रुकुम हिँडेका मजदुरलाई पोखराको स्कुलमा आश्रय

Duduwa Corona

रुकुम हिँडेका मजदुरलाई पोखराको स्कुलमा आश्रय

बैशाख ९ पोखरा

कोराना भाइरसको महामारी नफैलिएको भए रुकुम चौरजहारीका पहल केसी र नरबहादुर बुढाथोकी यतिबेला युनाइटेड अरब इमिरेट्सको दुबईमा हुन सक्थे । त्यहाँ जाने भनेर यी दुवैले एजेन्टलाई साढ २ लाख-साढे २ लाख  रुपैयाँ बुझाइसकेका थिए । गाउँका अरु पनि गएका र राम्रो काम पनि पाएको हुँदा महिनामा ८ सय दिराम कमाउने सपना थियो । माघ लाग्नासाथै एजेन्टले कोरोना सकिएपछि उड्न पाइने बताउन थाले । यत्तिकैमा यी दुई भाइ घर बनाउने काम गर्न गोरखा हानिए ।

आफैँआफैं जिम्मा लिँदै घर बनाउने काम गर्दा गोरखामै दुईचार पैसा कमाउँदै घर पठाउने गर्दै थिए । यता पनि कोरोना आउन लागेको खबर फैलियो । हिँडडुल गर्न नपाइने भन्दै लकडाउन घोषणा हुँदा पनि रुकुमका बुढाथोकी र केसी गोखरा फिनाममा घरहरू बनाइरहेकै थिए । लकडाउन पनि भयो । काम पनि सकियो । वडाले राहत दियो । घर पठाएर बाँकी पैसाले किनेर पनि छाक टारे तर लकडाउन खुलेन । पहल भन्छन्, ‘३ गते खुल्यो भन्थे, खुलेन, राहत पनि पाइएन अनि घर जान भनेर हिँड्यौं ।’

५ गते गोरखाबाट हिँडेरै उनीहरु ७ गते पोखरा आइपुगेका थिए । ठाउँमा ठाउँमा पुलिसले सामान्य सोधपुछ गरे पनि रोकेको थिएन । ‘पुलिसले २ घन्टा रोक्छौं भन्थे, २ घन्टामा त हामी धेरै पार गरिसक्छौं भनेर हिँड्यौं’, पहल केसीले सुनाए, ‘रोक्ने भए भात पकाएर खुवाउन पर्‍यो नि भनेपछि रोकेनन् ।’ तर पोखराको रानीपौवा पुरानोधारामा भने स्थानीयले रोके । ‘कहाँबाट आयौ, कहाँ जाने हो ?’ स्थानीयको प्रश्नमा पनि उनीहरु अडिन खोजेका थिएनन् । तर यतै बस्नेखाने व्यवस्थापन मिलाउने आश्वासन पाएपछि भने अडिए ।

स्थानीय प्रमिल तझ्याले पोखरा ९ का वडा सचिव लोकदर्शन कोइरालासँग समन्वय गरिन् । उनले नवप्रभात माविका अध्यक्ष दीपेन्द्र मर्सानीसँग समन्वय गरेपछि ती मजदुरलाई विद्यालयमै आश्रय मिल्यो । ७ गतेदेखि ती ९ जना मजदुरको बास स्कुलमै छन् । तिलक केसी, नवीन बस्नेत, करुण गुर्ताल, नरबहादुर बुढाथोकी, पहल केसी, सुरेन्द्र विष्ट, प्रकाश केसी, पवन केसी र रमेश केसीलाई खानेबस्नेको सुर्ता छैन । विद्यालयका अध्यक्ष मर्सानी भन्छन्, ‘चामल दिन्छौं, तरकारी दिन्छौं भनेर थुप्रैजना आइरहनुभएको छ, मासु र अन्डा पनि सहयोग आएको छ ।’ स्थानीय आमा समूहले खाना पकाउन सघाइरहेका छन् ।

यी मजदुरलाई भने मासुभात खाएर पोखरामै शरणार्थी हुनुभन्दा घरै जाने मन त । ‘हामी त ६ दिन हिँडेर पुग्ने बाटो ३ दिनमै पुग्ने भनेको’, नरबहादुर बुढाथोकीले भने, ‘राति पनि हिँड्ने, दिउँसो पनि हिँड्ने ।’ उनीहरु गोरखाबाट ५ गते त्यसरी नै दिनरात हिँडेर पोखरा आइपुगेका थिए । पवन केसी पानी परेका बेला प्रतीक्षालयमा २ घन्टामात्रै सुतेर पोखरा आइपुगेको सुनाउँछन् । ‘चिउरा र चाउचाउ किन्यौं, अनि हिँड्यौं’, उनले भने, ‘अगाडि गएको टोली पुगिसकेछ, हामी पनि पुग्छौं भन्या, यहाँ रोकिनुपर्‍यो ।’

सबैले साथमा २ हजार २५ सय रुपैयाँमात्रै बोकेका छन् । पहिला कमाएजति घर पठाइसकेको र बाँकी गोरखामै छाक टार्दै खर्च भएको उनीहरुले सुनाए । पहल भन्छन्, ‘कि हामीलाई घर जाने गाडीको व्यवस्था हुनुपर्‍यो, हुन्न भने हिँडेरै पनि जान्छौं ।’ घरबाट पनि उनीहरुलाई अरु आए तिमीहरु कहिले आउँछौ भनेर सोधपुछ भइरहेको छ । विद्यालय अध्यक्ष मर्सानी यी मजदुरलाई लगिदिन सहयोगी गाडीधनी पनि भेटिएको सुनाउँछन् । भन्छन्, ‘तर सरकारले अनुमति नदिइ हामीले पठाउन मिलेन । यहीं राख्दा खानबस्न समस्या हुन दिन्नौं ।’ अरु यस्ता अलपत्र मजदुर आए पनि खानेबस्नेको समस्या नहुने उनी बताउँछन् । विपदमा सहयोग गर्ने भनेर पहिल्यैदेखि जम्मा गरेको खाद्यान्न पर्याप्त रहेको जानकारी उनले दिए । ‘सहयोग गर्छौं भन्ने थुप्रै हुनुहुन्छ,’ उनले भने । उनी सोमबार दिउँसो तिनै मजदुरको ख्याल गर्दै स्कुलमै दिन बिताइरहेका थिए । यो खबर आजको अन्नपूर्ण पोष्टमा लेखिएको छ ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार