उपभोक्ता समिति बनाएर सिफारिस गर्ने वडाध्यक्ष निलम्बन

उपभोक्ता समिति बनाएर सिफारिस गर्ने वडाध्यक्ष निलम्बन

सुर्खेत । परिवारभित्र र आफन्तलाई राखेर उपभोक्ता समिति बनाएपछि सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ का वडाध्यक्ष शान्तकुमार यरीलाई अख्तियारले छानविन गर्न सहज होस् भनेर निलम्बन गरिएको छ। नगरपालिका नगर प्रमुख गोविन्द पुनले अख्तियारले कार्बाहीका लागि पत्र पठाएपछि छानविनका लागि सहज होस् भनेर वडाध्यक्ष शान्तकुमार यरीलाई निलम्बन गरिएको जानकारी दिएका हुन्।

आर्थिक वर्ष २०७७/०७८ मा कर्णाली प्रदेश सरकारबाट तट बन्धन, तारजालीको लागि खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय सल्यान मार्फत २५ लाख रुपैयाँ विनियोजन भई कार्यान्वयनका लागि नगरपालिकामा पत्र आएको थियो। पत्र सुटुक्क राखेर वडाध्यक्ष यरीले एकैपरिवार र आफन्तलाई उपभोक्ता समितिमा गठन गरेर नगरपालिकामा पेश गरेको थिए। नगरपालिकामा नगर प्रमुख हुँदाहुँदै उपमेयर मञ्जु यरीले सम्झौताका लागि आफूखुसी सिफारिस गरेको अख्तियारमा उजुरीमा उल्लेख छ।

नगरपालिका श्रोतका अनुसार उपभोक्ता समितिका अध्यक्षमा वडाध्यक्षको हुर्मत यरी (भाई), सचिवमा रिता शाही (भान्जी बुहारी), कोषाध्यक्षमा मेघराज बुढा (ज्वाई) सदस्यहरुमा भरतकुमार यरी (भतिज), निमकुमारी बुढा (भान्जी बुहारी) शिवा यरी (छोरी) र महाविर कामी रहेका छन्। वडाध्यक्षका उपमेयर बुहारी हुन्। यसरी परिवारभित्रबाट उपभोक्ता समिति बनाएपछि विवाद बढेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा उपमेयर र वडाध्यक्ष मिलेर गोप्य एउटै परिवार र आफन्त मिलेर उपभोक्ता समिति बनाएको र भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।

सोही अनुसार आयोगले २०७८ असोज ७ गतेको निर्णय अनुसार नगरपालिका प्रमुखलाई कार्बाहीका लागि पत्र पठाइएको थियो। आयोगले आयोग नियमावली, २०५९ को नियम ९ बमोजिम आवश्यक कार्बाहीका लागि नगरपालिकालाई अख्तियारले पत्र पठाएपछि निलम्बन गरिएको नगरपालिकाले जनाएको छ। आयोगको पत्रलाई आधार मानेर अनुसन्धानका सहज होस् भनेर वडाध्यक्षलाई निलम्बन गरिएको नगर प्रमुख गोविन्द पुनले बताउनु भयो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार