कोरोनाको तेस्रो भेरियन्टसँग जुध्न रुकुम पश्चिममा साझा प्रतिबद्धता

कोरोनाको तेस्रो भेरियन्टसँग जुध्न रुकुम पश्चिममा साझा प्रतिबद्धता

मुसीकोट । कोरोना भाइरस सङ्क्रमणको तेस्रो भेरियन्टको प्रभाव शुरु भएसँगै रुकुम पश्चिमका सरोकारवाला निकायहरूले सङ्क्रमणको उचित व्यवस्थापन गर्न पहल थालेका छन् ।


नेपाल पत्रकार महासंघ रुकुमले मंगलबार जिल्ला सदरमुकाम खलङ्गामा कोभिड –१९ रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला निकायसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि जिल्लाका सरोकारवाला निकायहरूले कोभिडको तेस्रो भेरियण्ट सँग जुध्न आवश्यक तयारीको बारेमा छलफल गरेका हुन् ।

कार्यक्रममा सहभागि स्थानीय तहका प्रुमख तथ प्रतिनिधिहरू‚ जिल्ला प्रहरी कार्यालय‚ जिल्ला स्वास्थ्य कार्यालय‚ निजी अस्पताल‚ सरकारी कार्यालयका प्रमुखहरू‚ सुरक्षा निकायका प्रमुखहरू‚ सञ्चारकर्मीहरू‚ यातायात व्यवसायी‚ सरकारी तथा निजी शैक्षिक क्षेत्रका अगुवा तथा अन्य सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले कोभिड सँग जुध्न साझा पहल गर्नुपर्ने प्रतिवद्धता व्यक्त गरे । उनीहरु अहिले देखि नै सङ्क्रमण फैलन नदिन सचेतना मूलक कार्यक्रम‚ कार्यालयहरूमा सामाजिक दूरी कायम‚ स्वास्थ्य सामाग्रीको उपलब्धता‚ खोप वितरण लगायतका कामहरू तीब्र गतिमा हुनुपर्ने बताए ।


कार्यक्रममा सहभागि विभिन्न सरोकारवालाहरूले कोरोनाको तेस्रो लहर फैलन नदिन‚ रोकथाम तथा नियन्त्रण गर्न प्रतिबद्धता जाहेर गरेका छन् । पहिलो र दोस्रो लहरको भेरियन्टले जिल्लामा पारेको प्रभावबाट पाठ सिक्दै तेस्रो लहरले गर्न सक्ने क्षतिलाई कम गर्न सबैले हातेमालो गर्नुपर्ने पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले बताउनुभयो ।

पत्रकार महासंघ श्रमजीवी पत्रकारको अधिकार र पेशागत सुरक्षाका साथै सामाजिक एजेण्डाहरूमा पहरेदारी तथा वकालत गर्ने संस्था भएकाले यस विषयमा जिल्लाका सरोकारवाला निकायहरूसँग एकीकृत रुपमा छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।


मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले तेस्रो भेरियन्टबाट बच्नका लागि नगरपालिकाले पूर्व तयारी गरिरहेको उल्लेख गर्दै अन्य निकायहरूसँग पनि छलफल भइरहेको बताउनुभयो । उहाँले यो परिस्थितिमा मेला तथा महोत्सव तथा भीडभाड हुने कार्यक्रम गर्न रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।


त्रिवेणी गाउँपालिका उपाध्यक्ष निर्मला विष्टले नगरपालिकाले तेस्रो भेरियन्टसँग जुध्नका लागि आवश्यक तयारी गरिसकेको जानकारी दिनुभयो । आठबीसकोट नगर अस्पतालका विजय वलीले अस्पतालमा सम्भावित अक्सिजनको अभावमा आफूहरूलाई काम गर्न समस्या पर्न सक्ने भन्दै यसका लागि सहजिकरण गर्न आवश्यक भएको बताउनुभयो ।


कृषि विकास कार्यालयका प्रमुख मिनबहादुर केसीले विकास निर्माणका कामहरुलाई सामाजिक दूरी कायम गर्दै गर्नुपर्ने उल्लेख गर्दै आँफूहरुले उपभोक्ता समितिका सदस्यहरुलाई कार्यालयमा नबोलाएर आयोजना स्थलमै पुगेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागि यातायात व्यवसायीहरुले बुधबार देखि नै अनिवार्य रुपमा गाडीहरुमा माक्स र  सेनिटाइजरको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।


नेपाली सेना नर्शिङ गण दल सल्लेका मेजर बावुलाल जिसीले रुकुममा शव बहान नहुँदा विगत देखि नै समस्या भएको उल्लेख गर्दै शव बहानको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो ।


मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले नगरपालिकामा सेवा प्रभाव गर्दा अनिवार्य खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले नगरपालिकामै खोप लगाउने व्यवस्था गरिएको जानकारी समेत दिनुभयो ।

निमित्त प्रमुख जिल्ला अधिकारी प्रेमश सिवाले पहिलो र दास्रो लहरको भेरियन्टले जिल्लामा पारेको प्रभावबाट पाठ सिक्दै तेस्रो लहरले गर्न सक्ने क्षेतीलाई कम गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।


नेपाल पत्रकार महासंघक रुकुमका पूर्व अध्यक्ष गणेश चिन्तले कोरोना संक्रणको बेला सञ्चारकर्मीहरुले आफ्नो स्वास्थ्य सुरक्षा गर्दै काममा निरन्तर खट्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमममा निजी अस्पतालका सञ्चालकहरुले कोरोनाको परिक्षण गर्ने जिम्मा निजी अस्पताललाई पनि दिनुपर्ने धारणा व्यक्त गरे ।

साझा मुराल अस्पताल प्रा.लि. रुकुम पश्चिमका प्रमुख डा. दीपक पुनले निजी अस्पतालहरुले कोभिड सँग जुध्नका लागि निकै राम्रो काम गरिरहेको रहेको उल्लेख गर्दै सरकारी अस्पताल र निजी अस्पतालबीच सहकार्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।


पत्रकार महासंघक रुकुमका उपाध्यक्ष सिजन बाँठा मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव हिरा परियारले गर्नुभएको थियो । कार्यक्रम साझा मुराल अस्पताल प्रा.लि. रुकुम पश्चिमको सहयोगमा भएको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार