रुकुम पश्चिममा बहुप्राविधिक शिक्षालय आवश्यक छ

अन्तर्वार्ता

रुकुम पश्चिममा बहुप्राविधिक शिक्षालय आवश्यक छ

अन्तर्वार्ता

धनन्जय आचार्य
सामाजिक विकास अधिकृत
सामाजिक विकास कार्यालय, रुकुम पश्चिम

रुकुम पश्चिमस्थित सामाजिक विकास कार्यालयका प्रमुख (सामाजिक विकास अधिकृत) धनन्जय आचार्य जिल्लामा प्राविधिक जनशक्ति उत्पादनका लागि बहुप्राविधिक शिक्षालय आवश्यक भएको बताउनुहुन्छ । आम नागरिकलाई श्रमप्रति विश्वास र सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने उहाँको भनाई छ । सामाजिक विकास कार्यालयका कार्यक्रम, आगामी योजना तथा जिल्लाका शैक्षिक पूर्वाधार, खेलकुद, उद्यमशीलता लगायतका विषयमा केन्द्रित रहेर उजेली न्यूजका लागि आचार्यसँग गरिएको कुराकानिको सार : –सम्पादक

सामाजिक विकास कार्यालयको बारेमा धेरैलाई जानकारी छैन । यो कार्यालयले के काम गर्छ ?

धन्यवाद, प्रदेश सरकारको मिति २०७६-०५-०६ को निर्णय बमोजिम सामाजिक विकास कार्यालयको कार्यक्षेत्र शिक्षा प्रशासन अन्तर्गत विद्यालय तथा क्याम्पसहरुको भौतिक पूर्वाधार निर्माण, बालविकास शिक्षकहरुको लागि प्रोत्साहन सहयोग, विभिन्न विद्यालयहरुलाई अनुदान सहयोग, उत्कृष्ट शिक्षक प्रोत्साहन, विद्यालय गाँउ नगर शिक्षा योजना निर्माणमा सहयोग,विपद व्यवस्थापनका लागि शैक्षिक कार्यक्रम, शिक्षकहरुका लागि डिजिटल स्किल सम्बन्धि तालिम, छात्रवृत्रि वितरण आदि ।
युवा तथा खेलकुद अन्तर्गत जिल्ला खेलकुद विकास समितिसँग समन्वय गरी जिल्ला स्तरका विभिन्न खेलकुद प्रतियोगिताहरु संचालन,प्रदेश स्तरीय खेलका लागि खेलाडी छनौट राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता संचालन, विभिन्न स्थानमा खेल पूर्वाधारहरुको निर्माण,बेरोजगार युवाहरुको लागि सीप विकास तालिम संचालन हुनुका साथै
श्रम तथा रोजगार अन्तर्गत वैदेशिक रोजगारमा जान चाहने युवाहरुको लागि परामर्श सेवा, मुख्यमन्त्री रोजगार कार्यक्रम संचालन,महिला,दलित,जनजातिको लागि सीप विकास कार्यक्रम रहेका छन ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक,दलित,जनजाति तथा अपाङ्गता भएका व्यक्ति सम्बन्धि जनचेतनामूलक तथा सीप विकास सम्बन्धि कार्यहरु गर्दछ । जोखिममा रहेका बालबालिकाहरुको लागि सहयोग,अल्पकालीन आश्रय स्थल संचालन,ज्येष्ठ नागरिकहरुको लागि दिवा सेवा केन्द्र संचालनमा रहेका छन ।

चालु आर्थिक वर्षमा यस कार्यलयमा के के कार्यक्रम छन् ?

चालु आर्थिक वर्षमा यस कार्यालयलाई पूजीगत तर्फ विभिन्न पालिकाहरुमा नमूना विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण,खेल पूर्वाधार निमार्ण,चौरजहारी क्षेत्रीय रंगशाला निमार्णका कामहरु छन भने चालुतर्फ सीप विकास, बालविकास सहयोगी शिक्षकहरुलाई प्रोत्साहन सहयोग,नमुना बालविकास केन्द्रहरुको सुदृढीकरण, बैक खाता छोरीको सुरक्षा जीवन भरीको कार्यक्रम अभिमुखीकरण,अल्पकालीन आश्रय सहितको जिल्ला सेवा केन्द्र संचालन,विभिन्न किसिमका छात्रवृत्रिहरु वितरण, विद्यालयहरुलाई अनुदान सहयोग,छुवाछुत विरुद्धको अभियान संचालन, जिल्ला खेलकुद विकास समिति संचालन तथा व्यवस्थपान अनुदान,वैदेशिक रोजगारीमा जान चाहने युवाहरुका लागि परामर्श सेवा संचालन जस्ता कार्यक्रमहरु रहेका छन् ।

तपाईहरुले असहाय नागरिकहरुको लागि पनि काम गर्नुहुन्छ । यसबाट कत्तिको लाभान्वित भएका छन् ?

आंशिक रुपमा लाभ लिएका छन् । सामाजिक विकास कार्यालयको कार्यक्षेत्रको बारेमा सबैलाई जानकारी नहुँदा पूर्णरुपमा लाभ लिन नसकेको अवस्था छ भने अर्कोतर्फ सदरमुकाम आसपासका नागरिकहरुले मात्र लाभ लिएको अवस्था छ भने बाहिरका नागरिकहरुले कम लाभ लिएका छन् ।

तपाईहरुले शिक्षाको क्षेत्रमा पनि काम गर्नुहुन्छ । रुकुम पश्चिमका शिक्षण संस्थाहरुको शैक्षिक एवं भौतिक पूर्वाधारको अवस्था कस्तो छ ?

पूर्वाधार विकासले अहिले पहिलेको तुलनामा गति लिएता पनि पर्याप्त छैन । संघ प्रदेश र स्थानीय सरकारको समन्वयमा स्रोतमा दोहरोपन नहुने गरी पूर्वाधार विकासमा लाग्नु पर्दछ । शैक्षिक पूर्वाधारमा प्रविधिको पहुँच सिमित विद्यालयहरुमा भए पनि त्यसको सही कार्यान्वयन भएको छैन । यसको लागि प्रत्येक पालिकाले शिक्षाको गुरु योजना निर्माण गरी सोही अनुरुप कार्यक्रमहरु तय गर्नुपर्दछ । प्राविधिक शिक्षामा जनशक्तिको कमी संगसंगै सैद्धान्तिकमा जोड दिने परम्परा कायमा नै छ । पेशाप्रति प्रतिवद्ध शिक्षक,अनुशासित र लगनशिल विद्यार्थी, सचेत अभिभावक, स्वतन्त्र र निश्पक्ष अनुगमन तथा मुल्याङकन र जिम्मेवार सरकार भई योजनावद्ध रुपमा लागेमा अवस्थामा सुधार ल्याउन सकिन्छ ।

रुकुम पश्चिममा अहिले पनि बाल विवाह रोकिन सकेको छैन । किन होला ?

बाल विवाह एक बहुआयमिक र जटिल सामाजिक समस्या हो । यस जिल्लामा पनि यो समस्या जल्दोबल्दो रुपमा रहेको छ । यसका कारणहरुमा सचेतनाको कमी,परम्परागत चिन्तन,गलत सामाजिक अभ्यास,कानुनको फितलो कार्यान्वयन,संस्कारगत कमजोरी,सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको समन्वयको कमी,आर्थिक तथा सामाजिक स्तर एवम शिक्षाको कमी,मौलिक हक कागजी रुपमा मात्र रहनु सोको कार्यान्वयनयोग्य वातावरण तयार नहुनु,गलत गर्नेलाई कानुनी दायरामा ल्याउनुुको सट्टा संरक्षण गर्ने प्रवृति,बालविवाह र यसले पार्ने असरबारे प्रचार प्रसारको कमी,बालश्रम गर्नुपर्ने अवस्था,असहाय र संरक्षणविहिन बालबालिकाको लागि समाजिक संरक्षण र सुरक्षा नहुनु आदि कारण होलान जस्तो लाग्दछ ।

 

युवा तथा खेलकुद क्षेत्रको विकासका लागि तपाईहरुले के योजना लिनुभएको छ ?

युवाहरुलाई प्राविधिक शिक्षामा जोड दिन दिई गरीवी र वेरोजगारको अन्त्यको लागि कम्तिमा जिल्लामा एक बहुप्राविधिक शिक्षालयको स्थापना, छोटो तथा लामो अवधिका युवा उद्धमशिलता विकासका कार्यक्रमहरु संचालन,उनीहरुको प्रतिभा पहिचान र प्रोत्साहन,समयको सही सदुुपयोग गरी श्रम गर्ने बानीको विकासको लागि श्रम बैंकको स्थापना आदि ।
खेलक्षेत्रको विकासको लागि चौरजहारीमा स्थानगत संभाव्यता भएको कारणले क्षेत्रीय स्तरको रंगशाला निर्माणको लागि बुहवर्षिय आयोजनाको रुपमा विकास, प्रत्येक पालिका स्तरमा कम्तिमा एक खेल पूर्वाधार निर्माण, विभिन्न विद्यामा खेलकुद प्रतियोगिता संचालन,खेलाडी छनौट र प्रोत्साहन, जिल्लामा विभिन्न खेलकुदको लागि खेल प्रशिक्षकको व्यवस्था, तल्लो तहबाट नै खेलमा रुची विकास गराउन प्रत्येक माविमा खेल शिक्षकको व्यवस्था आदि ।

र, अन्त्यमा रुकुम पश्चिमका आम जनतालाई के भन्न चाहनुहुन्छ ?

गलत र हानिकारक सामाजिक अभ्यासबाट टाढा रही समयको सदुपयोग गर्ने, श्रम गर्ने र श्रमको सम्मान गर्ने बानीको विकास गर्ने, परनिर्भरता भन्दा आत्मनिर्भरतालाई विश्वास गर्दै सोही अनुरुपको बानी विकास गर्ने, संस्कारगत र प्रवृत्तिगत कमजोरीहरु सुधार गर्दै सोच र स्वभावमा परिवर्तन ल्याउने गरेमा मर्यादित र आदर्श जीवन विकास गर्न सकिन्छ । यो समाज विकासको पाटोमा तपाईको पनि महत्वपूर्ण स्थान छ र सोही अवसरको सदुपयोग गर्नुहोस भन्न चाहन्छु ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार