–समयमा भइरहेको खडेरी र अतिवृष्टिका कारणले युवाहरूलाई कृषिप्रति निरुत्साहित गर्ने देखिन्छ।

युवा कृषक भीमप्रसाद श्रेष्ठ खेतीबालीमा काम गर्दागर्दै पनि भोकै मर्ने अवस्था बढेकोमा चिन्तित छन्। “यसरी ६ महीनाको मिहिनेत खेर गएपछि कृषितिर कोही कसरी आउलान्!” उनी भन्छन्।

साउदी अरबमा झन्डै आठ वर्ष रोजगारी गरेर फर्केका भीम केही वर्षयता कृषि कर्ममा लागेका छन्। सरकारले ल्याउने कार्यक्रममा सहभागी हुन प्रयास गर्ने उनलाई कतिपय कार्यक्रम व्यावहारिक नभएकोमा असन्तुष्टि छ। उनी भन्छन्, “हाम्रो जस्तो ठाउँमा चक्लाबन्दी खेतीको कार्यक्रम व्यावहारिक हुँदैन। तराईको परियोजना पहाडमा ल्याएर कसरी मिल्छ र!”

कृषिमा निर्भर झुम्लावाङलाई बजारसँग जोड्न र कृषिमा आधुनिकीकरण गर्न सके यो क्षेत्र राम्रो आयस्रोतको आधार हुनसक्ने उनको ठहर छ।

भविष्यमा स्थानीय कृषिलाई खाद्य सुरक्षासँगै आयस्रोतको मूल आधार बनाउने सपना बुन्दै गर्दा अहिले झुम्लावाङका बासिन्दालाई आउँदो गहुँ बालीमा कहाँबाट बीउ जुटाउने भन्ने पीर परेको छ। मकै बाली पनि मासिने हो कि भन्ने चिन्ता छ।

चट्याङ गर्जिँदै दर्केर पानी पर्दा आमा आकाशतिर हेर्दै कराउनुहुन्छ, ‘थुइयाऽऽ चिर्को पर्ने सर्ग! कस्तो राम देखा होलाई!’ (चट्याङ पर्ने आकाश, कस्तो नाटक देखाएको होला!)

आमाको आक्रोशमा जलवायु परिवर्तनले निम्त्याएको कठिनाइसँग किसानले गर्नुपरेको कठिन संघर्षको पीडा देखिन्छ। (हिमालखबर बाट)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार