वन्दावन्दीमा अभिभावकका अवसर : वालवालिकालाई हिरा बनाउने मौका

वन्दावन्दीमा अभिभावकका अवसर : वालवालिकालाई हिरा बनाउने मौका

“हामी बालबालिकाले आफु अनुकुलकोे व्यवहार गरोस र सिकोस भन्ने चाहन्छौँ । हाम्रो बुझाइको स्तर अनुसार बालबालिकाहरुले बुझुन भन्ने चाहन्छौँ । तर बालबालिकाहरुको पहिलो काम नै खेल्ने भएकोले उनिहरुलाई रमाइलो वातावरणमा खेल, गित संगित र कथाको माध्यमबाट सिकाउन सक्नुपर्छ ।”

पुरुषोत्तम गिरी

वितेको एक महिनादेखि देशमा वन्दावन्दी छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ भाइरसका कारण अहिले समग्र विश्व नै आतंकित छ । नेपालमा पनि अहिले समग्र क्षेत्र ठप्प छ ।

वन्दावन्दीले तत्कालिन रुपमा देशको अर्थतन्त्र र अन्य क्षेत्रमा ठुलो असर गरेको देखिएतापनि त्यो भन्दा बढी दिर्घकालिन रुपमा यसले शिक्षा क्षेत्रमा नराम्रो असर पारेको छ ।

विद्यालय, कलेज लगायत शिक्षा क्षेत्रका सवै निकाय ठप्प हुँदा लाखौँ विद्यार्थि अहिले घरमै छन् । यो अवस्थामा उनिहरुले नयाँ सिक्ने कुरा त रोकियो नै पहिले सिकेको कुरा पनि विर्सने पो हुनकी भनेर अभिभावकहरुलाई सताएको देखिन्छ ।

अझ भन्ने हो भने घोकन्ते विधिलाइ नै शिक्षण सिकाइको कडि ठान्ने विद्यालयका वालवालिकाहरुले त झन सिकेको कुरा विर्सिसकेको अवस्था छ भनेर एकथरीलाई चिन्ता छ । यस्तो परिवेशमा वालवालिकाले आर्जन गरेको कोरा शैद्धान्तीक ज्ञानलाई व्यवहारिक जीवन उपयोगी र जिवन्त बनाउनका लागी अहिलेसम्म वालवालिकाले आर्जन गरेको ज्ञानलाई बस्तु मार्फत सिपसँग जोड्न सकिन्छ ।

हामी सामाजिक संजालमा घण्टौ विताउन सक्छौँ अझ भनौँ वन्दावन्दी विताउन मुस्किल भएका कुरा आफना साथिभाइ तथा दौतरीमा घण्टौँसम्म फोन र सामाजिक संजालबाट बताईरहेका हुन्छौँ । तर हामी मध्ये धेरैलाई आफ्ना बालबालिकाहरुसँग मिलेर खेल्ने अनि रमाइलो गर्ने फुर्सद नै छैन । वन्दावन्दीको समयमा धेरै मानिसहरुलाई एकान्तवास वस्नु भनेको फलामको च्युरा चपाउनु सरह भएको छ ।

त्यसमा पनि वालवालिकाहरुलाई त झनै सकस छ । यो एक महिनाको अवधिमा वालवालिकासँग घुलमिल हुनु कति कठिन छ धेरैले महसुस गरिसक्नु भएको छ होला । अरु पेशा व्यवसायमा संलग्नहरु जसले शिक्षकले शैद्धान्तिक कुरा मात्रै सिकाएको महसुस गर्नुहुन्छ । उहाँहरुलाई पनि आफ्नो वालवालिका अनुकुलको व्यवहारिक शिप सिकाउने उपयुक्त अवसर हो ।

सायद अहिलेको व्यस्त दुनियाका व्यस्त अभिभावहरुलाई आफ्ना वालवालिकाहरुसँग जोडिने यो नै सुनौलो मौका हो ।

हामीले कहिल्यै पनि यो कुरा विर्सनु हुदैन कि बालबालिकाहरुको पहिले काम भनेको खेल्ने हो । हामीले उनिहरुलाई रमाइलो वातावरणमा खेल, गित संगित र कथाको माध्यमबाट सिकाउन सक्नुपर्दछ । जव तपाँई आफ्नो बच्चासँग पढ्नुहुन्छ, कुरा गर्नुहुन्छ अथवा खेल खेल्नुहुन्छ त्यसले वालवालिकाको सिकाइमा ठुलो प्रभाव पार्दछ । त्यस्तो तपाईको हर्कतले वालवालिकालाई नयाँ कुरा सिक्नमा प्रोत्साहन गर्दछ ।

यसरी तपाईले वालवालिकालाई सिकाउन सक्नुभयो भने यसले उनिहरुलाई मनोरञ्जन प्रदान गर्छ । वालवालिकालाई विद्यालयमा जस्तो फोकस शिक्षणमा नभएको आभास हुन्छ । जसले गर्दा उनिहरुमा उत्सुकता प्रदान गर्छ । तपाँईको बच्चालाई यस्तो वेलामा कुरा गर्न, सुन्न, पढ्न, गाउन र खेल्नको लागी तपाँईको प्रोत्साहन आवश्यक हुन्छ ।

मस्तिस्क विकास सम्वन्धी अनुसन्धानले के कुरा देखाउँदछ भने बच्चाहरुले दिनहँु ठुलो स्वरले पढ्दा उसको दिमागको भाषा र साक्षरता सीपको क्षमता बढ्छ । जसले गर्दा भविष्यमा सिक्नको लागी वालवालिकालाई सवैभन्दा ठुलो आधार तयार हुन्छ । यस्तो अवस्थामा गर्न सकिने केही कुराहरु म जानकारी गराउन चाहन्छु ।

समयतालिका : बालबालिकाहरुलाई समय तालिका अनुसार काम गर्न सिकाउनुहोस । सही समयमा उठ्नु, सहि समयमा तालिका अनुसार खानु, खेल्नु र मनोरन्जन गर्नु बालबालिकाहरुको लागी हितकर हुनसक्छ । यसको लागी कुनै एकरुपताको जरुरी हुदैन ।
बरु समय तालिका बनाउनु पूर्व उनिहरुसँग राम्रोसँग छलफल गर्नुहोस् र हरेक गतिविधिमा उनिहरुको अपनत्व होस र जसले गर्दा उनिहरुलाई त्यो तालिका प्रयोग गर्न सजिलो हुन्छ । वालवालिकाहरुको पुर्वानुमान गर्ने सिपको विकास गर्न समय तालिकाले महत्वपुर्ण भुमिका खेल्न सक्दछ ।
भान्साको काम : हुन त भान्साको कामका वालवालिकाहरुलाई सधै लगाउनु उनिहरुलाई त्यति रुचिकर नहुन सक्छ । तर उनिहरुले गर्न सक्ने भान्साको काम सिकाउनु अहिले वन्दावन्दीको समयमा निकै उपयोगी हुन सक्छ । रोटी बनाउन सिकाउने, सेकाउन सिकाउने, पकाउन सिकाउने, तरकारी केलाउन सिकाउने जस्ता भान्साका कामहरु उनिहरुले रमाइलो मानेर गर्न सक्छन् ।

अर्को कुरा खाना खान नमान्ने बालबालिकाहरुलाई खाना खुवाउने यो नै असरल तरिका हो किनभने बालबालिकाहरु आफैले टिपेको, आफैले केलाएको, आफैले पकाएको वा आफु सहभागि बनेर बनाएको खानेकुरा खान औधि रुचाउछन् । यसमा हामीले सावधानीपुर्वक प्रोत्साहन गर्नु जरुरी छ । बन्दाबन्दीको समयमा उनिहरुलाई खाना पकाउने सम्वन्धी जिवनउपयोगी शिप दिन सकिन्छ ।

कथा सुनाउने : अहिले हामी धेरै मानिसहरु इन्टरनेटको पहुँचमा छौँ । यस वेलामा वालवालिकाहरुलाई उचि जगाउने कथाहरु विभिन्न अनलाइन, मोवाइल एप्स आदिमा पाइन्छन् । उनिहरुको उमेर र क्षमता सुहाँउदा कथा सनाउनका लागी हामीले उनिहरुलाई समय दिनु आवश्यक छ । वन्दावन्दीमा वालवालिकाहरुलाई एकान्तवासमा राख्ने यो सवैभन्दा उत्तम अस्थाइ विकल्प हो ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले युयसएआईडिको प्राविधिक सहयोगमा रमाइलो पढाइ मोवाइल एप्स बनाएको छ । यस्तै ईपुस्तकालय डट ओआरजी, युनिसेफ लगायतका अनलाइनमा पनि उनिहरुलाई आवश्यकता र क्षमता अनुसारका सामाग्री भेट्न सकिन्छ ।

सँगसँगै शारिरीक अभ्यास गर्ने : बन्दाबन्दीको समयमा बालबालिकाहरुलाई स्वस्थ राख्न र उनिहरुलाई खुसि राख्नको लागी यो उपयुक्त विधि हो । वालवालिकाहरुलाई नियमित शारिरिक अभ्यासमा सहभागि गराउनुहोस । यसो गर्दा उनिहरु निकै खुसि हुन्छन् । व्यायमले वालवालिकाहरुलाई ऊर्जाशिल बनाउन सहयोग गर्दछ । तपाँईपनि आफ्नो कसरत पुरा गर्न सक्नुहुन्छ । यसका लागि तपाईले युटुवको सहयोगसमेत लिन सक्नुहुन्छ ।

गुगल अर्थबाट विश्व भ्रमण गर्दा विश्वमा भएका नयाँ नयाँ कुरा बुझ्न सिक्न र धारण बनाउन बालबालिकाहरुलाई मद्धत पुग्छ ।

बालबालिकाहरुसँग कोठाभित्र भएका सामाग्रीहरुको प्रयोग गरी विभिन्न तरिकाले वालवालिकाहरुसँग खेल्न सकिन्छ । जस्तै कोठामा उपलव्ध सामाग्री प्रयोग गरेर कोठामै पार्कको अभ्यास गर्ने, खेलौना सफा गर्ने, आफुलाई मन पर्ने मानिस तथा बस्तुहरुको क्राफ्ट बनाउने, गुगल अर्थबाट विश्व भ्रमण गर्ने गर्न सकिन्छ ।

गुगल अर्थबाट विश्वभ्रमण गर्दा विश्वमा भएका नयाँनयाँ कुरा बुझ्न सिक्न र धारण बनाउन बालबालिकाहरुलाई मद्धत पुग्छ । यस्तै खेलौनाको घर बनाउने जसले गर्दा बालबालिकाहरुलाई विभिन्न गणितिय आकारको धारणा विकास गर्न मद्धत पुग्दछ ।

खोज अनुसन्धानकर्ताहरुले लामो समयदेखि वालवालिकाहरुले सिक्नेको लागी खेल आवश्यक रहेको बताउदै आएका छन् । वालवालिका रमाउनको लागी अभिभावहरु पुरा समय उनिहरुसँग भईरहनुपर्छ भन्ने छैन ।

केवल उनिहरुलाई हामीले अवसर प्रदान गर्न सक्ने हो भने उनिहरु आफे रचनात्मक तरिकाले खेल्न सक्छन् र आफु अनुकुलको वातावरणमा रचनात्मक सीपहरु श्रृजना गर्न सक्दछन् । स्वतन्त्र खेल मार्फत वालवालिकाहरुलाई बोर लाग्न सक्छ जुन ठिक पनि हो ।

किनभने यस्तो भयो भने उनिहरु आफ्नो रिस, कुन्ठा र नकारात्मक भावनालाई नियन्त्रण गर्ने भन्ने सीपको विकास हुन्छ र उनिहरुनै यसबाट कसरी बच्ने भन्ने रचनातमक तरिका पत्ता लगाउन लागि पर्छन् । यसैगरी घरभित्र खानेकुरा लुकाउने र खाजेर खाने खेल, भाषा र गणितसँग जोडेर विंगो, घरमै पिकनिक गर्ने गर्न सकिन्छ ।

यस्तै घरको कोठालाई विद्यालयको कक्षाजस्तो बनाइदिने, केहि शैक्षिक कार्य गर्ने वित्तिकै केहिवेर ब्रेक दिने, चिठ्ठी लेख्न सिकाउने, वाघचाल, बुद्धिचाल, वोर्ड जस्ता खेल खेल्न सिकाउने, डायरी लेख्न सिकाउने, इन आउट र अन अफ खेल खेल्न सिकाउने, योगा सिकाउने, विभिन्न थरीका लुगा लगाउन सिकाउने, अन्र्तरवार्ता लिन र दिन सिकाउने, कागज काटेर सुगा, डुंगा, फुल, डाइनोसर आदि बनाउन सिकाउने, घरमा भएका वाद्यवादनका साधनहरु बजाउन र त्यसको उपयोगिता सिकाउने, चराचुरंगीको दृश्यावलोकन गर्ने र गराउने, हाम्रो वरिपरी भएका जनावर किराफट्यांग्रा आदिको सुचि बनाउन लगाउने र आवाजको नक्कल गर्ने, कोठामै नाच्न र गाउन सिकाउने, बगैचामा काम गर्न सिकाउने तथा हाम्रो वरिपरी भएका हरेक वस्तुहरुलाई देखाएर त्यसको उपयोगिता, समस्या, जिवनचक्र आदि जानकारी दिन सकिन्छ ।

उनिहरुको बुझाइको स्तर अनुसार हाम्रो वोली र व्यवहार हुनु जरुरी छ भने उनिहरुको उमेर अनुसारको विकास क्रमलाई हामीले सहयोग गर्नै पर्छ ।

हामिले एउटा बुझ्नै पर्ने कुरा के छ भने हामी आफु अनुकुल बालबालिकाले व्यवहार गरोस र सिकोस भन्ने चाहन्छौँ अझ भनौँ हाम्रो बुझाइको स्तर अनुसार बालबालिकाहरुले बुझुन भन्ने चाहन्छौँ तर हामीले बालबालिकाहरुको बुझाइको स्तर र उनिहरुको अहिलेको विकसित उमेरको विषयमा कदापी विर्सनु हुदैन ।

त्यसैले उनिहरुको बुझाइको स्तर अनुसार हाम्रो वोली र व्यवहार हुनु जरुरी छ भने उनिहरुको उमेर अनुसारको विकास क्रमलाई हामीले सहयोग गर्नै पर्छ । यसरी उनिहरुको आवश्यकता, बुझाइ र उमेर अनुरुपका विभिन्न क्रियाकलापहरु बन्दाबन्दीको समयमा पनि हामीले उनिहरुसँग गर्न सकेको खण्डमा वन्दावन्दी हामी सवैको लागी एउटा अवसर बन्न सक्छ ।

यो पनि अस्थाई विकल्प मात्रै हो । यदि बन्दाबन्दी अलि लामो समय जाने भयो भने विद्यार्थिलाई सिकाउनका लागी विभिन्न तहका सरकारले सोच्नुपर्ने देखिन्छ । किनभने अहिले सम्म पनि हाम्रा कुनै सरकारसँग अत्यावश्यकिय अवस्थामा हाम्रा विद्यार्थिलाई सिकाउने वैकल्पीक उपाय अहिले सम्म देखिदैन । यसका लागी उचित विकल्प छानेर विद्यार्थिलाई सिकाउने निति सरकारले ल्याउनुपर्छ ।

हामी बालबालिकाले आफु अनुकुलकोे व्यवहार गरोस र सिकोस भन्ने चाहन्छौँ । हाम्रो बुझाइको स्तर अनुसार बालबालिकाहरुले बुझुन भन्ने चाहन्छौँ । तर बालबालिकाहरुको पहिलो काम नै खेल्ने भएकोले उनिहरुलाई रमाइलो वातावरणमा खेल, गित संगित र कथाको माध्यमबाट सिकाउन सक्नुपर्छ ।

जव तपाईँ आफ्नो बच्चासँग पढ्नुहुन्छ, कुरा गर्नुहुन्छ अथवा खेल खेल्नुहुन्छ । त्यसले वालवालिकाको सिकाइमा ठुलो प्रभाव पारेर र प्रोत्साहन दिन्छ । (कभर खबर)

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार