यात्रामा सधैं ज्यानै जोखिम

यात्रामा सधैं ज्यानै जोखिम

सल्यान र दाङको सीमामा हालै दुर्घटनाग्रस्त जिप । फाइल तस्बिर

तिहारलगत्तै सल्यानमा भएका दुई सडक दुर्घटनामा १३ जनाको मृत्यु भयो । माइती गएका दिदीबहिनी घर फर्कन पाएनन् । टीका थाप्न गाउँ गएका दाजुभाइ सहर फर्कन पाएनन् । कपुरकोट नजिकै भएको बस दुर्घटनामा १२ जनाको ज्यान गयो भने कालीमाटीमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको थियो ।

अझै दुई दर्जनभन्दा बढी घाइतेहरू अस्पतालमा उपचाररत छन् । चाडपर्वमा क्षमताभन्दा बढी यात्रु बोकेर गाडी गुडाउने गरिन्छ । गएको सोमबार कालीमाटीमा दुर्घटनामा परेको जिपमा २१ यात्रु सवार थिए जबकि जिपको क्षमता १० जना मात्रै हो । हरेक वर्षजसो ठूलो जनधनको क्षति हुने गरी सडक दुर्घटना भइरहेका छन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार हरेक वर्ष दुर्घटना बढिरहेका छन् । आर्थिक वर्ष २०७६/७७ मा प्रदेशका १२ जिल्लामा १ हजार १ सय २२ दुर्घटना भएका थिए । २०७७/७८ मा १ हजार २ सय ११ दुर्घटना भए । चालु आर्थिक वर्षको असोजसम्म मात्रै २ सय ८६ दुर्घटना भइसकेका छन् । आव २०७६/७७ मा दुर्घटनामा परी ४ सय ८३ जनाको मृत्यु भएको थियो भने २०७७/७८ मा ५ सय २६ ले ज्यान गुमाएका थिए । चालु वर्षको असोजसम्म १ सय ९ जनाको मृत्यु भएको लुम्बिनी ट्राफिक प्रमुख एसपी योगेन्द्र थापाले बताए ।

यसैगरी तिहारको अवधिमा मात्रै प्रदेशमा ४४ वटा दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । उनका अनुसार दुर्घटनाका एउटा मात्र कारण छैनन्, चालकको लापरबाही, सडकको दुरवस्था, गाडीको अवस्था, पैदलयात्रुको लापरबाही आदि कारणले दुर्घटना हुने गरेको छ । पछिल्लो तीन वर्षका घटना केलाउँदा हरेक वर्ष ठूला दुर्घटना भएकै छन् । २०७५ पुस ६ मा तुलसीपुर–३ राम्रीमा घोराहीको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बा४ख ९७६६ नम्बरको बस दुर्घटना भयो । वन विज्ञानका विद्यार्थी र शिक्षक सल्यानको कपुरकोटस्थित वनस्पति उद्यानबाट फर्कदा बस सडकदेखि ७ सय मिटर तल खसेको थियो । जसमा १९ विद्यार्थी, दुई शिक्षक, गाडीका चालक र सहचालक गरी २३ जनाको मृत्यु भएको थियो । २०७५ मंसिर २७ मा चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको राप्ती सोनारी–८ शमशेरगन्ज जाँदै गरेको स्कार्पियो गाडी लमही–९ रिहारनजिक बससँग ठोक्किँदा दुलाहाका बुबाआमासहित ६ जनाको मृत्यु भएको थियो ।

२०७५ माघ २४ मा लमहीको घोराही सडक खण्डको बेलदमारमा कार दुर्घटना हुँदा दाङ–३ ‘ख’ का प्रदेश सांसद उत्तरकुमार ओलीको मृत्यु भएको थियो । घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना५ख ५५२९ नम्बरको बस र लमहीबाट घोराहीतर्फ जाँदै गरेको सांसद ओली सवार बा१८च ६८३६ नम्बरको कार घोराही उपमहानगरपालिका–३ बेलदमार नजिक ठोक्किँदा दुर्घटना भएको थियो । उक्त घटनामा बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार रुकुम पश्चिम मुसीकोटकी २६ वर्षीया रमिता शर्माको मृत्यु भएको थियो ।

प्रदेश सांसदको मृत्युपछि दुर्घटना न्यूनीकरणसम्बन्धी विभिन्न अभियान चलाइए । प्रदेश सरकारले दुर्घटना न्यूनीकरण विशेष अभियान चलाउने घोषणा गर्‍यो । प्रदेश प्रहरी कार्यालयले सडकमा सवारी चालकको स्वास्थ्य जाँच, मोबाइल प्रयोगमा निषेध, यात्रु सचेतना, लामो दूरीमा दुई चालकको व्यवस्था र ट्राफिक नियम पालनामा कडाइ गर्‍यो । दुर्घटनाबारे अध्ययन समितिहरू बने । विभिन्न ट्राफिक सचेतनाका कार्यक्रम पनि सञ्चालन भए तर दुर्घटनामा कमी आउन सकेन । २०७६ मंसिर ११ गते अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु२ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका–६ सल्लेरीमा सडकबाट २ सय ५० मिटर तल खस्दा १९ यात्रुको मृत्यु भयो । १८ जना घाइते भए ।

ठूला सडक दुर्घटना भएपछि त्यसबारे अध्ययन भएका छन् । तुलसीपुरको राम्रीमा भएको शैक्षिक भ्रमणको बस दुर्घटना र अर्घाखाँचीको सल्लेरीमा भएको बस दुर्घटनाबारे लुम्बिनी प्रदेश प्रहरी कार्यालयले अध्ययन गरेको थियो । अध्ययन टोलीले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान गरी दुर्घटना न्यूनीकरणसम्बन्धी विभिन्न सुझाव दिएको थियो तर अध्ययनको निष्कर्षअनुसार अहिलेसम्म केही काम हुन सकेको छैन । राम्रीमा भएको दुर्घटनाबारे अध्ययन गर्न तत्कालीन प्रदेश प्रहरी कार्यालय तुलसीपुरका एसएसपी नरबहादुर केसीको संयोजकत्वमा गठित टोलीले २०७५ पुस १८ मा तयार पारेको प्रतिवेदनमा तीव्र गति, साँघुरो सडक र चालक सडकमा केन्द्रित नहुनुलाई दुर्घटनाको मुख्य कारण मानेको थियो ।

समितिले सडक फराकिलो बनाउन, सडकका खाल्डा पुर्न, सडक किनारमा बलियो बार तथा पिलर राख्न, पहाडी क्षेत्रमा चल्ने सवारी साधनको यान्त्रिक अवस्था दुरुस्त राख्न सवारीधनीले ध्यान दिन, ट्राफिक प्रहरीले नियमित अनुगमन गरी बसको सिट क्षमता र भारवहन नियन्त्रण गर्न र चालकहरूलाई बेलाबेला प्रशिक्षणको व्यवस्था गर्न सुझाव दिएको थियो । यसैगरी वनभोज, शैक्षिक भ्रमण तथा समूहगत रूपमा रिजर्भमा जाने सवारी साधनको विशेष जाँच गर्नुपर्ने, सडकको अवस्थाबारे जानकारी दिन बोर्ड राख्नुपर्ने, स्थानीयवासीले समेत सडक मर्मत सम्भारमा ध्यान दिनुपर्ने र तुलसीपुरदेखि कपुरकोट चल्ने सवारी साधनलाई टाइम कार्डको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको थियो ।

अध्ययन टोलीले समग्र दुर्घटनालाई मध्यनजर गरी ट्राफिक प्रहरी, सडक कार्यालय, यातायात व्यवस्था कार्यालय, स्थानीय तह, यातायात व्यवसायी, चालक, सहचालक र सडक प्रयोगकर्ताले गर्नुपर्ने कामहरूको छुट्टै सूची बनाएको थियो । सवारी धनी र यातायात व्यवसायी संघसंस्थाले सवारी साधन दुरुस्त भए/नभएको जाँच गरेर मात्र चलाउने, चालकले मादक पदार्थ सेवन गरे/नगरेको अनुगमन गर्ने, रिस आवेगमा आउनेलाई चालकको जिम्मेवारी नदिने, लामो दूरीमा दुई जना चालकको अनिवार्य व्यवस्था गर्ने, सवारी चालक पोसाक र परिचयपत्र अनिवार्य गर्नुपर्ने र क्षमताभन्दा बढी यात्रु राख्न बन्द गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको थियो ।

यसैगरी अर्घाखाँचीको सल्लेरीमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न तत्कालीन प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसूदन लुइँटेलको संयोजकत्वमा गठित समितिले २०७६ मंसिर १८ मा तयार पारेको प्रतिवेदनमा प्रत्येक जिल्ला सदरमुकाममा कम्तीमा एउटा गाडीको मेकानिकल जाँच गर्ने कार्यालय हुनुपर्ने र लामो रुटमा जानुपूर्व अनिवार्य मेकानिकल जाँचको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको थियो ।

यसैगरी एक पटक दुर्घटना गराएको चालकलाई दुर्घटनाको प्रकृतिअनुसार निश्चित समयसम्म सवारी चलाउन कानुनी रूपमै प्रतिबन्ध लगाउनुपर्ने, चालकको शारीरिक र मानसिक अवस्था जाँच गर्ने प्रणालीलाई कानुन बनाई नियमित र प्रभावकारी बनाउनुपर्ने र सडकको दुवै साइडमा बत्ती राख्नुपर्ने सझाव दिइएको थियो । दुर्घटनाबारे भएका यी अध्ययन प्रतिवेदनमाथि अहिलेसम्म गम्भीर छलफल भएको भने पाइँदैन ।

दुर्घटनाबारे अध्ययन गर्ने र त्यसमा सुझाव दिने काम गरे पनि नेपाल प्रहरीले यसमा सुधारका लागि आफैं काम गर्ने अवस्था नरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एसपी राजेन्द्रसिंह खड्काले बताए । ‘हामीले दुर्घटना भएपछि त्यसको अध्ययन अनुसन्धान गर्न समिति बनाउने र त्यसको प्रतिवेदन तयार पार्ने काममा सहजीकरण गर्दै आएका छौं,’ उनले भने, ‘दुर्घटनाको गम्भीर अध्ययन गर्ने र दुर्घटना कम गर्नेबारे योजना बनाउने काम ट्राफिकले गर्दै आएको छ ।’

प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आए पनि दुर्घटनामा कमी आउन नसकेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी थापाले बताए । ‘हामीले चेतनामूलक कार्यक्रम, सवारी साधनको जाँच र कारबाही पनि गर्दै आएको छौं,’ उनले भने, ‘तर पनि दुर्घटना भइरहेका छन् । दुर्घटना कम गर्न प्रहरी मात्रै लागेर हुँदैन । गाडी धनी, चालक, यात्रु र नागरिक पनि जिम्मेवार हुनुपर्छ ।’ कान्तिपुरबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार