विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने

विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने आदेश जारी गरेको छ । यदि पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ ।

साथै विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने प्रशासनले असोज १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि जारी गरेको आदेशमा भनिएको छ ।

प्रशासनले बिहीबार जारी गरेको आदेशमा अभिभावक तथा सरोकारवाला समूहहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहनुपर्ने पनि उल्लेख गरेको छ ।

तोकिएका मापदण्ड पूरा नगरी कतिपय विद्यालयहरुले भोलिदेखि विद्यालय सञ्चालनको तयारी गरेको सन्दर्भमा प्रशासनले यस्तो आदेश जारी गरेको हो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार