बालिका बलात्कार घटनामा गलत मेडिकल रिपोर्ट दिने दुई डाक्टरमाथि अख्तियारले छानबिन गर्ने

बालिका बलात्कार घटनामा गलत मेडिकल रिपोर्ट दिने दुई डाक्टरमाथि अख्तियारले छानबिन गर्ने

काठमाडौं- बलात्कारको गलत रिपोर्ट दिने २ डाक्टरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ।

अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले ती डाक्टरमाथि विस्तृत अनुसन्धान गर्न निर्देशन दिएको बताए। उनीहरुमाथि अकुत सम्पति र भ्रष्टाचारमा अनुसन्धान गरिने उनको भनाइ छ।

संसद्‌को राज्य व्यवस्था समितिको बैठकमा उनले यसबारे जानकारी गराएका हुन्।

महान्यायाधिवक्ताको अध्यक्षतामा रहेको समन्वय समितिले धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइतलाई कारबाही गर्न सिफारिस समेत गरेको छ।

स्वास्थ्य परीक्षणमा संलग्न सिंह र गोइतले बलात्कार नभएको रिपोर्ट दिएका थिए। त्यसपछि बालिकाका परिवारले पुनः सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। सरकारी वकिलको कार्यालय धनुषाले जिल्ला अस्पताल सिरहामा बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो। परीक्षणमा सिरहा अस्पतालले बालिकामाथि बलात्कार भएको रिपोर्ट दिएको छ।

महान्यायाधिवक्ताको अध्यक्षतामा रहेको समन्वय समितिले समन्वय समितिले जनकपुर अञ्चल अस्पतालका डाक्टर सिंह र गोइतले गम्भीर लापरबाही गर्दै अनुसन्धानको काम प्रभावित बनाएको ठहर गर्दै कारवाही सिफारिस गरेको हो।

‘पीडितको उचाइ र तौलसमेत दुईवटा प्रतिवेदनमा फरकफरक उल्लेख भएको देखिएको छ। बलात्कार भएको किटानी जाहेरी परेको छ। अनुसन्धान गर्दा घटना भएको देखिएको छ। तर डाक्टरले लापरबाही गरी पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको भेटियो’, महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले भने, ‘डाक्टरहरुलाई आवश्यक कारबाहीका लागि संलग्न कागजातको प्रतिलिपि साथै राखी नेपाल मेडिकल काउन्सिलमा पत्र पठाउने निर्णय भएको छ।’

धनुषा जनकनन्दनी गाउँपालिका २ का करण मण्डलले २०७५ भदौ ८ मा बालिकामाथि जबर्जस्ती करणी गरेका थिए। बालिकाका बुबा रोजगारीको सिलसिलामा भारत गएको र आमा नभएका कारण उनी साना भाइबहिनीको साथमा घरमा बस्ने गरेकी थिइन्। कोही नभएको मौका पारी छिमेकी मण्डलले जबर्जस्ती करणी गरेको प्रहरीको अभियोग छ। पुर्पक्षका लागि थुनामा रहेका मण्डलले अदालतसमक्ष अभियोग स्वीकार गरिसकेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार