म एक निर्धो बेहक नागरिक हुँ…..

म एक निर्धो बेहक नागरिक हुँ…..

हरेक पल्ट
फेरिने शासनले
तिमीलाई नै
आसन बनाउँछ
म त संधैभर
तिम्रो शासनको
डन्डा खाने
म एक निर्धो
बेहक नागरिक हुँ ।।
हरेक पल्ट
फेरिने शासनले
तिम्रो महल बन्छ
तिम्रो सान र मान चुलिन्छ
तिम्रो कथा फेरिन्छ
तिम्रो इतिहास फेरिन्छ
तर
न मेरो कथा फेरिन्छ
न मेरो इतिहास फेरिन्छ
खाली
म एक निर्धो
बेहक नागरिक हुँ ।।
हरेक पल्ट
फेरिने शासनले
तिम्रो जीवन बदलिन्छ
तिम्रो भाग्य चम्किन्छ
तिम्रो बर्ग फेरिन्छ
तर
न मेरो जीवन बदलिन्छ
न मेरो भाग्य चम्किन्छ
म एक निर्धो
बेहक नागरिक हुँ ।।
हरेक पल्ट
फेरिने शासनले
तिम्रो रबाफ फेरिन्छ
तिम्रो मिजास फेरिन्छ
तिम्रो अभ्युदय हुन्छ
तर
तिम्रो पैतलाले
कुल्चिरहने
भुँइ मान्छे
म एक निर्धो
बेहक नागरिक हुँ ।।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार