इपिसेन्टरमा एमसिसी र अबको राजनीतिक आँकलन

इपिसेन्टरमा एमसिसी र अबको राजनीतिक आँकलन

नेपालको राजनीतिक परिदृश्य अनुमानयोग्य हुदैन । नेपालजस्ता अल्पविकसित र अर्धशिक्षीत देश नेपालमा राजनीति सरल रेखामा हिड्दा पनि हिड्दैन । पढेलेखेका भनिएका पिएचडीधारी शहरीया विज्ञ¸ राजधानी केन्द्रित विश्लेषक¸ चिन्तकहरुको अनुमान त झन् ग्रामीण परिवेशमा मिल्दै मिल्दैन । ग्रामीण इलाका र शहरमा समेत धेरै ठुलो जनमत अरुले फैलाएको तरङ्ग र अरुद्वारा सिर्जित माहोलमा एकाकार भई मतदान गर्न तत्पर छ । नेपाली राजनीति यसबाट धेरै प्रभावित हुन्छ । यहाँ चुनावको माहोल कसले आफ्नो पक्षमा पार्नसक्छ त्यसमै बाँकी राजनीति तरङ्गित हुन्छ । अघिल्लो दिनसम्म घरमै बसेको स्वतन्त्र¸ तटस्थ नागरिक चुनावको माहोलसंगै चुनावी गीतको चर्को आवाज¸ र अरुको लावालश्कर देखी रोमान्चित भई भोलिपल्टै दलगत राजनीतिमा सक्रिय हुन्छ । कतैतिर नलाग्ने सोँच बनाएको व्यक्ति पनि चुनावी रौनकको दौरानमा निर्मित माहोलको पछि लागी चुनावी अभियानमा केन्द्रित हुन्छ । चुनावी माहोल कसले कसरी कब्जा गर्नसक्छ निश्चित छैन । अहिले झन् राजनीति धेरै तरल र अस्थिर छ । यस्तो अवस्थामा राजनीतिक अनुमान गर्नु कठिन काम हो । तर केही सम्भावित अनुमानहरुको आँकलन भने अवश्यै गर्न सकिन्छ । एमसिसीले तरङ्गित राजनीतिमा यहाँ केही अनुमानित सम्भावनाहरुको चर्चा गरिदैछ ।

परिदृश्य १¸ एमालेले एमसिसीमा मतदान गरेमा डा रावलहरुको समुहले एमालेबाट विद्रोह गर्नेसक्ने ।

परिदृश्य २¸ माओवादीले एमसिसीमा मतदान गरेमा काजी, गुरुङ्गहरुको समुह तितर वितर वा रुष्ट वा निष्क्रीय वा आन्तरिक विवाद वा एसमाजवादीसंग मिल्नसक्ने ।

परिदृश्य ३¸ एसमाजवादीले विपक्षमा मतदान गरेमा आलेहरुको समुहले विद्रोह गर्नसक्ने । पक्षमा मतदान गरेमा बरिष्ट नेता खनालहरुको आन्तरिक विद्रोह वा लफडा हुनसक्ने ।

परिदृश्य ४¸ खन्ड (१) अनुसार एमालेबाट बाहिरिएका डा रावलहरु एसमाजवादीमा पस्नसक्ने वा तटस्थ वा स्वतन्त्र समुहको रुपमा रहनसक्ने वा एमालेभित्र आन्तरिक रुपमा कडा खालको संघर्ष हुनसक्ने र खन्ड (३) बमोजिम बाहिरिएका आलेहरु एमाले पस्नसक्ने वा स्वतन्त्र समुह बनाई सरकार तथा सत्ता साझेदारीमा निरन्तर रहनसक्ने ।

परिदृश्य ५¸ एसमाजवादी एमसिसीको विपक्षमा उभिएमा थप ध्रुबिकरण हुनसक्ने । केही थप मान्ठ एसमाजवादीमा भित्रिनसक्ने ।

परिदृश्य ६¸ जसपा भित्र थप विवाद हुनसक्ने । पक्षमा मतदान गरे आधारभुत तहका कार्यकर्ता, सुभेच्छुक, समर्थकहरुको आक्रोश बढ्न सक्ने । विपक्षमा मतदान गर्ने निर्णय भएमा डा भट्टराइहरु निस्कन सक्ने ।

परिदृश्य ७¸ एसमाजवादी र माओवादीले तटस्थ वा बहिष्कार गरी उपस्थित सदस्य संख्याको सामान्य बहुमत काँग्रेस साँसदहरुबाट प्रस्ताव पास भएमा काँग्रेसलाई एकल रुपमा तथाकथित राष्ट्रघातीको आरोप लगाउंदै आगामी चुनाव प्रभावित हुनसक्ने । यसबाट आधारभुत तहका काँग्रेसजनका कैयन मतहरु घट्न सक्ने । विरोधका कार्यक्रमकै वीचबाट चुनाव आफ्नो पक्षमा पार्न माओवादी एसमाजवादी सक्रिय हुनसक्ने । चुनावलाई पनि एमसिसी विरोधी आन्दोलनकै रुपमा विकास गर्नसक्ने ।

परिदृश्य ९¸ एमालेको वेल घेराउ¸ एसमाजवादीको तटस्थता र माओवादीको विरोधका वीच प्रस्ताव पास भएमा MCC परियोजना कार्यान्वयन हुन नसक्ने । विप्लव लगायत क्रान्तिकारीहरु वा एमसिसी विरोधीहरुले परियोजना स्थलमा वाधा अवरोध सिर्जना गरी आयोजना कार्यान्वयनलाई असफल पार्नसक्ने ।

परिदृश्य ८¸ एमाले काँग्रेस मिली एमसिसी पास गरेमा सडकको ठुलो जनमत माओवादी र एसमाजवादीको पक्षमा तरंगित हुनसक्ने । एमसिसी विरोधी जनमतको क्रान्तिकारी धारको माहोल विप्लव नेकपातिर आकर्षित हुन सक्ने र राष्ट्रवादी परम्परागत धारको जनमास राप्रपातिर आकर्षित हुनसक्ने । मध्यमार्गी वामपन्थी धार एसमाजवादी र माओवादी तिर आकर्षित हुनसक्ने । तर पनि एमाले काँग्रेसको परिपक्क गठवन्धन बनेमा आगामी राजनीति एमाले काँग्रेसकै रोडम्यापमा चल्नसक्ने । माओवादी एसमाजवादीमा सडकको ठुलो जनमत आकर्षित भएतापनि काँग्रेस एमाले मिलेको खन्डमा आगामी निर्वाचनमा माओवादी एसमाजवादीलाई जित हासिल हुननसक्ने । चुनावमा जित विनाको जनमत क्रमश एमाले माले फुट पछि तत्कालिन मालेको जनमत झैँ ओझेलमा पर्नसक्ने ।

परिदृश्य १०¸ MCC संसदीय प्रक्रियामै लामो समय अल्मलिन सक्ने । लामो समय प्रक्रियामा रोकिदा अमेरिका चुप लागेमा वा चुप लागी फर्केमा सबै हल्लाखल्ला फासफु्स हराउने । संसदबाट पास हुनुनपर्ने भनी संसदले सम्बन्धित मन्त्रालयमा फिर्ता गरेमा वा संसदबाटै असफल भएमा अमेरिका थप रुष्ट हुनसक्ने । अमेरिकाले नेपाल नीतिमा पुनर्विचार गरी थप कदम चाल्नसक्ने । नेपालको वैदेशिक सहयोगको मात्रा र अन्तराष्ट्रिय विश्वसनियता घटी विदेशी सहयोगमा संचालित विकास परियोजनाहरु प्रभावित हुनसक्ने । सरकार संसदमा अल्पमतमा परी संसद विघटन भई संघीय चुनावको घोषणा हुनसक्ने । स्थानीयको निर्वाचन सर्न सक्ने । स्थानीय र संघको चुनाव संगसंगै हुनसक्ने । यसमा थप विषय अदालतको ५ बर्षे कार्यकालको विषय प्रवेश गरी अदालतमा फेरि मुद्दा पर्न सक्ने । ठुलो दलको हैसियतमा एमालेको नेतृत्वमा सरकार निर्माणको प्रयास हुनसक्ने । यही वीचमा माओवादी एमाले कार्यगत एकताको पनि प्रयास हुनसक्ने । तर एसमाजवादी एमाले तिक्तता कायमै रहेको अवस्थामा उक्त कार्य हाल असम्भव जस्तै देखिने । तर नेपाली राजनीतिमा सम्भव असम्भवकको कुनै आँकलन गर्न नसकिने ।

परिदृश्य ११¸ एमाले कांग्रेस मिली MCC पास गर्ने, सभामुख हटाउने, १४ जनालाई कारवाहीको सुचना टाँस गरेमा माओवादी एसमाजवादीहरुले आन्दोलनको घोषणा गर्नसक्ने । बानेश्वर माइतिघरतिर करा खालको सडक संघर्ष हुनसक्ने । आन्दोलनकै वीचबाट चुनाव हुने । आधारभुत तहका जनतामा एमसिसी विरोधी भावना भ्याङ्करसंग टाँसिएको, गाँसिएको, अमेरिकाले नेपाल खान लाग्यो भनी तलतलसम्म जनतामा ठुलो छाप पारिसकिएकोले उक्त जनमत माओवादी एसमाजवादीको पक्षमा आकर्षित भई माओवादी एसमाजवादीको गठवन्धन वा पार्टीको चुनावी परिणाममा उल्लेख्य सुधार आउनसक्ने । यसमा थप १४ जनालाई पनि नहटाउने टोप¸ रामबहादुरहरुको पुनर्वहाली भएमा विनविनको अवस्था सिर्जना हुनसक्ने । उक्त सम्बन्धमा अदालतको फैसला पनि आकर्षित हुनसक्ने ।

परिदृश्य १२¸ कहिल्यै एमालेलाई फस्ट्याउन¸ कहिल्यै माओवादी¸ एसमाजवादीलाई फस्ट्याउन¸ कहिल्यै विदेशी दाताहरुलाई खुशी पार्ने कार्यमा केन्द्रित रही आफ्नो जनमतलाई प्रशिक्षीत गर्ने¸ सरकारका काम कारवाहीलाई प्रभावकारी र लोकप्रिय बनाउन नसकेको कारण काँग्रेसको पक्षमा हाल रहेको लोकप्रिय जनमत क्रमश घट्दै तितरवितर हुनसक्ने र सम्भवत पहिलो पार्टी हुनसक्ने अवस्थाबाट कांग्रेस वन्चित विमुख हुनसक्ने । बचेखुचेका भएका काँग्रेसले राष्ट्रघातीको पगरी गुथी भयरहित अवस्थामा दुर्गम देहात पहाडी इलाकामा भोट हाल्ने¸ उम्मेदवार बन्ने वातावरण समेत प्रतिकुल भई फेरि पनि काँग्रेस प्रतिपक्षमै ट्वाल्ल ट्वाँ पर्न सक्ने । केपी ओली सरकारले पहिलोपटक संसद विघटन गर्दा काँग्रेसले चुनावको चुनौती स्वीकार गरी मध्यावधी चुनावमा गएको भए सम्भवत यतिखेर कांग्रेस बहुमतको सरकार हुन्थ्यो । कम्युनिष्टहरु जित्ने सम्भावना थिएन । किनकी नेकपा सम्पुर्ण रुपले विभाजित थियो । तत्कालिन नेकपा सरकार प्रति जनआक्रोश चरमचुलीमा पुगेको अवस्था थियो । उतिखेर चुनाव स्वीकार नगरी मुद्दा मामिलाको रोहमा तालुखुइले बरिष्ठ वकिलहरुको उक्साहटमा अदालती परमादेशबाट सरकार प्राप्तिको लालसामा लिप्त काँग्रेसमा उतिखेर कांग्रेसभित्र देउवाले चुनावको काँग्रेसले विरोध गर्दैन भन्दाभन्दै चुनावको घनघोर विरोध गर्ने विशेषत पौडेलहरुको गलत नीतिको कारण काँग्रेस फेरिपनि दोस्रो पार्टीको रुपमा थचारिन सक्ने ।

परिदृश्य १३¸ काँग्रेसको गतसालभन्दा लोकप्रियता घटेको¸ कम्युनिष्टहरु टुटफुट विभाजित भएको¸ राप्रपाहरु बौराइ नसकेको¸ विप्लवहरुको चुनावमा सहभागिता नरहेको¸ जसपा लोसपा आफ्नै झैजगडामा उतैतिरै तल्लिन केन्द्रित रहेको¸ नयाँ विकल्प कुनै नभएको अवस्थामा वर्तमान दलहरुबाटै झिनो मतान्तरले हारजित भई कसैको पनि बहुमत नआई संसदको आगामी कार्यकाल झन् अस्थिर हुनसक्ने । सत्ता गठवन्धन¸ सरकार ठड्याउने¸ ढाल्ने हङ्ग पार्लियामेन्टका दुषित खेलहरुको पुनरावृत्ती हुनसक्ने । विभिन्न गठवन्धन हुंदै गर्दा देउवा, प्रचन्न, केपी, माधव तालपरे बाबुराम आदि पालैपालै प्रम हुनसक्ने, राष्ट्रपतिमा पौडेल, खनाल¸ ठाकुर¸ काजीहरुको दौडधुप बढ्नसक्ने । फेरि पनि राजनीति यस्तै अन्यौलता र अस्थिरतमा रुमल्लिन सक्ने । अस्थिरताकै वीचबाट व्यवस्था र संविधानमाथि मडारिंदै गरेको कालो बादल झन कालो भई वैकल्पिक शक्ति सहित व्यवस्थापकीय¸ संवैधानिक र प्रणालीगत हेराफेरीमै देश प्रवेश गर्नसक्ने । २०६२।०६३ सालदेखिको राजनीतिक¸ संवैधानिक तथा संरचनात्मक विकासक्रमले फरक र अर्कै मोड लिनसक्ने ।

परिदृश्य १४¸ विभिन्न दलका उम्मेदवारहरुलाई जिताउनको लागि उछ्रिन पाछ्रिन, छिनाझपडी, दल, पार्टी र नेताको लागि प्रलय नै हुन् तत्पर हामी खाँटी मतदाताहरु फेरि पनि लाटाले केरा हेरेइनी हिस्स बुढी हरिया दाँतमा सीमीत हुने । सुखी नेपाली समृद्ध नेपालको यात्रा अस्तव्यस्त हुनसक्ने । उमेरगत र प्राकृतिक कारणले केही नेताहरु पृथ्वीलोकबाटै एकस्पायर्ड हुनसक्ने । केही नेताहरु पुर्ववत ब्यवस्था बन्दोवस्त अनुसार देशबाटै पलायन हुनसक्ने । केही नेताहरु अर्को नयाँ व्यवस्थामा पनि समायोजन हुनसक्ने । तमाइ हामी स्वतन्त्र भनिएका नागरिकहरु आआफ्ना अनन्त पिडाहरु मनभित्रै दबाएर यस्तै फसबुक स्टाटस लेख्नमा तल्लिनरत हुनसक्ने ।

धन्यवाद । फागुन १४¸ २०७८ बिहान १२ बजेसम्मको आंकलनमा आधारित ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार