रक्तसञ्चार केन्द्र नहँुदा रगतका लागि सेना प्रहरीकै भर

रक्तसञ्चार केन्द्र नहँुदा रगतका लागि सेना प्रहरीकै भर

बैतडी, १८ असोज (रासस) ः रक्तसञ्चार केन्द्र नहुँदा बैतडीमा समस्या हुने गरेको छ । जिल्ला अस्पतालमा आकस्मिकरुपमा कुनै बिरामीलाई रगत चाहिएमा जिल्लास्थित रहेको शत्रसुमर्दन गुल्म, जिल्ला प्रहरी कार्यालयका धाउनुपर्ने बाध्यता रहेको छ ।

रगतका लागि वर्षौंदेखि सेना तथा प्रहरीकै भर पर्नुपरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर जगदीशचन्द्र विष्टले बताउनुभयो । शल्यक्रियाबाट सुत्केरी गराउने सेवा शुरु भएयता रगत खोज्न समस्या हुँदै आएको छ ।

उहाँले भन्नुभयो, “रक्त सञ्चार केन्द्र र रक्तदाताको अभावमा बिरामीका आफन्त र स्वास्थ्यकर्मीले समस्या भोग्दै आएका छौँ ।” रगतको व्यवस्था गर्न नसक्दा जिल्ला अस्पताल आएका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेको बताइएको छ ।

रक्त सञ्चारको सुविधा नहँुदा दुर्गम गाउँबाट आएका सर्वसाधारणलाई समस्या हुँदै आएको छ । चिनजानका भरमा बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्छ । विकल्पमा सेना र प्रहरी कार्यालय जान्छन् ।

त्यहाँ नपाए अन्य उपाय नै छैन । रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा सञ्चय गर्नसक्ने अवस्था छैन । “अस्पताल पुग्ने बित्तिकै रगत आवश्यक हुने बिरामीका आफन्तलाई खोज्न लगाउँछौँ ।” प्रमुख डाक्टर विष्टले भन्नुभयो, “सेना, प्रहरी, स्वास्थ्यकर्मीबाट जुटाउन नसके रिफर गर्नुपर्ने अवस्था छ ।”

अस्पतालमा सेवाका लागि बैतडीसहित दार्चुला र बझाङबाट समेत उपचारका लागि यहाँ आउने गरेका छन् तर आकस्मिक रक्त सञ्चार केन्द्र भए पनि रक्तदाताको अभावले उपचारमा समस्या हुँदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार