उतिखेर २०४८ सालको निर्वाचनमा हाल सानीभेरी एफएम बसेको घरको अगाडि (पुराना माओवादी नेता कुवेर ओलीको स्वामित्वमा भएपनि हाल विक्री भइसकेको) घर को तल्लो तलाको छेउको कोठामा थिए जनार्दन शर्मा । झुम्म दारी पालेका उतिखेरका हाम्रा आदर्श व्यक्ति उनै प्रभाकर । रुकुम क्षेत्र नम्वर २ को निर्वाचनको मतगणना भइरहेको थियो । १ नम्बरबाट त खड्गबहादुर बुढा १० हजार भन्दा बढी मतको अन्तरले विजय उन्मुख थिए । निर्वाचन क्षेत्र नम्वर २ मा गोपाल जि जङ्ग शाह र जनार्दन शर्माको कडा टक्कर थियो । मतगणना स्थल भित्रबाट एकजनाले लहरेसिमलको मतगणना भइरहेको र अब धेरै बाँकी नभएको खबर ल्यायो । यति उति हिसावकिताब सुनायो । उनै जनार्दनले झुम्म पालेका लामालामा दारी मुसार्दै भने “मत भए आइजाला¸ नभए के गर्ने त !” केही समयपछि करीब ९०० मतान्तरले गोपाल जि जङ्ग शाहले चुनाव जिते । जनार्दन शर्मा पराजित भए । उतिखेरका निख्खुर क्रान्तिकारी जनार्दनलाई चुनाव लड्न मनाउन प्रचन्ड पनि आएका थिए रुकुम भन्ने सुनेको थिएँ उतिखेरै । सही साँचो के हो खासै आधिकारीक जानकारी त भएन । त्यतिबेला प्रचन्डको खासै परिचय पनि थिएन डा.बाबुराम भट्टराइ जति ।
त्यसपछि २०५२ देखि जे हुनु भइहाल्यो । सबैलाई ज्ञात नै छ । जनार्दन नेपाली राजनीतिमा उदाए । नेपाली राजनीतिमा उनको भुमिका विस्तारसंगै रुकुममा पनि प्रभाव बढ्दै गयो । पहिले स्वयम् उनकै वडामा पनि काँग्रेसकै बर्चस्व थियो । उनको निर्वाचन क्षेत्रमा पर्ने छिवाङ्ग¸ चौरजहारी¸ अर्मा¸ मुरु लगायतका ठाउँमा काँग्रेसको मत धेरै थियो । उनको जन्मस्थान खलंगा गाविस भने क्षेत्र नम्वर १ मा पर्थ्यो । बहुदल प्राप्तिपछि पहिलोपटक भएको स्थानीय निकाय निर्वाचनमा तत्कालिन खलंगा गाविसमा वडा नम्वर ६ (सोलाबाङ्ग) र ७ (ठाराढुङ्गा) बाहेक बाँकी सबै वडामा काँग्रेस विजयी भएको थियो । ठाउँठाउँबाट सामना परिवारको साँस्कृतिक टोली लखेटिएको थियो भने स्वयम प्रभाकर छिबाङ्गज्युलातिर घेरावन्दीमा परेका थिए । माओवादी आन्दोलनको उदयसंगै क्रमश: काँग्रेस किनारा पर्यो । २०६४ सालको निर्वाचनसम्म आउंदा रुकुममा माओवादी बाहेक अरुले जित्ने सम्भावना हुने कुरै भएन । तैपनि निकटतम प्रतिद्वन्दी काँग्रेस नै थियो ।
२०७४ को स्थानीय तहको निर्वाचनसम्म कांग्रेस रुकुमका केही वडा तहसम्म सीमित रह्यो भने सबै पालिका¸ प्रतिनिधि सभा¸ प्रदेश सबैतिर माओवादी नै विजयी भयो । अहिले पनि भित्रभित्र पसेर हेर्दा माओवादीको जनमतमा भारी गिरावट आएको देखिदैन । प्रभाकरको पहलमा रुकुममा धेरै विकास पनि भएको छ । तर पनि अल्पविकसित देश नेपालमा सबैका इच्छा¸ आकांक्षा र आवश्यकता परिपुर्ती नभएपछि सत्तासंगका असन्तुष्टी गुनासाहरु बढ्छन् । धेरै असन्तुष्टीहरुलाई नेतृत्व गर्नसक्ने पार्टीले नै चुनाव जितेको इतिहास छ । संघियतापछि स्थानीय तहमा माओवादीको एकछत्र राजपछि काग्रेसका पनि धेरै मान्छेहरु माओवादी भएका छन् । र माओवादीका पनि धेरै मान्छेहरु काँग्रेस भएका छन् । असन्तुष्टीको समष्टिगत विश्लेषण गर्दा काँग्रेसभन्दा माओवादी भित्र धेरै बढी देखिन्छ । किनकी सत्ता र सरकारले सम्बोधन गर्न नसकेकाहरुमा असन्तुष्टीहरु केही बढी हुने नै भए । काँग्रेसमा भने गुटगत र व्यक्तिगत असन्तुष्टीहरु देखिन्छन् ।
त्यस्तै स्थानीय तहको निर्माणपछि केही रैथाने टाठाबाठा¸ बुद्धिजिवी¸ पेशाकर्मीहरु पनि सत्तारुढ माओवादीप्रति अली धेरै बिच्किएका छन् । गाउँगाउँमा जरो गाडेका शिक्षकहरु जसले प्रत्येक वडा र टोलमा केही मत यताउता तलमाथी पार्ने सामर्थ्य राख्छन ति माओवादीको व्यवहारबाट आजित छन् । तर बाध्यतावश माओवादीकै संघ¸ संगठनमा आवद्ध हुन विवश छन् । शिक्षकका संघ¸ संगठनको मागलाई सम्बोधन गर्दै केन्द्र सरकार र अर्थमन्त्री जनार्दन शर्माको चलाखीले यही मौकामा रुकुम पश्चिमका शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । हुनत यो प्रशासनिक र सरकारको निर्णय हो तर अहिलेसम्म प्राप्त नुहुनु र जनार्दन शर्मा अर्थमन्त्री हुँदा नै प्राप्त गरेको कारण राजनीतिमा त्यसको धेरथोर भएपनि रणनीतिक लाभ हुने नै भयो । डा रामशरण महत अर्थमन्त्री हुँदा कर्मचारीको पनि स्थानीय भत्ता घटाई ग बर्गको बनाएकोमा उतिखेर पनि कर्मचारी संघ¸ संगठनको संयुक्त आन्दोलनको कारण रुकुम लगायत दश जिल्लाको स्थानीय भत्ता पुर्ववत यथावत राखिएको थियो । तर पनि धेरै पेशाकर्मीहरुको भित्री मन माओवादीप्रति कुँडिएको अवस्था सही साँचो हो । तर उपयुक्त विकल्पको अभावमा छंदाखाँदाको पार्टी¸ संगठन छोड्न सकेका छैनन । उता काँग्रेसका जनवर्गीय र सुभेच्छुक संयन्त्र पनि प्रभावकारी र सक्रिय छैनन । ति व्यक्तिगत कानेखुशी र मनोगत आत्मरतिमा मात्र लीन छन् ।
माओवादीमा स्थान विशेष र क्षेत्र विशेषको आधारमा केही क्षेत्रीयतावादी मुद्दाहरु पनि भित्रभित्रै सल्किरहेका छन् । त्यस्तै जातियता र परिवारवाद, नातागोता, आफन्त र हैकमवादका गुनासाहरु पनि गुन्जिरहेका छन् । नेतृत्वको एकाधिकारवादी सोँचको विरुद्धमा पनि माओवादी भित्र भित्री साँठगाँठ¸ कित्ताकाँट¸ गुटबन्दी र चलखेल भइरहेको छ । केही क्षेत्र र स्थानमा काँग्रेसले ल्याउँछ कि क्याहो अब भन्ने खालका मनोवैज्ञानिक त्रास पनि झल्किन्छन् । विशेषत: स्थानीय तहतिर वैकल्पिक नेतृत्व खडा हुनुपर्छ भन्ने आवाज पनि मुखरित भइरहेका छन् । केही राजनीतिक¸ साँगठनिक¸ कार्य शैलीगत¸ स्वभावगत¸ व्यक्तिगत र केही विगतदेखिकै अन्तरविरोधहरु पनि माओवादी भित्र सल्बलाइरहेका छन् । विवाद र अन्तरविरोधको वीचबाट स्वभावत् मानवीय स्वभाव कहिलेकाही घटनाक्रमहरुको विकासक्रमसंगै विकल्प पनि खोज्न तम्सिने गर्छ । संधै भइरहेको र गरिरहेको भन्दा नयाँ केही छ कि भनी यताउती हेर्ने चलन मान्छेको पुस्तौनी प्रचलन पनि हो । नयाँनयाँ विकल्पको खोजीकै क्रममा मान्छे ढेडुबाँदरबाट मान्छे भएको हो । ढुङ्गे युग जंगली सभ्यताको विकल्प छैन¸ रुखमा¸ ओरालमा बस्नुको विकल्प छैन भनी त्यही मनचित्त बुझाएको भए ओरान्टाङ्ग ढेढु रामापिथेकश हुने थिएन । पशुपति वनकालीकै बाँदर हुने थियो अहिलेसम्म । त्यसैले जन्मजात मानवीय स्वभाव अनुसार नै यताउती आँखा डुलाउनेहरुको पनि संख्या बढिरहेको छ ।
यसै परिवेशमा स्थानीय तह¸ प्रदेश र संघका निर्वाचनहरु नजिक आइरहेका छन् । संघमा कांग्रेसकै नेतृत्वमा सरकार छ भने भर्खरै कर्णाली प्रदेशमा पनि काँग्रेसले मुख्यमन्त्री पड्काउन सफल भएको छ । संघको राजनीतिक कुरा त आफ्नै ठाउँमा छ । त्यसको छुट्टै विश्लेषणको जरुरत पर्छ । कर्णाली प्रदेश जस्तो माओवादीको आधारभुमीमा काँग्रेसजस्तो तेस्रो पोजिसनको पार्टीले मुख्यमन्त्री उछिट्टयाउनु भनेको रणनीतिक रुपमा अर्थपुर्ण र दुरगामी महत्वको विषय हो । कर्णाली प्रदेशका केही निर्वाचन क्षेत्र बाहेक रुकुम लगायत धेरैजसोमा काँग्रेसका उम्मेदवार र नेतृत्वमा चुनाव जित्छौँ भन्ने आत्मविश्वास नै थिएन । कर्णालीको मुख्यमन्त्री प्राप्तीपछि कांग्रेसको आत्मबल बढ्ने देखिन्छ । राजनीतिमा आत्मबलको ठुलो महत्व हुन्छ । कतिपय काँग्रेसका नेता कार्यकर्तालाई प्राविधिक रुपमा काँग्रेस भएपनि आन्तरिक रुपमा सत्तारुढ र शक्तिमा रहेको माओवादीका नेताहरुसंग मिलीभगत गरेर मात्र अवसर प्राप्त गर्नुपर्ने वाध्यता थियो । कार्यकर्ताहरुको संरक्षण र पहुँच विस्तारको लागि सत्ताका निकायहरुमा कांग्रेसको संयन्त्र थिएन । स्थानीय र जिल्लाका नेताहरुको सुझाव केन्द्रले सुनेको देखिदैनथ्यो । कतिपय स्थानमा काँग्रेस बहुमतमा भएपनि सबै कार्यकर्ताले भोट हाल्न सक्ने¸ खुलेर म काँग्रेस हुँ भन्ने वातावरण पनि थिएन । अव यो स्थितिमा केही सुधार हुने देखिन्छ ।
तर पनि काँग्रेसको राष्ट्रिय राजनीतिको भुमिका के रहन्छ ? त्यसको कमवेसी असर स्थानीय तथा प्रदेशमा पनि परिनै हाल्छ । माओवादीको रणनीति त प्रष्टै छ । जे जसरी हुन्छ । लागेपुगेसम्म जो जससंग मिलेर वा लडेर¸ सके सल्लाहबाट नसके जवर्जस्ती भएपनि आफ्नो अस्तित्व कायम गर्ने नै हो । काँग्रेसको प्रतिपक्ष दल एमालेसंग कस्तो किसिमले प्रतिस्पर्धा हुन्छ ? ओली नेतृत्वको एमालेको ओभर कन्फिडेन्स कहाँसम्म पुग्छ ? एमालेको गठबन्धन कोसंग कसरी हुन्छ वा हुँदैन ? ओलीको चातुर्यता¸ वाकपटुता¸ विषयलाई आफ्नो दिशामा मोड्न सक्ने आत्मविश्वास कति प्रभावकारी हुन्छ ? उसका आगामी गतिविधि ओलीको बोलीझैँ आक्रामक र हस्तक्षेपकारी हुन्छन कि बोली एकातिर गतिविधि अर्कोतिर ? अहिल्यै धेरै बोल्न सकिने अवस्था छैन । स्थानीय स्तरमा एमाले र कांग्रेसको राजनीतिक र साँगठनिक मुभ कस्तो रहन्छ ? निर्वाचन परिणाम त्यसमा पनि भरपर्छ । सामान्य तुलना गर्दा जन्मजात रुपमा कम्युनिष्ट जत्तिकै आक्रामक¸ प्रभावकारी र आकर्षक चुनावी अभियान कांग्रेसका हुंदैनन । निर्वाचनमा चुनावी अभियानको पनि ठुलो महत्व रहन्छ । त्यस्तै काँग्रेसले अरु दलभित्रको अन्तरविरोधलाई सही किसिमले सही समयमा पहिचान गर्न सक्दैन । कम्युनिष्टहरुले सबैभन्दा पहिले विरोधीहरुको शक्तिको आँकलन¸ विश्लेषण गरी विरोधीहरुको वीचमा दरार पैदा गरी आक्रमण गर्ने गर्छन । प्रचन्ड जहिले पनि शिखरमा हुनुको एउटै मात्र कार्यकारण त्यही हो । सक्किइसकेको¸ ओझेलमा परिसकेको¸ धुजाधुजा¸ टुक्राटुक्रा¸ तितरवितर परिसकेको माओवादीलाई पटकपटक केन्द्रभागमा पार्ने प्रचन्ड ट्याक्टिस भनेकै विरोधीहरुको विचमा फाटो र टकराव ल्याएर आफुले त्यसमा खेल्ने हो । तर काँग्रेसमा त्यो गर्ने चातुर्यता र कलाकौशल छैन । विरोधीहरुमा देखिएको अन्तरविरोधमा खेल्ने र आफ्नो वर्चस्व विस्तार गर्ने सवालमा काँग्रेस धेरै धिमा र मन्द गतिमा छ ।
समग्र कर्णाली प्रदेशमा साविक एमाले बलीयो पार्टी भए पनि त्यहाँ टुटफुट आएको छ । फुटको प्रत्यक्ष असर निर्वाचनमा परिहाल्छ । आउंदो निर्वाचनमा कर्णाली प्रदेशमा एमालेको आक्रामक संगठन विस्तार हुने अवस्था देखिदैन । रैथाने र प्राचिन एमालेले मात्र विजय होला नहोला त्यसको आँकलन अहिल्यै गर्नसक्ने अवस्था छैन । समग्र प्रदेशको हकमा काँग्रेसको लिडिङ्गमा मिश्रित परिणाम आउने आँकलन गर्न सकिन्छ । तर रुकुम पश्चिम जिल्लाको सन्दर्भमा एमाले तेस्रो स्थानबाट माथि उक्सिन महामुश्किल नै छ । रुकुम पश्चिममा एमालेका गतिविधि साँकेतिक र पार्टीगत अस्तित्व प्रर्दशनमा संकुचित हुने देखिन्छ । रुकुम पश्चिममा एमालेको सक्रियता पहिलेकै तेस्रो स्थानमा पार्टीलाई पुर्याउनु मै सिमित नहोला भन्न सकिन्न । यस्तो अवस्थामा जनता र मतदातामा रहेको असन्तुष्टीहरु¸ ‘एउटा निर्वाचनमा त विकल्प भए पनि ठिकै हुँदो हो’ भन्ने तटस्थ र मध्यमार्गी मतदाताहरुको मनोविज्ञानलाई आफ्नो पोल्टामा पार्न सक्यो भने रुकुम पश्चिमको हकमा माओवादीको विकल्प काँग्रेस नै हुनसक्छ ।
तर काँग्रेसका धेरै स्थानीय र जिल्लास्तरीय नेताहरु सुश्तमनस्थिति र लो ब्लड प्रेसरवाला छन् । पुसमाघ महिनामा बरु नदी किनाराको बगरको ढुङ्गो तातो होला तर केही अपवाद बाहेक रुकुमका काँग्रेसीहरु त्यो भन्दा चिसा छन् । उफरउफरै फुँइ लाउने भुँइको नदेख्ने खालका नेताले तटस्थ र अरुको मत आकर्षणको त कुरै छोडौँ आफ्नै भएको मत पनि पाउन सक्दैनन । चुनावमा काँग्रसकै कार्यकर्ता कांग्रेसलाई नै भोट हाल्न जाँगर लाउंदैनन । कारण भोट त हालिएला भोट हालेर फर्किसकेपछि गाउँको बसाई कत्तिको सुरक्षित रहला ! नेतृत्व र पार्टीले रक्षा संरक्षण गर्ला कि नगर्ला भन्ने विश्वास काँग्रेसजनमा छैन ।
चुनावमा तडगभडगले पनि प्रभाव पार्छ । माओवादीले युवा जमातलाई आकर्षक रुपमा परिचालन गर्दा काँग्रेसका उम्मेदवार फिते झोलामा कट्टा बेलाइती हालेर गाउँमा डुलेका देखिन्छन् । एउटो छापिएको पर्चो पनि पढिसकेपछि फिर्ता माग्ने खालका उम्मेदवारले जनार्दन शर्माहरुको अगाडी चुनावी माहोल कब्जा गर्न गाह्रो छ । सर्वहारावादी पार्टी माओवादीका कार्यक्रम प्रचारप्रसार रङ्गीचङ्गी रहरलाग्दा हुने पुजीपति भनिएको काँग्रेसका कार्यक्रमहरु निरस र खल्ला हुँदा भनेका कुरा सुन्न पनि मान्छहरु जम्मा हुँदैनन । कुरै नसुनी भोट कसरी झर्ला ! जनार्दन शर्माहरु धेरै चलाख र चतुर छन् । जतिखेर तातिएको छ उतिखेरै प्रहार गरिहाल्छन् र परिस्थितिलाई आफु अनुकूल बङ्ग्याइहाल्छन् । काँग्रेसका गुटगत टकरावलाई पनि काँग्रेसीजनले चाल नपाउने गरी मिहिन रुपमा उपयोग गरिहाल्छन् । स्वयम काँग्रेसलाई थाहा हुदैन । काँग्रेसकै प्रतिनिधिको कार्ड भिरेर कतिपय मतदान केन्द्रमा माओवादीले आफ्नो अनुकुल हुनेगरी काँग्रेसलाई नै प्रयोग पनि गरिरहेका हुन्छन । रुकुम चर्को क्रान्तिकारी आधारभुमी भएको ठाउँमा उस्तैको लवस्तरो र शुष्क गति शैलीले कांग्रेसले परिणाम हात पार्ने देखिदैन । टाढैबाट उनीहरुको हाउभाउ¸ गतिविधिको हालसम्मको मनोवैज्ञानिक आँकलन र विश्लेषण गर्दा काँग्रेसका रैथाने नेताहरु अंझै पनि रुकुममा हामी चुनाव जित्छौँ भन्ने आन्तरिक निचोडमा पुगिसकेको अवस्था देखिदैन । उनीहरुको आन्तरिक तयारी पनि त्यो अनुकुल भएका संकेत बाह्य रुपमा प्रतिविम्वित भइरहेका छैनन । कम्युनिष्ठको गढ भत्काउन त्यति सजिलो छैन । त्यसको लागि नेतृत्व¸ संगठन¸ कार्यकर्ताको निश्चित योजना र घनिभुत तयारी सहित आक्रामक रणनीति चाहिन्छ ।
आकर्षण भन्दा पनि बिकर्षणको सिद्दान्त र विकल्पविहीन विकल्पको खोजीमा मान्छेहरु काँग्रेसको सभा¸ समारोहमा थुप्रिए पनि काँग्रेसका नेताहरुमा जित्ने आत्मविश्वास नपलाउन्जेलसम्म अर्को चुनावको परिणाम पनि माओवादीकै पोल्टामा जाने देखिन्छ । कांग्रेसले केही स्थानमा विजयी र केही स्थानमा कडा टक्कर भने दिन सक्छ । यसमा माओवादीसंगको सत्तागठवन्धनको पनि केही प्रभाव रहला । माओवादी काँग्रेसको सत्तागठवन्धन लामो समय टिक्न सक्ने कुनै सैद्धान्तिक र मनोसामाजिक आधार छैन । प्रचन्डले काँग्रेसलाई अडेस लाएर आगामी चुनावी रणनीतिका खाका कोरिरहेका छन् । कांग्रेस माओवादी गठबन्धनमा कांग्रेसले माओवादीलाई भोट हाल्ने सुनिश्चित नभएको अवस्थामा काँग्रेस बाहेक जसपा¸ समाजवादी¸ पुर्व माओवादी लगायतसंग अजेन्डागत र भावनात्मक रुपमा गठबन्धन बन्ने सुनिश्चितता भएको केही मिनेटमै प्रचन्डले शेरबहादुरलाई लात हान्ने निश्चित छ । एमाले र केपी ओलीको प्रतिशोधमा निर्माण भएको यो गठवन्धनको वियोगान्त हुने त निश्चित नै छ । तर वियोगान्त र विछोडको शैली कस्तो हुन्छ ? दुइपक्षको सहमतीमै हुन्छ कि आक्रामक¸ परस्पर दोषारोपन गर्दै¸ एकले अर्कोलाई सत्तोसराफ गर्दै हुन्छ ? त्यसमा पनि अवको चुनावी गतिविधि परिणाम प्रभावित होला । काँग्रेस माओवादीको तिक्तता बढेर¸ दुरी बढेको अवस्थामा प्रचन्ड माओवादीको चुनावी तालमेल अन्य दलसंग हुने सम्भावना छ । यस्तो अवस्थामा चुनावी परिणाममा केही तलमाथी हुनसक्छ ।
समग्रगमा सरसर्ती विश्लेषण गर्दा कर्णाली प्रदेश र रुकुम पश्चिमतिर कांग्रेसको खस्केको मनोबल केही बृद्धि भएकोजस्तो देखिन्छ । उहिल्यैदेखि हराएको र लापत्ता भएको “सातो” फर्किन लागेजस्तो छ । तर रुकुम पश्चिमको सन्दर्भमा हालसम्मका पार्टीगत गतिविधि नियाल्ला माओवादीको वैकल्पिक शक्तिकै रुपमा उदाइसकेको अवस्था भने देखिदैन । बाँकी दिनमा के कस्तो हुन्छ । अनुमान नेपाल डट कम गर्दै गरौँला । धनियापात । नमस्कार । क्रान्तिकारी जय नेपालको लालसलाम ।