केपी ओली सकिने कि, जोगिने

कुलचन्द्र वाग्ले

पूरा देश बन्दाबन्दीमा (लकडाउन) छ । मानिस गृहबन्दी भएका छन् । विश्व नै कोरोना भाइरस महामारीबाट त्राहिमाम् भएको छ । चीनबाट निस्किएर कोरोना दुनियाँभर पैmलिएको छ । नेपाल पनि यसको चपेटामा छ । एक्काइसौँ शताब्दीको यो दुर्दान्त परिस्थिति हो । विश्व जीवनलाई दुःखद झड्का दिएको कोरोनाले विश्व चरित्रलाई ‘यु टर्न’गर्दिने विश्लेषण आइरहे छन् । दुनियाँलाई कोरोना रोक्ने चिन्ता छ । तर, नेपालका सरकारी कम्युनिस्टहरुमा चाहिँ सरकार फाल्ने र त्यहाँ आफू पुग्ने नयाँ भाइरस सँगसँगै फैलिएको छ । भर्सेला परोस् कोरोना ! अब प्रधानमन्त्री केपी ओली सकिने कि जोगिने ?

नेपाल अहिलेसम्म कोरोना चिन्ताको उपल्लोस्तरसम्म पुगेको छैन चिन्ताजनक परिस्थिति भए पनि । संक्रमितको संख्या भने थपिँदै छन् । थपिँदा, थपिँदा कति पुग्ने हो भन्न सकिँदैन । तर, स्वास्थ्य सेवाको प्रभावकारिता हेर्दा अदृश्य कोरोना जीव रोक्ने भरपर्दो अवस्था बिल्कुलै छैन । यही कठिन स्थितिलाई पराजित गर्न खरिद गर्ने सामग्रीमा सरकारका मन्त्री र तिनका आफन्त नै भ्रष्टाचारमा मुछिए ।

भ्रष्टाचारमा हात दिने कम्पनीलाई नै सरकारका तर्फबाट पुरस्कृत गर्ने समाचार आएका छन् । अनधिकृत उसको खरिद सामग्री किनेर सरकारलाई दिन अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सरकारी निकायले नै दबाब दिएको सार्वजनिक भएको छ । कोरोनाभाइरस मात्रै होइन नेपालमा भ्रष्टाचारको भाइरस र सरकार पोषित भ्रष्टाचारको सहभोक्ता कम्पनीले थप अनधिकृत सुविधा पाउने हैसियतको भाइरस (ताकत) पनि फैलिएको छ । विश्व एउटै कोरानाको महामारी रोक्ने कोसिस गर्दैछ । नेपाल भने योसँगै भ्रष्टाचारको असीमित भाइरस र सत्ता ‘उठापटक’ को जीवाणुसँग एकैपटक जुध्ने कसोरी हो ?

झन्डै दुईतिहाइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार कोरोना भाइरसले भन्दा पार्टी जीवाणुले घेरिएको माकुरो भएको छ । ‘सबै छोडी पुछारमा हात’ भनेजस्तै देश,जनता र सामना गर्नुपर्ने अघिल्तिरको समस्या गौण मानेर कम्युनिस्टको कुर्ची घोडदौड सार्वजनिक नै छ ।  भ्रष्टाचार र नेपालको कम्युनिस्ट सरकारको चाला ‘…लाई भन्दा देख्नेलाई लाज’ भएको हुनुपर्छ । ‘नड्.गा नाचे हजार दाउ’ उखान सम्झाउने सरकारी कम्युनिस्ट चरित्रले यिनकै पक्षपोषण गर्दै आएको उत्तरी छिमेकी चीनलाई सबैभन्दा बढी लज्जित बनाएको हुनुपर्ने हो । तर, कम्युनिस्टलाई सत्तामा पुगेसँगै लज्जा पनि बाँकी सायदै ख्याल रहन्छ ।

नेपालको राजनीतिमा विश्वासिलो नेता अहिले बाँकी छैन । पछि विश्वास ककसले आर्जन गर्ने हुन् ठोकुवा गर्ने वैज्ञानिक आधार पनि छैन । कोरानाले समाप्तिसँगै नयाँ संस्कार बस्ने, बसाउने दाबाबीच नेपालको राजनीतिले पनि कम्युनिस्टको ‘छिनाझपटी’ ले अर्कै स्थिति ल्याउने अनुमान छ । त्यो जो जसलाई प्रिय लागोस् वा अप्रिय । कोरोना चीनबाट आयो, फैलियो । नेपालको राजनीतिमा अहिलेको कम्युनिस्ट ‘भाइरस’ले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको कोखको ‘बु’बाट मौलाउने मलजल पायो ।

केपी शर्मा ओलीले दम्भ गर्थेनन् भने सम्पूर्ण नागरिक अधिकार खुम्च्याउने प्रयत्न गर्थेनन् भने, आलोचक, समालोचक र सुझाव दिनेलाई थला पार्ने मूढमति देखाउथेनन् भने, विपरीत तर पनि शालीन विचारलाई अरिंगालको गोलो खन्याउने ध्याउन्ना गर्थेनन् भने, संवैधानिक र राज्यका सबै अधिकार आफँैमा ‘लकडाउन’ पार्ने लुई चौधौंको सपना देख्थेनन् भने, विरोध लेख्नेलाई ‘साइबर ल’ लगाएर थुन्ने, दण्ड दिने र अपहरणको शैली प्रोत्साहित गर्थेनन् भने, राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतिकरण गर्थेनन् भने, अनि प्रतिपक्ष वा बहुल विचारलाई समट्ने हैसियत प्रदर्शित गर्थे भने आफँैलाई त्राहिमाम् पार्ने पार्टीभित्रको कम्युनिस्ट ‘जीवाणु’ यति शक्तिशाली पक्कै हुने थिएनन् । नेकपाको राजनीतिमा यतिबेला फैलिएको ‘भाइरस’को उत्पादक अरु होइन केपी शर्मा ओली आफैँ हुन् ।

लोकतन्त्रका लागि चौध वर्ष जेल बसेको गौरवगाथा गाउन होइन चरित्रमा देखाएको भए प्रधानमन्त्री केपी शर्मालाई अद्भूत अवसर प्राप्त थियो । अवसर चिन्ने दर्शन दृष्टि राजनेतामा हुन्छ । ओलीमा नहुनु पनि अस्वाभाविक भएन । तर, लोकतान्त्रिक व्यवहार त गर्नसक्थे नि त्यो पनि भएन ! उनी असफलको पगरी आफ्नै पार्टीका नेताबाट पाउने अवसर अघिल्तिर घाँटी थाप्ने अवस्थामा छन् । भलै पद जोगियोस् तर त्यो पगरी उनले पाई नै सके ।

नेकपामा अलिकति भरपर्दा भने केपी शर्मा ओली नै हुन् । तर, आफ्नै पीरोले मरिच झैं चाउरिन थाले, बिग्रिए । उनको दम्भ र भ्रष्टाचारीको संरक्षण गर्ने शैलीले उनैलाई बितायो । उनले पार्टीका भ्रष्ट भाइरसलाई बचाउने मर्दो कोसिस गरे । जग्गा दलालीको निर्णायक नायकलाई बचाए, जग्गा दलाललाई जोगाए, सेक्युरिटी प्रेस खरिद र स्कुल कम्प्युटर ल्याबका भ्रष्ट भाइरसको ढाल बने, वाइड बडी, न्यारो बढी जहाज र तेत्तीस किलो सुनको भ्रष्ट गाथा छोप्न पर्दा बनेर उभिए । अनेकौँ भ्रष्टकाण्ड दबाए । अहिले आफैँले संरक्षण गरेका भ्रष्ट‘भाइरस’ कोरोनाझै फैलिएका छन् । यद्यपि सबै भाइरस कोरोना हुँदैनन् । कुनै त हितकारी पनि हुन्छन् ।

प्रधानमन्त्री बनेपछि केपी ओलीले बाँडेका दर्जनौ दिवास्वप्नबीच तीनओटा मुख्य कुरा भने । आफूलाई लोकतन्त्रवादी दाबा गरे, भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न  र जनतालाई खुसीसँगै सुख समृद्धि दिन्छु भने । जनता लोभिए । तर, नेकपाका अध्यक्ष ओली प्रधानमन्त्री भएपछि बोलेका कुनै पनि वाचा पूरा गर्न त के सही दिशा दिन पनि असफल भए । वाचाभन्दा उल्टो काम गरे । परिणामले प्रमाणित गरेकै छ । यही कारण पार्टीभित्रै उनको उछित्तो स्वाभाविक मानिएको हो ।

जनता गृहबन्दी छन् । देश महिनाभन्दा बढी बन्दाबन्दीमा बन्दी छ । फैलिँदो कोराना भाइरस सामु सरकार र त्यसको पार्टी ‘लुक टाउन’ मा मस्त देखिन्छ । असहाय नागरिक गाउँघर जान पाएका छैनन् । श्रमिक भोकमरी झेल्दैछन् । केहीका घरको खाने जोगाड सकिँदै छ । रमाइला दिन खोसिएको छ । हाँसोमा हाँसो छैन । पर भेट हुनेसँग बोलीमा औपचारिकता मात्र । तर, कम्युनिस्ट जात्रा यस्तोमा पनि मनोरञ्जक छ ।

कोरोना भाइरसले ठेगान भेट्ने भ्याक्सिन नपाएजस्तै नेकपाले नेतृत्व पाएको छैन । सबै ‘गलगाँड’ जस्ता अर्थात् राजनीतिका गलगाँड, अझ लोकतन्त्रका लागि त ऐजेरु । नागरिकले यतिबिघ्न समस्या भोग्दा, सरकारको सहयोग चाहँदा, सुरक्षाको अनुभूति खोज्दा, यही बेला चलेको कम्युनिस्ट हस्तीहरुको ‘भाले भिडन्त’लाई गलगाँड भन्दा सुन्दर उपमा के भन्ने ?

गफ गर्न सिपालु, गुड्डी हाँक्न माहिर, जनता झुक्याउन पोख्त, हल्लाका गोयवल्स र लोकतन्त्र विरोधी विकृतिका जड नेपालका कम्युनिस्टहरु (नेकपा) सरकार चलाउन सक्षम छैनन् भन्ने चाहिँ कोरोना काण्डका बीच समेत प्रमाणित भएको छ । मतदाता आपैmँले दिएको मतको परिणाम भोग्न अभिशप्त भएका छन् ।

अहिलेको सरकारी उहापोहबीच नेकपाका शीर्ष नेताहरुको सान्दर्भिकता सकिएको देखिन्छ । सान्दर्भिकता नरहे पनि विकल्पहीनताको बलमा यिनीहरु टिकेको बुझिन्छ । अझै टिक्लान् – अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपाल । यिनीहरु टिकेको पार्टीभित्र विकल्प तयार छैन र प्रतिपक्षमा पनि कुनै भरपर्दो नेता छैन भन्ने नै कारण हो । नेपालका सबै पार्टीका अहिलेका पदासीन नेता केही समयका पाहुना हुन् भन्ने त बुझिन्छ तर त्यो ठाउँ कस्ताले लिन्छ वा कसैले लिन पाउँदैन भन्ने प्रश्नमात्र हो । स्थिर बाटो लिएको भनिने नेपाली राजनीति फेरि चौबाटोमा पुगेको छ । त्यसैले अन्योल छ । भन्न सकिँदैन आगामी दिन अहिलेको झरी, बदली मौसमजस्तै हुने हो वा अर्कै उज्यालो ?

कोरोनाभाइरस कहिले सकिन्छ अझै भन्न सकिएको छैन । नेपालको सरकारी कम्युनिस्टको (अ) राजनीतिमा चाहिँ अहिले प्रधानमन्त्री केपी ओली सकिने कि जोगिने भन्ने हो । जोगिने धेरै समय र उपाय उनले खेर फाले । अब भने कुर्चीबाट उनलाई ओर्लनु पर्ला वा ओरालिने छ । फेरि अर्को कुनै कम्युनिस्ट त्यसमा आसिन हुने छ, प्रवृत्ति उही, उस्तै लिएर, प्रस्तुति चाहिं फरक देखिएला कि ? जनताका हकमा ‘कागलाई बेल पाके’जस्तो । तर, रहे उनी नै भने अधिनायकी इख थप जब्बर पार्ने नै छन् । (बाह्रखरी डटकम )