कोरोना भाइरसलाई पराजित गर्ने ७ सूत्र

माधव भुसाल

यो विचार लेख्दासम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ पुगेको छ र पुष्टि हुन बाँकी र जाँचको दायरामा नपुगेकाको संख्या पनि ठूलै हुने अनुमान गर्न सकिन्छ। लकडाउन गरेको पनि तीन साता पुगेको छ र वैशाख १५ गतेसम्म गरिएको छ।

सम्पूर्ण परिदृश्यको आकलन हाम्रो भूगोल, भारतसँगको खुला सिमाना, भारतमा संक्रमणको रफ्तार, नेपालको जनसंख्याको बनोट, स्रोतसाधनको उपलब्धता, परनिर्भरता, अर्थतन्त्रमाथिको जोखिम, अनौपचारिक क्षेत्रका मजदूर र यो भाइरसको अहिलेसम्म प्राप्त जानकारीको आलोकमा राखेर हेर्दा हामी हाम्रो बुताले भ्याएसम्म जति तन्किए पनि संक्रमण प्रसार हुनबाट रोक्न सक्दैनौं।

अहिले नै पुष्टि भएका पछिल्ला संक्रमणको ट्रेसिंग गर्न नसक्ने अवस्थामा पुग्दैछौं। त्यसैले यसको प्रसार रोक्ने प्रयाससँगै संक्रमणलाई नेपालको अवस्थाअनुसार विशिष्ट किसिमले सामना गर्न तयारी गर्नुपर्छ। भारत र नेपालले लकडाउनको उपाय अबलम्वन गरेका छन् भने पाकिस्तानले पूरै देश लकडाउन गरेको छैन।

लकडाउनले संक्रमण एकै पटक विस्फोट हुन दिँदैन। त्यही भएर सरकारहरुको लागि यो सजिलो हतियार भएको छ तत्कालका लागि। तर, यसले पूर्ण रुपमा संक्रमण प्रसार रोक्न भारत, नेपाल जस्ता देशमा असम्भव छ। यसले समस्यालाई टार्ने काम मात्र गर्ने छ। दुई दिनअघि मात्र लकडाउन थप गरेको भारतको महाराष्ट्रको बान्द्रा रेल स्टेसनमा उर्लिएको अन्य राज्यका मजदूरहरुको सागरले धेरै कुरा उजागर गरेको छ। नेपालको वस्तुस्थिति अनुसार कोरोना भाइरसलाई पराजित गर्न निम्न बुँदाहरुलाई विचार गर्नुपर्ने हुन्छः

१. हेर्ड इम्युनिटी प्राप्त गर्ने 

लगभग दुई तिहाइ जनसंख्यालाई लक्षण सहित वा धेरै संख्यामा लक्षणरहित संक्रमण भयो भने र रोग प्रतिरोध क्षमता विकास भयो भने संक्रमण आफैं नियन्त्रणमा आउँछ। यसलाई हेर्ड इम्युनिटी भनिन्छ। समान्यतयाः धेरै जनामा इम्युनिटी गराउन खोप नै सजिलो, कम जोखियुक्त र छिटो तरिका हो। तर हालसम्म खोपको विकास नभइसकेको र निकट भविश्यमा बन्ने सम्भावना कम भएकाले सकेसम्म धेरै जोखिम कम गरेर कमसेकम भाइरल डोज लिएर संक्रमित भएर रोग प्रतिरोध क्षमता विकास गर्ने र कमभन्दा कम सिरियस केसमा परिणत हुनदिने रणनीति लिनु उपयुक्त हुन्छ। लकडाउनले पनि यो अवसर त दिन्छ तर यो निकै सुस्त गतिमा हुन्छ र अन्य जोखिमहरुको विचार गर्नुपर्दछ।

आपूर्ति व्यवस्था कति लामो अवधिसम्म थेगिन्छ, ढुकुटीले कहिलेसम्म धान्छ, विदेशमाबवेरोजगार र समस्यामा परेका नागरिकलाई कहिलेसम्म त्यत्तिकै अलपत्र छोडिदिने, जस्ता प्रश्न तथा लामो समयको लकडाउनले शान्ति सुव्यवस्था कायम राखिराख्न चुनौती एकै पटक बढ्न सक्छ। अहिलेसम्मको ज्ञानले यो भाइरसको संक्रमित ले ३ हप्तासम्म रोग सार्न सक्छ र यदि उसले कसैलाई २० औं दिन संक्रमण सारेको रहेछ भने नयाँ संक्रमितले अर्को ३ हप्तासम्म सार्ने र यसरी यो श्रृंखला अगाडि बढ्ने देखिन्छ।

२. जोखिमयुक्त समूहलाई जोगाउने 

जोखिमयुक्त भन्नाले धेरै उमेर भएका, ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरु, मुटुरोग, दम, श्वासप्रश्वास रोग, मधुमेह तथा अन्य जटिल रोग लागेका जस्तैः क्यान्सर, कलेजो वा मिर्गौला रोग लागेका व्यक्ति (जस्को रोग प्रतिरोध क्षमता कम हुन्छ) आदिलाई जोगाउनु महत्वपूर्ण हुन्छ। यसको लागि घरमै सुरक्षित रहन लगाउने र सावधानीका उपाय अबलम्वन गर्ने। भौतिक दूरी, साबुनपानीले हात धुने, छुट्टै कोठामा बस्ने, कपडाको मास्क लगाउने, नछोइने, भीडमा नजाने, पोसिलो खाना खाने, व्यायाम गर्ने, त्रासमा नरहने, परिवारका सदस्यले नियमित संवाद गरी अत्मबल बढाउन सहोग गर्ने तथा संक्रमणबाट जोगाउन होसियारी अपनाउने आदि।

३ .संक्रमणलाई नियन्त्रण गरी फैलिन नदिने 
यो भाइरसको संक्रमणको अहिलेसम्मको जानकारी अनुसार भाइरल लोड र व्यक्तिको रोग प्रतिरोधी क्षमतालाई विचार गर्नु पर्दछ। हाम्रो जनसंख्याको बनोट अनुसार ५१ प्रतिशत २४ वर्ष मुनिका तथा झण्डै ८८ प्रतिशत ५४ वर्षसम्मका रहेको छ। त्यसैगरी ६५वर्षभन्दा माथिको संख्या ५.३ प्रतिशत रहेको छ। यसरी हामी लगभग दुईतिहाइ जनसंख्यालाई नियन्त्रित संक्रमण हुन दिन सक्छौं। ३० वा ३५ वर्ष मुनिका बच्चा तथा वयस्कहरुमा यसको संक्रमणले जटिलता ल्याउने सम्भावना न्यून रहेको पाइएको छ। यसको मतलब विस्फोट हुन दिने होइन। त्यसको लागि सकेसम्म कम भाइरल लोड लिनेतर्फ ध्यान दिनु जरुरी छ। यसका लागि सावधानीका उपाय अपनाउने। सावधानीका उपाय सहित स्कुलहरु र अन्य सामाजिक गतिविधिमा ३० वर्ष मुनिको व्यक्तिलाई सामेल हुन दिने। त्यस्तै जोखिममा रहेको समूह बाहेककालाई सावधानी सहित काम गर्न दिने। यसले अथतन्त्रलाई जीवित राख्न सहयोग पुग्छ। यसको लागि पूर्ण लकडाउनभन्दा नियन्त्रित लकडाउन उपयोगी हुन्छ। सीमापार रहेका नागरिकहरु जो स्वदेश फर्कन चाहन्छन् उनीहरुलाई नियन्त्रित रुपमा पूर्ण अभिलेख सहित उद्धार गरी क्वारेन्टाइनमा राख्न सकिन्छ। संक्रमणको एकाएक विस्फोट नहोस भनेर खुला सीमालाई पूर्ण बन्द गर्नु उपयुक्त हुन्छ।

४. यो संक्रमणको अहिलेसम्मको जानकारी अनुसार मृत्युदर ३ प्रतिशत देखिन्छ, यो विकसित देशको तथ्यांक हो, जहाँ ६० वर्ष माथिको संख्या ३० प्रतिशतको हाराहारीमा छ ताकि हाम्रो मा ११ प्रतिशतमात्र छ। यदि हाम्रो देशमा स्वास्थ्य सेवालाई वा भनौं अस्पतालको सेवा र सावधानीका उपायलाई दुरुस्त राख्यो भने यहाँ मृत्युदर अझ कम गर्न सकिन्छ। स्मरण रहोस, साधारण रुघाखोकी वा फ्लुको मृत्युदर विदेशमा १ प्रतिशतको हाराहारीमा हुन्छ। त्यसैले त्रास होइन, सावधानी अपनाउनु बेस हुन्छ। जोखिमयुक्त समूहलाई जोगाई मृत्युदर अझ घटाउन सकिन्छ।

५. संक्रमित जस्लाई लक्षण देखिएको छैन वा सामान्य लक्षण मात्र छ तिनीहरुलाई ठूला आइसोलेसनमा राख्ने। यसको लागि तयार गरिएका पूर्व माओवादी लडाकुको क्यान्टोनमेन्टलाई प्रयोग गर्न सकिन्छ। यस्ता बिरामीलाई अस्पतालमा नराख्ने। यसो गरेमा सीमित संख्यामा रहेका स्वास्थ्यकर्मी र अस्पतालको क्षमतालाई गम्भीर संक्रमण तथा अन्य बिरामीको उपचारमा लगाउन सकिन्छ।

६. अस्पतालहरुलाई गम्भीर अवस्थाकालाई उपचार गर्न तयार गर्ने, क्षमता बढाउने, जनशक्ति थप्ने, अन्य विधाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम दिएर तयार गर्ने। साथै अन्य रोगको उपचार सुचारु राख्ने। पूर्वाधार तयार गर्न ढिला नगर्ने। यो अवस्था अझै कम्तीमा २ वर्षसम्म रहने भएकाले सोही अनुरुप तयारी गर्ने।

७. त्रास होइन, सावधानी अपनाउने र जोखिमयुक्त व्यक्तिलाई कसरी जोगाउने भनेर हरेक परिवार, वडा तथा समुदायले योजना बनाई लागू गर्ने। अहिले सामाजिक सञ्जाल तथा मिडियाहरु त्रासको खेती गर्न प्रतिस्पर्धा गरिरहेको देखिन्छ। उनीहरु पनि हल्लाको पछाडि दौडिन भएन। अब संक्रमितहरु बढदै जालान् किनभने जाँचको दायरा बढाइँदै छ। त्यसैले संयमित हुँदै सावधानी अपनाउन व्यापक प्रचार प्रसार गर्नुपर्दछ। चोकचोकमा हात धुने व्यवस्था गर्ने, हरेक पसलहरुमा सेनिटाइजर राख्ने तथा प्रयोग गर्न लगाउने, हिँड्दा समूहमा नहिँड्ने लगायत यस्तै गतिविधिलाई बढाउने र सबभन्दा ध्यान दिने भनेको जोखिममा रहेकाहरुलाई जोगाउने नै हो।  (स्वास्थ्य खबरबाट)