मृत्युपछि के हुन्छ ?

मृत्युपछि के हुन्छ ?

मानव उत्पतिसँगै अहिलेसम्म
मनुष्य जातिकै मस्तिष्क खलबल्याइरहेको
सबै सबैको एउटा जिज्ञासा
सबै सबैको एउटा अनुत्तरित प्रश्न
मृत्यु पश्चात् केे हुन्छ ?
मरेर कहाँ जान्छ मानिस?
मान्छे जन्मियो अनि मर्यो
भौतिक शरीरसँगै सबथोक समाप्त भयो
भनेर व्याख्या गर्छन् नास्तिकहरु
अर्कोतिर
मानिसले मृत्युपछि पनि
पुण्य र पापको फल भोग्नु पर्छ रे
पुण्यात्मा र सत्कर्मीहरु
सुख भोग्न जान्छन् रे स्वर्गमा
पापी र अधर्मीहरु
दु:ख भोग्छन् रे नरकमा भन्दै
आस्ता र विश्वास गर्छन् आस्तिकहरु
वास्तवमा सत्य के हो?
मृत्युुपछि हरेक मानिसले
प्रारब्धको फल भोग्नै पर्छ?
यदि त्यो सत्य होभने
अभिमान, कुण्ठा, ईर्ष्या, व्यभिचार, दुष्कर्म
र मोहरुपि जालले व्याप्त आजको मानव
तिनीहरूले गरेका सत्कर्म र कुकर्महरु
मनुष्यका कर्म हेर्ने साक्षीहरुले
हेर्लान कि नहेर्लान्?
चण्ड या प्रचण्ड नामक यमदूतहरुले
को कोलाई लिएर जालान् स्वर्ग या नरकमा?
साँच्चिकै यमदूतहरुले
पेल्छन् कि पेल्दैनन् दुष्कर्मीहरुलाई कोलहरुमा?
भुट्छन् कि भुट्दैनन् दुराचारीहरुलाई तेलको कराहीमा?
चिर्छन् कि चिर्दैनन् बलात्कारीहरुलाई आराले उनका शरीर?
पुर्याउँछन् कि पुर्याउँदैनन् अपराधीलाई कुम्भीपाकादि नरकहरुमा?
डुबाउँछन् कि डुबाउँदैनन् पापीहरुलाई वैतरणी नदीमा?
अथवा
धर्मात्मा र पुण्यात्माहरु
पुग्छन् कि पुग्दैनन् भय,चिन्ता र अभावरहित वैकुण्ठमा?
दानी, धर्मी र परोपकारीहरु
जान्छन् कि जाँदैनन् अमरावती स्वर्गपुरी?
साँच्चिकै शुभाशुभ कर्मको छानबिन
गर्छन् कि नाइँ पितृदेव यमराजले?
यी अमूर्त र अदृश्यताको
अस्तित्व र अनस्तित्वरुपि
चिन्तनको गर्तमा रुमल्लिएर
विभाजित छ आज सिङ्गो मानव जगत
युगौँयुग पूर्व
तेत्रा तथा द्वापर युगमा
धर्म रअधर्मको लडाइँको नाममा
कति जलेहोलान् लङ्का युद्धमा ?
कति मारिएहोलान् कुरु क्षेत्रमा?
स्वर्ग या नरक
कहाँ कहाँ पुगेहोलान् तिनीहरू ?
इहलोक या परलोकको
अस्तित्व वा अनस्तित्वको
स्वीकार वा अस्वीकारको
अनुमानको महासागरमा पौडन सकिनँ म
मैले देखेको
र अरु सबै सबैले देखेको
एउटा अकाट्य वास्तविकता
मृत्युपश्चात
जिउँदाको एउटा जन्ती घट्यो
मुर्दाको सद्गतिको लागि एउटा मलामी घट्यो
पूजाआजा र बिबाहवर्तनको लागि एउटा निम्तारु घट्यो
ब्राह्मणादि तथा गरिबगुरुवाहरुको लागि एकमुठी दान घट्यो
अब काम लाग्दैन बैंकलाई
उसको दस्तखद नमुनाकार्ड
अब मेटियो उसको नाम
जमिनको लालपुर्जाबाट
हटाइयो उसको नाम
मतदाता नामावली सूचीबाट
अब समावेश छैन उसको नाम
गाउँको घरधुरी सूचीपत्रमा
आउँदैन अब उसको मोबाइलमा
उसका आफन्तहरुको घण्टी
पाउँदैनन् अब कसैले
उबाट ढोग वा आशीर्वाद
गाउँघर, वनपाखा, बाटाघाटा कतै पनि
देखिने छैनन् अब उसका पाइलाका डोबहरु
काम लाग्दैन अब उसलाई
जीवनमा उसले जोडेका वस्तुहरु
उसका नाताकुटुम्ब, हितैषी तथा परहितैषीहरु
र उसले जीवनमा भोग गरेका सबथोकहरु
मृत्युपछि बेकाम हुनेछ उसको सम्पूर्ण जीवित संसार
मैले र अरुले पनि देखेको
मृत्यु पश्चातको यथार्थता यही नै हो कि?

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार