‘मुसिकोट’ कि ‘मुसीकोट’ ?

krishi
Duduwa Corona

‘मुसिकोट’ कि ‘मुसीकोट’ ?

  •  
  •  
  •  
  •  
  •  
  •  
नेपालमा मुसीकोट नामका स्थलहरू अलग अलग दुई भौगोलिक क्षेत्रमा रहेका छन् । स्थानविशेषबाट नाम जुराइएका मुसीकोट नगरपालिकाहरू दुईवटा छन् । एउटा लुम्बिनी प्रदेशअन्तर्गत गुल्मी जिल्लामा रहेको छ भने अर्को कर्णाली प्रदेशअन्तर्गत रूकुम (पश्चिम) जिल्ला अन्तर्गत । दुवै नगरपालिकाहरू पहाडी भूभागतर्फको मध्यपहाडी लोकमार्गको आसपासमा रहेका छन् । दुवै नगरपालिका आआफ्नो जिल्लाभित्रका सामाजिक, आर्थिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण छन् ।
गुल्मी भित्रको मुसीकोटको नामाकरणको आधार मुसा हो । कोटको डाँडोमा मुसाका खोरहरू निकै पाइएको हुँदा मुसीकोट रहन गएको भन्ने किम्वदन्ती रहेको छ । मुसी नामकी सुसारेले पत्ता लगाएको स्थान भएको जनश्रुतिको आधारमा रूकुम पश्चिमभित्रको मुसीकोटको नामाकरण गरिएको भन्ने गरिन्छ ।
यस लेखको उद्देश्य यी दुवै मुसीकोटको भिन्नता वा समानता छुट्याउनु भने होइन । लेख्यभाषामा ‘मुसिकोट’ प्रयोग गर्ने कि ‘मुसीकोट’ प्रयोग गर्नुपर्ने हो ? भनी भाषाविद् तथा भाषाका विद्यार्थीहरुबीच बहस चलाउनु मात्र यस लेखको उद्देश्य हो ।
हुन त ‘मुसी’ र ‘मुसि’ बीचको उच्चारणभेद त्यति देखिँदैन । भाषा र वर्णविन्यासलाई उपेक्षा गर्ने व्यक्तिहरूले जुन ‘मुसी’ प्रयोग गरे पनि तात्त्विक अन्तर देख्दैनन् । ‘दिन’ र ‘दीन’, ‘फुल’ र ‘फूल’, ‘जुन’ र ‘जून’लाई एउटै देख्ने नजरअन्दाजीहरुको लागि भन्नु केही छैन । तर जुन भाषाको कारणले मान्छेलाई पशु समाजबाट अलग गर्यो त्यसलाई खेलाँचीको विषय ठान्नुहुँदैन भन्ने अपेक्षा हो । कुनै पनि शब्दको मनलागी जथाभावी प्रयोग गर्नु राम्रो होइन । विकासका अन्य अवयवजस्तै भाषाको पनि आफ्नै निश्चित मानक हुन्छ र हुनुपर्छ । मानक तर्क र विश्लेषणबाट निस्कन्छ ।
नेपाली व्याकरणअनुसार ‘मुसी’ र ‘कोट’को सन्धीबाट समस्त शब्द ‘मुसीकोट’ बनेको हो । नेपाली बृहत शब्दकोषभित्र मुसीकोटसँग मिल्दाजुल्दा शब्दहरू जस्तैः पेटीकोट, चरीकोट, कालीकोट, खाँचीकोट, कास्कीकोट, सानीमा, कालीमाटी, रातीगेडी, लालीगुराँस, बूढीमाउ, कालीमुन्टे, कालीदह, नदीनाला आदि शब्दहरू पनि परेका छन् । यी सबै शब्दहरूमा पूर्वपदको अन्तमा आउने ‘ई’कारलाई परिवर्तन नगरी दीर्घ ‘ई’कार नै राखेको देखिन्छ । जस्तैः लाली+गुराँस = लालीगुराँस ।
तर त्यसरी नै बन्ने समस्त शब्दहरूजस्तैः लामिछाने, कालिगढ, मन्त्रिपरिषद् आदि शब्दहरू पनि उक्त बृहतकोषभित्र परेका छन् । यहाँ दुई भिन्नाभिन्नै शब्दहरूको सन्धी हुँदा पूर्वपदको अन्तिम अक्षरको ‘ई’ कार परिवर्तन भएर ह्रस्व ‘इ’कार बन्न पुगेको देखिन्छ । जस्तैः काली+गढ = कालिगढ ।
उल्लिखित उदाहरणहरूमध्ये पहिलो उदाहरणका शब्दहरू कर्मधारय समासका उदाहरणहरू हुन् । ती शब्दमा पूर्वपदमा नाम वा विशेषण र उत्तरपदमा नाम पदहरू छन् । कर्मधारय समासमा उत्तरपदले बढी महत्त्व बोकेको हुन्छ । जस्तो कि ‘मुसी’ र ‘कोट’ दुवै नाम पदहरू हुन् र उत्तरपद ‘कोट’ ले प्रधान अर्थ बोक्दछ ।
मेरो विचारमा दोस्रो उदाहरणचाँहि बहुब्रिही समासको उदाहरण हो । बहुब्रिही समासमा अलग अलग शब्दहरूको सन्धीबाट व्यूत्पन्न शब्दले पूर्वपद र उत्तरपद दुवैको अर्थलाई छोडेर छुट्टै अर्थ दिन्छ । जस्तैः ‘लामिछाने’ थरले अहिले पनि लामो छानो भएको घरमा बस्नेहरू भनी बुझाउँदैन वा कालो खालको गढमा बस्नेलाई कालिगढ भनिँदैन । यसमा अपवादको रूपमा आएको मन्त्रिपरिषद् शब्द भने तत्पुरुष समास (मन्त्रीको परिषद्) भित्र पर्दछ । हुनसक्छ नेपाली भाषा वा यसको माउ संस्कृत भाषामा पूर्वपदको अन्तिममा आउने अक्षर र उत्तर पदको सुरुमा आउने अक्षरको सन्धी हुँदा विलय हुने वा नहुने कुनै निश्चित सिद्धान्त पनि हुनसक्छ, त्यो कुरा भाषाविदलाई सोधेर पत्ता लगाउन सकिन्छ ।
यस हिसाबले अन्तिममा ईकार आउने स्त्रीलिङ्गी नाम पद ‘मुसी’ र गढ वा चुली जनाउने नामपद ‘कोट’को समस्त शब्द कर्मधारय समासको नियमअनुसार बनेको हुँदा ‘मुसिकोट’ लेख्नुभन्दा ‘मुसीकोट’ लेख्नु उपयुक्त देखिन्छ । सेरिगाउँ लेख्नुभन्दा सेरीगाउँ लेख्नु शुद्ध हुनसक्छ ।
यो पङ्क्तिकार २०७५ सालको सुरुवाती समयमा बजेट निर्माणको सिलसिलामा रूकुम (पश्चिम) को मुसीकोट नगरपालिकाको कार्यालयमा पुग्दा ‘मुसिकोट’ वा ‘मुसीकोट’ मध्ये एउटा मात्र प्रयोगमा आउने गरी मानक शब्द तयार गरौँ भन्ने पहिलो प्रस्ताव राखेको थियो । तर त्यो प्रस्तावलाई गहन रूपमा नलिइएको भन्ने कुरा अहिले पनि नगरपालिकाको पहिचान बोक्ने नामजस्तो महत्त्वपूर्ण शब्दको जथाभावी प्रयोगले देखाउँदछ ।
२०७७ माघमा पुनः उक्त कार्यालयमा पुग्दा नगर-प्रमुख, सामाजिक विषयक्षेत्रका संयोजक र निमित्त कार्यकारी-प्रमुखलाई भेट गरी तीनवटा प्रस्ताव पेश गरिएको थियो । ती थिएः
(१) नगरपालिकाभित्रको सांस्कृतिक पहिचान, प्रदर्शनकारी कला र लोकसाहित्यसम्त्रन्धी अध्ययन अनुसन्धान गराउनुपर्ने,
(२) मुसीकोटको महत्ता दर्शाउने खालको मुसीकोट वृत्तचित्रको परिमार्जन वा यस्तै श्रव्य दृश्यचित्र तयार गरी प्रचारमा ल्याउने र
(३) भाषा तथा लोकसाहित्यका विद्वानहरूको सभा/सम्मेलन आयोजना गरी नगरपालिकाको साख तथा परिचय बाहिर विस्तार गर्ने एवम् संरक्षण तथा संवर्द्धनको लागि स्थानीय भाषा साहित्यप्रेमीलाई घचघच्याउने ।
छलफल हुँदा तीनवटै प्रस्ताव उपयुक्त रहेकोले सोको लागि बजेट तथा कार्यक्रम बनाई कार्यान्वयन गर्ने आश्वासन जिम्मेवार व्यक्तिहरूबाट प्राप्त भएको थियो । तर समयको अन्तरालमा ती प्रस्तावहरूउपर नगरस्तरबाट कुनै कारवाही अगाडि बढाइएको पाइएन । विडम्बनापूर्ण कुरा त के छ भने हरेक वर्ष दश करोडको हाराहारीमा बजेट तर्जुमा गर्ने नगरपालिकाले भाषा, साहित्य तथा संस्कृतिको विकासको निम्ति कनीकुथी मुस्किलले एकदुई लाख रुपैयाँको बजेट मात्र छुट्याइदिन्छ । त्यति बजेट प्राप्त गर्नको लागि राप्ती साहित्य परिषद् जिल्ला शाखाका साथीहरू प्रस्ताव लिएर महिनौँ नगरपालिकाको कार्यालयमा धाएर निकै समय, परिश्रम र पसिना बगाउनुपर्ने बाध्यता छ ।
साहित्यिक सम्मेलन तथा भाषा तथा लोकसाहित्यको विकासलाई प्राथमिकता दिइएका उदाहरणहरूको खोजी गर्न धेरै टाढा जानुपर्दैन । रूकुमसँगै काँध जोडिएका म्याग्दी, रोल्पा तथा जाजरकोटमा समेत भाषा साहित्यतर्फ राम्रै बजेट छुट्याइएको पाइन्छ र त्यहाँ वर्षेनी महत्त्वपूर्ण सभा सम्मेलनहरू भइरहेका हुन्छन् । लोकसाहित्य तथा भाषा संस्कृतिको जगेर्नाको लागि विचार विमर्श गर्ने थलो उपलब्ध गराइएको हुन्छ । भाषा साहित्यको लागि समय, श्रम र पसिना बगाउनेहरूको उचित मूल्याङ्कन हुन्छ र वार्षिक नगरसभाहरूमा पुरस्कृत हुनेको लम्बेतान लिष्टमा भाषा साहित्यको क्षेत्रमा दुखजिलो गर्नेको नाम पनि अट्छ ।
अर्को उदाहरण, दुल्लु नगरपालिकाले दैलेखी लोकसाहित्यको अध्ययन अनुसन्धानको लागि स्थानीय साहित्यकार नारायणप्रसाद तिमिल्सेनालाई जिम्मा दिएको थियो । उहाँले बडो मिहेनतका साथ सङ्कलन गरेको लोकसाहित्य सम्बन्धी अनुसन्धानमूलक कृतिलाई दुल्लू नगरपालिका आफैले प्रकाशन गरिदियो र त्यो सम्पत्ति दुल्लू नगरपालिकाको महत्त्वपूर्ण सम्पत्तिको रुपमा संरक्षित भएको छ । दुल्लूको लोकसाहित्य पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म परिचित हुन पुगेको छ ।
रूकुममा पनि जिम्मेवारी सुम्पिइएमा स्वयमसेवककै रूपमा अध्ययन अनुसन्धानमा लागिपर्ने भाषा साहित्यका विद्यार्थीहरू वा स्थानीय साहित्यकारहरूको खाँचो छैन । नगरपालिका वा गाउँपालिकास्तरबाट आफ्नो बजेटको ९९.५ प्रतिशत विभिन्न विकास निर्माणका कार्यक्रमहरूमा छुट्याई बाँकी ०.५ प्रतिशत बजेट मात्र भाषा साहित्यको विकासको लागि छुट्याइदिए पनि रूकुमको विकास निर्माण अवरूद्ध भैहाल्ने देखिँदैन । बरु अध्ययन अनुसन्धानबाट पत्ता लागेको रहस्यमय कुराहरूको महत्त्व लगानीभन्दा लाखौँ गुणा महत्त्वका हुनेछन् ।
पछिल्लो पुस्ताले आफ्नो पुर्खाको सम्पत्ति हेर्न चाहेको छ, बुझ्न चाहेको छ र त्यसको संरक्षण र संवर्द्धन गर्न निकै उत्सुक छ । अरूमा गरेको लगानी डुब्न सक्ला तर भाषा साहित्यमा गरेको लगानी कहिल्यै डुब्दैन । भाषा साहित्यले नै मान्छेलाई यो सभ्य अवस्थामा ल्याइपुर्याएको हो ।
मुसीकोट नगरपालिकाले यस वर्ष नगरप्रमुख साहित्य पुरस्कारको लागि अक्षय कोष स्थापना गरिदिएको भन्ने कुरा सुन्नमा आएको छ । योचाँहि रूकुमेली साहित्यको लागि आशलाग्दो कदम हो ।
लोकसाहित्यको अध्ययन गराउने काम पछि आफ्नो अनुकुल समयमा गराउँला भन्ने सजिलो र सामान्य कुरा होइन । जिल्लाको सीमा, इतिहास र वस्तुस्थितिको लागि स्मृतिसङ्ग्रहका रूपमा रहेका बूढापाकाहरूले आफ्नो अनुभव, ज्ञान तथा सूचना पछिल्लो पुस्तामा हस्तान्तरण गर्न नपाई यस संसारबाटै दिनहुँ भकाभक अस्ताइरहेका छन् । विभिन्न पुरातात्विक महत्त्वका सम्पदाहरू मानवीय तथा प्राकृतिक उथपुथलका कारणले वर्षेनी नष्ट हुँदै गइरहेका छन् । यसरी ख्यालख्यालै गुमिरहेको अमूल्य सम्पत्ति कुनै हालतमा पनि भोलि पुनः प्राप्त हुन सक्नेछैन । सदाकालको लागि गुमाउनु भनेको चानचुने क्षतिको कुरा होइन ।
यस क्षेत्रमा लगानी गर्न सक्नेले कुनै पूर्वाग्रह नराखी लगानी गरौँ । कर्मक्षेत्रमा खट्न सक्नेहरूले लोभलालचको पछि नलागी कर्ममैदानमा जुटौँ । हातेमालो गर्न चाहनेले हात र साथ दिऔँ । जान्नेबुझ्नेले सुझाव दिन नहिच्किचाऔँ । होस्टेहैँसे गर्नेहरूले आफ्नो पहिचानको लागि अघि बढेकालाई विभिन्न पत्रपत्रिका वा मञ्चहरूमा वौद्धिक बहसमार्फत दिशा निर्देश र प्रोत्साहित गरौँ । सबैको लागि सबैले मिलेर केही गरौँ । समाजबाट लिएर समाजलाई नै केही दिऔँ । जय मुसीकोट !
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार