एसइई र पलस टु को परीक्षा केन्द्र घरपायक बनाउने तयारी

एसइई र पलस टु को परीक्षा केन्द्र घरपायक बनाउने तयारी

बैशाख ५ काठमाडौ

कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई)  र पलस टु को परीक्षा केन्द्र विद्यार्थीको घरपायक बनाउने तयारी भैइरहेको छ । जिल्लाअन्तर्गतका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी घरबाट आउन–जान सक्ने र सुरक्षाको समेत व्यवस्था गरी अर्को विद्यालयमा परीक्षा दिने व्यवस्था गर्दा आवश्यक पर्ने केन्द्रको विवरण माग गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत एसइई परीक्षा केन्द्रका लागि परीक्षा नियन्त्रण कार्यालयले सबै शिक्षा विकास तथा समन्वय इकाइसँग तीन दिनभित्र विवरण माग गरेको हो । कक्षा ११ र १२ को केन्द्रका लागि बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र शाखा कार्यालयसँग विवरण मागेको छ । असहज परिस्थिति भएको र विद्यार्थीमा टाढा गएर परीक्षा दिने मनस्थिति नहुने भन्दै शिक्षा मन्त्रालयसँगको छलफलपछि विवरण माग गरेको हो ।

परीक्षाको विकल्पका बारेमा शिक्षा मन्त्रालयले विभिन्न सरोकारवाल निकायहरु सँग छलफल गरिरहेको छ । दुर्गम जिल्ला र अप्ठ्यारो पर्ने विद्यार्थीका लागि होम सेन्टर वा हिँडेर आवतजावत गर्न सक्ने गरी परीक्षा केन्द्रको व्यवस्था गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले आन्तरिक तयारीका लागि थप परीक्षा केन्द्रको विवरण माग गरेको बताउनु भयो । स्थगित भएको एसइई परीक्षाका लागि देशभरमा एक हजार नौ सय ९५ र कक्षा ११ र १२ का लागि एक हजार एक सय ४६ केन्द्र कायम भएका थिए ।

विद्यालय तहमा परीक्षा हुन बाँकी रहेका कक्षा १०, ११ र १२ मा गरी करिब साढे १४ लाख विद्यार्थी छन् । अहिले परीक्षा केन्द्रमा पुगेको प्रश्नपत्र फिर्ता गरी अधिकृतस्तरका प्रहरी रहेको कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा एसइईका प्रश्नपत्र राखिएका छन् । कक्षा ११ र १२ को प्रश्नपत्र भने छपाइ र प्याकिङ गरी सुरक्षाकर्मीको मातहतमा जनक शिक्षा सामग्री केन्द्रमा राखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार