र्‍यापिड टेस्टमा नेगेटिभ आएको नतिजा पीसीआरमा किन पोजेटिभ आउँछ?

र्‍यापिड टेस्टमा नेगेटिभ आएको नतिजा पीसीआरमा किन पोजेटिभ आउँछ?

बैशाख २ काठमाडौँ

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले संक्रमित व्यक्तिको शरीरमा भाइरस कति दिनसम्म रहन्छ भन्ने व्यक्तिपिच्छे फरक हुने बताएकी छन्।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार उनले आफ्नो शरीरमा रोगसँग लड्ने क्षमता कति छ, त्यहीअनुसार कसैमा छिट्टै संक्रमण फैलिने र कसैमा ढिला फैलिने बताइन्। उनले कुनै व्यक्तिमा ३ देखि ४ हप्तासम्म भाइरस शरीरमा रहन सक्ने बताइन्।

उनका अनुसार पीसीआर परीक्षण अत्यन्तै जटिल परीक्षण हो। प्रयोगशालाको सेटअप पनि यसका लागि विशेष किसिमको हुनुपर्ने र परीक्षण गर्ने व्यक्तिले पनि विशेष तालिम पाएको हुनुपर्ने उनको भनाइ छ।

उनले यस रोग आएदेखि नै वैज्ञानिकहरुले अर्को विधिमा लगातार अनुसन्धान गरिरहेको बताइन्।

उनका अनुसार उक्त अनुसन्धानकै आधारमा शरीरले भाइरसका लागि लड्न बनाउने एन्टीबडीहरु पनि परीक्षण गरेर यो रोग पत्ता लगाउने नयाँ विधिहरु पनि सुरु भएको छ।

उनका अनुसार कोभिड १९ संक्रमित भएको व्यक्तिले शरीरमा दुई किसिमको एन्टीबडी बनाउँछ, सुरुमा आइजीएम र त्यसपछि आइजीजी। सामान्य तया रोग लागेको एक हप्तापछि शरीरमा आइजीएम देखिन थाल्ने र झन्डै दुई तीन हप्ता शरीरमा रहने उनले बताइन्।

यस्तै रोग लागेको दुई हप्तापछि मात्रै आईजीजी भन्ने एन्टीबडी शरीरमा देखिन थाल्छ। एक महिनापछि भाइरस र आइजीएम नेगेटिभ हुन सक्ने, तर आइजीजी भने धेरै लामो समयसम्म रहन सक्ने उनले बताइन्।

उनका अनुसार सुरुमा रोग लाग्दा भाइरस मात्र भेटिने, ७ दिन बितेपछि आइजीएम र त्यसको दुई हप्तापछि आईजीजी भेटिन सक्छ।

त्यस्तै एक हप्तापछि भाइरस र आइजिएम नेगेटिभ हुन सक्छ, तर आइजीजी धेरै लामो समयसम्म रहन सक्छ।

त्यसैले सुरुका दिनमा पीसीआर मात्र पोजेटिभ आउन सक्ने र एन्टबिडीको परीक्षण नेगेटिभ आउनसक्ने उनको भनाइ छ।

त्यस्तै एकहप्तापछि भने पीसीआर र एन्टीबडी दुबै पोजेटिभ आउन सक्छ।

चार हप्ता पछि फेरि पीसीआर नेगेटिभ तर एन्टीबडी भने पोजेटिभ आउन सक्छ। ‘त्यसैले नै र्‍यापिड टेस्ट र पीसीआरको नतिजा फरकफरक आउँछ,’ उनले भनिन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार