अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापार सहमति

अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापार सहमति

वासिङटन : क्यानडा र अमेरिकाका व्यापार मध्यस्थकर्ताहरूबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) मा आवश्यक परिमार्जनसहित प्रतिस्थापन गर्न सहमत भएका छन् । दुबै देशका सरकारका तर्फबाट जारी विज्ञप्तिमा नयाँ सम्झौताको नाम अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (युएसएमसीए) हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब २५ वर्षअघि सम्पन्न नाफ्टा सम्झौता रद्द गर्ने पटकपटक चेतावनी दिँदै आएका थिए । हाल प्रतिस्थापित सम्झौताबाट बढी स्वतन्त्र बजारलाई बढावा दिने, स्वच्छ व्यापार हुने तथा क्षेत्रमै बलियो आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रील्यान्डले संयुक्त वक्तव्य पनि जारी गरेका छन् ।

एक वर्षभन्दा बढी समयदेखि चलेको वार्ता तथा छ सातादेखिको तीव्र छलफलपछि अमेरिका र क्यानडाबीचको आपसी मतान्तर सुल्झाउन सहमति भएको हो । यो नयाँ सम्झौताबाट यस क्षेत्रमा बसोवास गर्ने करिब ५० करोड जनतालाई फाइदा पुग्ने तथा वार्षिक १० खर्ब अमेरिकी डलरको व्यापार हुनेछ । क्यानडाले आफ्नो दुग्धजन्य बजार अमेरिकाका लागि थप खुला गर्नेछ तर क्यानडाले माग गरिरहेको विवाद निरुपण प्रावधानलाई अमेरिकाले परिवर्तन गर्नेछैन ।

यो सहमतिसँगै मेक्सिकोका राष्ट्रपति एनरीक पीना नीतोको कार्यकाल आगामी डिसेम्बर १ तारिखमा सकिनुअगावै सम्झौतामा हस्ताक्षर हुने वातावरण तयार भएको छ । अमेरिकी कानुनबमोजिम यो सम्झौतापत्रमा हस्ताक्षर हुनु ६० दिनअघि अमेरिकी कंग्रेसमा प्रस्तुत गर्नुपर्छ ।

अमेरिका र मेक्सिकोबीच नाफ्टालाई नयाँ स्वरूपमा अगाडि बढाउने विषयमा गत अगस्तमै सहमति भइसकेको छ । त्यसयता क्यानडाका व्यापार मध्यस्थकर्ता लगातार वासिङटनमा रहेर विवादित विषयमा छलफल गरिरहेका छन् ।

ट्रम्पले क्यानाडाली अधिकारीहरूको व्यवहारका बारेमा निरन्तर असन्तोष प्रकट गरिरहेका छन् र पछिल्लोपटक क्यानडाका प्रधानमन्त्री जस्तिन त्रुदोसँग भेट्न समेत राष्ट्रपति ट्रम्पले अस्वीकार गरेका थिए । यद्यपि क्यानडाका अधिकारीले दुई नेताबीच भेटघाटको कुनै कार्यक्रम नरहेको भन्दै वक्तव्य दिएका थिए । अमेरिकी प्रशासनका एक उच्च अधिकारीले पछिल्लो पुनर्लेखन अत्यन्त सकारात्मक रहेको बताउँदै यो सम्झौता अमेरिका, मेक्सिको र क्यानडा तीनै देशका लागि जित भएको जानकारी दिए ।

नयाँ सम्झौतामा कामदारको पक्षमा बलियो संरक्षण रहेको, वातावरणीय नियमहरू कडा बनाइएको र डिजिटल अर्थतन्त्रलाई पनि यसपटक समावेश गरिएको छ । बौद्धिक सम्पत्तिको संरक्षणमा बलियो आधार तयार पारिएको छ । यसबाहेक, व्यापार कानुन कार्यान्वयनमा बदमासी गर्न नपाइने प्रावधान राखिएको तथा ड्युटी–फ्री बजारको फाइदा लिनबाट अरू मुलुकलाई नियन्त्रण गर्ने प्रयास यसपटक गरिएको अमेरिकी अधिकारीको भनाइ छ ।

नयाँ सम्झौताले कारमाथि लगाइने भनिएको २५ प्रतिशत कर मेक्सिको र क्यानडाका हकमा लागू नहुने व्यवस्था गरेको छ तर स्टील र आलुमिनियममा वृद्धि गरिएको करका विषयमा भने अलग्गै वार्ता हुने बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार