यसरी बित्दै छ संक्रमितको दैनिकी : भन्छन्, ‘हामी सन्चै छौं, तपाईंलाई कस्तो छ?’

यसरी बित्दै छ संक्रमितको दैनिकी : भन्छन्, ‘हामी सन्चै छौं, तपाईंलाई कस्तो छ?’

बैशाख ३ बाग्लुङ

बागलुङ नगरपालिका–४ की कोरोना संक्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ। बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ।

त्यहींबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्। चिया खाजाको लागि छुट्टै प्रबन्ध छ। चिया र तातोपानीका लागि वार्डमा विद्युतीय भाँडाको व्यवस्था छ।

चैत १५ गते कोरोना संक्रमण पुष्टि भएपछि धवलागिरि अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था सामान्य छ। उनी नेपालकै पाँचौं सङ्क्रमित हुन्।
“बिहान उठेर रुममा राखिदिएको खाजा र चियासँग खाएँ, निको हुँदै छु। म सञ्चै छु, बरु तपाईंहरुलाई कस्तो छ”, यी युवती भन्छिन्, “अबको रिपोर्ट नेगेटिभ आएपछि घर जान पाउँछु होला ?”

झन्डै दुई साता पुग्न लागेको आइसोलेसन बसाइबारे जिज्ञासा राख्दा युवतीले भनिन्, “पछिल्लोपटक जाँच्न लगेको रिपोर्ट आएको छैन, हेरौं के हुन्छ?”

गत चैत २० गते कोरोना संक्रमण पुष्टि भएकी बानपा–३ गौडाकोटकी ६५ वर्षीया महिलाको दैनिकी पनि यसरी नै बित्ने गर्छ। उनले पनि एउटै जवाफ दिइन्, “रिपोर्ट नेगेटिभ आएपछि घर जान पाउँछु कि ? अरु त केही समस्या आएको छैन, खाजा–खाना ल्याइदिनुहुन्छ, खाएकी छु। आत्तिएकी छैन।” उनी नेपालकै छैटौं संक्रमित महिला हुन्।

दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरु आफैंमा पनि दह्रो आत्मबलका साथ आइसोलेसनमा बसेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताए। उनले भने, “समस्या केही छैन। आमाको बेला–बेलामा रक्तचाप बढ्ने गरेको छ तर कोरोनासँग सम्बन्धित ‘सिमटम’ केही पनि छैन।”

खाना, पानी र औषधि उपचारमा उनीहरुको कुनै गुनासो छैन। एक्लोपनको महसुस हुन नदिन उनीहरुलाई मोबाइल फोन प्रयोग गर्न पाउने व्यवस्था छ। चिकित्सकका अनुसार अब स्वाब लिने बेलामा मात्रै उनीहरुलाई पहिलो रिपोर्टको नतिजा जानकारी गराइने छ।

चिकित्सकले बेलाबेलामा फोनमार्फत स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिने गरेको पोखरेलले बताए।
उनीहरुले खानामा आवश्यकताअनुसार शाकाहारी र मासु अण्डाको परिकारसमेत खाने गरेका छन्। दुवै जनाको हेरचाह र औषधोपचारका लागि अस्पतालले पालैपालो अस्पतालका ३० नर्स र चिकित्सक खटाउने गरेको छ।

“उपचाररत बिरामीको अवस्था स्थिर छ, नयाँ केही भेटिएको छैन”, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, “बागलुङमा आत्तिनुपर्ने अवस्था छैन, ढुक्क हुन भने मिल्दैन।” रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार
Krishi Bikas Karyalaya

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार