रुकुमको सोती घटना : वादी पक्षका १२ साक्षीको बकपत्र सकियो

रुकुमको सोती घटना : वादी पक्षका १२ साक्षीको बकपत्र सकियो

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ को सोती गाउँमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका वादी पक्षको आजबाट अदालतमा बकपत्र सुरु भएको छ ।

हिजो मंगलबार दुवैपक्षका साक्षीहरुको हाजिर गरेर बकपत्र प्रारम्भ गरिएको थियो । रुकुम जिल्ला अदालतमा वादी पक्षका १२ जना साक्षीहरुको बकपत्रको कार्य सकिएको श्रेष्तेदार कृतबहादुर बोहराले बताउनुभयो ।

उक्त घटनाका १२ जना घाईते सहित वादी तर्फका ३९ जना साक्षीले बकपत्र गर्नेछन् । आज १२ जनाको वत्रपत्र गराईएको छ भने भोलि बाँकि २७ जनाको वकपत्र हुनेछ । त्यसपछि प्रतिवादी तर्फका साक्षीहरुको वकपत्र हुने छ । प्रतिवादी तर्फका २३ लाई मंगलबार नै बकपत्रको लागि हाजिरी गराईएको हो। श्रेष्तेदार बोहराका अनुसार शुक्रबार सम्म वकपत्र गराईसकिने अनुमान गरिएको छ ।

सोती घटनामा संग्लग्न भएको आरोपमा सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातिय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो ।

ती मध्ये २३ आरोपीलाई पुर्पक्षका लागि कारागारमा राखिएको र ११ जना तारेखमा छाडिएका छन् । अदालतले शुरु थुनछेक आदेशबाट वारदात गर्न षड्यन्त्र गरेको आरोप लागेकी केटीकी आमालाई रु. एक लाख धरौटीमा तथा घटनाका आरोपी दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र मतियारको आरोप लागेका इन्द्रबहादुर मल्ललाई सादा तारेखमा रहने गरी पुर्पक्ष गरेको थियो ।

बाल सुधारगृहमा रहेकी नवराजकी प्रेमिका भनिएकी १७ बर्षिया किशोरी र एक किशोरलाई आभिभावकको जिम्मा रहने गरी उच्च अदालत सुर्खेतले साधारण तारिखमा छाडेको थियो । त्यस्तै सर्वाेच्च अदालतले घटनाका आरोपी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, शौरभ पुन र भीमबहादुर घर्तिलाई पनि साधारण तारिखमै छाडेको थियो ।

२०७७ जेठ १० गते जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिका १ का टीकाराम नेपालीको उक्त घटनामा मृत्यु भएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।

सो घटनाबारे छानविन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल (हालका शिक्षामन्त्री) को नेतृत्वमा संसदीय समिति गठन गरिएको थियो । सो समितिले सोती घटना नियोजित भएको निष्कर्ष निकालेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार