चौरजहारीमा कोभिड-१९ सम्बन्धि परामर्श बैठक

चौरजहारीमा कोभिड-१९ सम्बन्धि परामर्श बैठक

कोभिड-१९ सम्बन्धि परामर्श बैठक

मुसीकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कोभिड-१९ विरुद्धको खोप अभियानको परामर्श बैठक सम्पन्न भएको छ ।

शनिबार चौरजहारी नगरपालिकाको कार्यालयमा जनप्रतिनिधि, कर्मचारी र विभिन्न सामाजिक संघ संस्थाहरुको बिच भएको बैठकमा नगरपालिकाले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारमा हालसम्म गरेका विभिन्न कामको विषयमा जानकारी गराइएको थियो ।

बैठकमा नगरपालिकाका स्वास्थ्य संयोजक डण्डप्रसाद शर्माले हालसम्म नगरपालिकाले कोभिड रोकथाम, नियन्त्रण र चुनौतीका बारेमा जानकारी गराउनुभएको थियो ।

संयोजक शर्माका अनुसार हालसम्म नगरपालिकाका ७९ प्रतिशतलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले नगरपालिका भित्रका कोही पनि नागरिकहरु खोप लाउनबाट बञ्चित नहुने व्यवस्था मिलाउन नगरपालिकालाई अनुरोध गर्नुभएको छ ।

सार्वजनिक क्षेत्रबाट सरकारी सेवा लिदा खोप कार्ड अनिवार्य गर्ने र खोप नलगाएकालाई सोही ठाउँबाट खोप लाउने व्यवस्था मिलाउन नगरपालिकालाई प्रजिअ घिमिरेले आग्रह गर्नुभएको छ ।

बैठकमा नगरपालिकाको वडा नम्बर २ को अमलाचौर, वडा नम्बर ४ को अम्लाटाकुरी र ८ नम्बर वडाको गोईरीमा अन्य वडाको भन्दा खोप लगाउनेको संख्या कम भएपछि ती वडाहरुमा खोप अभियान सञ्चालन गरिने निर्णय गरिएको छ ।

यस्तै बैठकले फागुन २० र २१ गते स्वास्थ्य स्वयमसेवीकाहरुका लागि तालिम सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ ।

नगर उप-प्रमुख राधा रोकाको अध्यक्षतामा सम्पन्न भएको परामर्श बैठकमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, राष्ट्रिय अनुसन्धान अधिकृत होमराज रेग्मी, प्रहरी निरिक्षक डेकेन्द्र शर्मा, सरकारी वकील कार्यालयका प्रमुख रुद्र प्रसाद पन्थी, डाक्टर भिमकान्त जैसी, वडा अध्यक्षहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपाली, सदस्य प्रविर ददेल, हिरालाल भण्डारी, सुआहारा परियोजनाका पुष्प रावल, जगदिश खड्का लगायतको उपस्थिति रहेको थियो।

यस्तै आजै उप-प्रमुख राधा रोका, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे लगायतको टोलिले चौरजहारी अस्पतालको अनुगमन गरेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार