सार्वजनिक सवारीमा घटेको भाडादर लागू भएन

सार्वजनिक सवारीमा घटेको भाडादर लागू भएन

काठमाडौँ । सिन्धुपाल्चोक बाह्रबिसेकी प्रमिला तामाङ गत बिहीबार ३ सय ५० रुपैयाँ गाडी भाडा तिरेर काठमाडौं आइन् । तर काठमाडौं–बाह्रबिसेको भाडा अहिले २ सय ९५ रुपैयाँ मात्र छ । पहिला ३ सय ८ रुपैयाँ थियो । वाग्मती सरकारले गत जेठ ११ मा प्रदेश राजपत्रमा सूचना प्रकाशन गर्दै उक्त रुटको भाडा २ सय ९५ रुपैयाँ निर्धारण गरेको हो ।

गाडीवालाहरूले भने चाहिनेभन्दा ५५ रुपैयाँ बढी भाडा असुलिरहेका छन् । ‘भाडा घट्यो भनेको सुनेकी हुँ,’ उनले भनिन्, ‘जिल्लातिर त पहिलाकै जति असुलिरहेका छन् ।’ वाग्मती प्रदेशस्थित श्रम, रोजगार तथा यातायात मन्त्रालयले घटेको भाडा कार्यान्वयनमा ल्याउन सकेको छैन ।

समस्या प्रमिलाको मात्र होइन, काठमाडौं उपत्यकामा स्थानीय रुटमा चल्ने सवारीसाधनले पनि घटेको भाडा कार्यान्वयन गरेका छैनन् । उपत्यकाको भित्री रुटमा चल्ने सवारीसाधनले त झन् आफूखुसी भाडा असुलिरहेका छन् ।

भाडा घटेको दुई साता हुन लाग्दा पनि पहिल्यैको भाडा लिने गरेको काठमाडौं जयबागिश्वरीका सरोज अर्याल बताउँछन् । ‘जयबागिश्वरीबाट पेप्सीकोला नियमित रूपमा सार्वजनिक गाडी चढेर जान्छु,’ उनले भने, ‘सधैं २५ रुपैयाँ भाडा तिर्छु, भाडा घटेको सुने पनि गाडीवालाले अहिलेसम्म लागू नै गरेका छैनन् ।’ भाडा घटेका बेला किन बढी लिएको भनेर सोध्दा उल्टै थाहा छैन भन्दै गाडीवालाहरू पन्छिने गरेको उनले गुनासो गरे ।

‘पहिला भाडा बढ्नसाथ गाडीवालाहरूले गाडीमै टाँस्थे, बढेकै दिनबाट बढी भाडा उठाउँथे,’ उनले भने, ‘तर अहिले भाडा घटेको दुई साता हुन लाग्यो, न घटेको भाडादर गाडीमा टाँसिएको छ, न गाडीवालाले घटेको भाडादर नै लागू गरेका छन् ।’ अहिले पनि व्यवसायीले आफूखुसी भाडा उठाइरहे पनि नियामक निकाय मूकदर्शक बनेको छ । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी प्रयोग गर्ने धेरैजसो यात्रुको गुनासो एउटै छ— कागजमा भाडा घट्यो, गाडीवालाले घटाएनन् । कपन भंगालकी सावित्री श्रेष्ठ सुरुमा २० रुपैयाँ भाडा तिरेर चाबहिल पुग्थिन् । पछि गाडीवालाले भाडा बढेको भनेपछि २५ रुपैयाँ तिर्न थालिन् ।

‘सुरुमा २० रुपैयाँ भाडा हो, बढी पैसा तिर्दिनँ भन्दा भाडा बढेको छ, २५ रुपैयाँ नतिर्ने भए गाडी नचढ्नू भन्दै पैसा उठाउनेले हप्कीदप्की नै गरे,’ उनले भनिन्, ‘अहिले भाडा घट्यो भनेर सुनेकाले किन बढी भाडा लिएको भनेर सोध्दा गाडीवालाहरू बोल्दैनन्, जबर्जस्ती बढी भाडा उठाइरहेका छन् ।’ जबकि भंगाल (साफ्रेढुंगा पुल) देखि चाबहिलसम्मको दूरी करिब ५ किमि छ । वाग्मती प्रदेश सरकारले राजपत्रमा प्रकाशन गरेको भाडादरको सूचीमा ५ किमि दूरीसम्म घटेको भाडा १९ रुपैयाँ कायम छ । गाडीवालाहरूले भने यही दूरीमा २५ रुपैयाँ उठाइरहेका छन् । सरकारको निर्णय पनि अव्यावहारिक रहेको यात्रु सुन्दर घिमिरेको दाबी छ ।

‘गाडी चढ्नेबित्तिकै २० रुपैयाँबाट घटाएर सरकारले न्यूनतम भाडा १९ रुपैयाँ कायम गरेको छ,’ उनले भने, ‘यो भाडा कति व्यावहारिक छ ? न यात्रुले १९ रुपैयाँ दिन सक्छन्, न गाडीवालाले २० रुपैयाँ दिँदा एक रुपैयाँ फिर्ता दिन्छन् ।’ प्रदेश सरकारले गाडीवालालाई पोस्ने गरी अव्यावहारिक भाडादर कायम गरेको उनको आरोप छ ।

‘होइन भने यात्रुले १९ रुपैयाँ तिर्नेभन्दा २० रुपैयाँ दिँदा गाडीवालाले १ रुपैयाँ फिर्ता दिने नियम कडाइसाथ कार्यान्वयन गरिनुपर्छ,’ उनले भने, ‘नत्र देख्दादेख्दै एक रुपैयाँ छाडिदिँदा एक याुत्रबाट एक रुपैयाँका दरले गाडीवालाले दैनिक कति असुल्छन् । त्यसैले यस्तो निर्णय कसलाई फाइदा पुग्ने गरी गरिएको हो, भाडादर कायम गरिएकैबाट थाहा हुन्छ ।’ उपत्यकामा घटेको भाडाअनुसार १० किमिसम्म २५, १५ किमिसम्म ३०, २० किमिसम्म ३३ र २० किमिभन्दा माथि ३८ रुपैयाँ भाडादर कायम गरिएको छ । काठमाडौंदेखि वाग्मतीभित्रकै जिल्लामा जाने सवारीसाधनको घटेको भाडदर कायम गरिएको छ ।

काठमाडौं उपत्यकामा चल्ने सवारीमा न्यूनतम भाडा १९ रुपैयाँ कायम भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताए । ‘यातायात व्यवसायीसँग १ रुपैयाँ फुटकर नभएर २० रुपैयाँ लिएको हुन सक्छ,’ उनले भने, ‘तर यसबाहेक अन्य तरिकाले बढी भाडा लिनु भनेको यातायातभित्रको विकृति हो, नियामक निकायले अनुगमन गरेर कारबाही गर्नुपर्छ ।’

सबै गाडी कम्पनीहरूले बढेको भाडाबारे समितिहरूलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ । ‘जुन दिन भाडा घटेको कुरा प्रदेश राजपत्रमा प्रकाशन भयो,’ उनले भने, ‘त्यही दिनबाट हाम्रोतर्फबाट समितिहरूलाई सर्कुलर गरीसकिएको छ ।’ सम्बन्धित निकायले घटेको भाडा कार्यान्वयन भए/नभएकोबारे कडाइसाथ अनुगमन गरे घटेको भाडा पूर्णरूपमा कार्यान्वयनमा आउने उनको भनाइ छ ।

भाडा बढेकोबारे प्रदेश मन्त्रालयबाट आधिकारिक रूपमा चिठी नआएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जनाए । ‘भाडा बढी लिएको भनेर गुनासो कमै आएका छन्,’ उनले भने, ‘गुनासै आएको खण्डमा बढी भाडा लिनेलाई कारबाही गर्ने गरिएको छ, कारबाहीका रूपमा ५ हजार रुपैयाँ जरिवाना हुन्छ ।’ बढी भाडा उठाएकाबारे आफू जानकार नभएको र सोमबारबाटै यसको कार्यान्वयनमा कडाइ गरिने वाग्मती प्रदेशअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव अस्मान तामाङले बताए । आजको कान्तिपुर दैनिकबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार