नरैनापुरबाट सिक्नुपर्ने पाठ

दिपशिका अर्याल                                                चीनको वुहानबाट फैलिएको महामारी युरोप,अमेरिका हुँदै एसिया पसेसँगै नेपाल नि अछुतो रहन पटक्कै सकेन। एउटा केस आउँदा सबैका लागि नयाँ थियो र त्यति चर्चा नि भएन, दोस्रो केस आएसँगै देशमा लकडाउन सुरू भयो।

सरकारको जति नै प्रयास बाबजुद देशमा बोर्डरबाटै कोरोना आइपुग्यो नरैनापुर-५ मा, रोजगारी गुमाएका मान्छे आफ्नो देश नआए जानु चाहिँ कहाँ? उनी पनि वैशाख ३० मा आइपुगे दीपेन्द्र प्राविको क्वारेन्टिनमा।

कोरोना भाइरसको बारेमा थाहा नहुने र नसुनेको मान्छे सायद कम नै होलान् अहिलेको अवस्थामा, घरभन्दा क्वारेन्टिन नै सुरक्षित भन्ने सोचे नि होला, घर गए घरकोलाई रोग सर्ने डर अर्कोतिर अहिले नियम नै छ क्वारेन्टिनमा जानुपर्ने, यसैगरी उनी पनि क्वारेन्टिनमै गए।

शनिबार साँझबाट उनको अवस्था गम्भीर हुन्छ, २ घण्टासम्म उनलाई बान्ता भैरहन्छ.. उपचारका लागि नेपालगञ्ज लग्नुपर्ने हुन्छ तर कसले लैजाने? न त एम्बुलेन्स चालक कोही आउन मान्छन् न त त्यहाँ भएका रेखदेखका लागि राखिएका स्वयंसेवकसँग केही स्वास्थ्य सामग्री छ, त्यहाँ लडेको लडाइँ उनको  मृत्यु  हुन्छ…

गल्ती कसको? टेस्ट गर्न चाहिने सामान समयमा आउन सकेको छैन, तर मर्न लागेर भुइँमा लडेकोलाई अस्पताल लैजान किन सकेनौं हामी? क्वारेन्टिनमा आउनेको गल्ती कि हामी उनलाई समयमै उपचार दिन नसक्नेको गल्ती? क्वारेन्टिन खास केका लागि? सुरक्षास्थल कि यातनास्थल? मृत्युपश्चात जाँच गर्दा कोरोना पोजिटिभ देखियो .. क्वारेन्टिनमा बस्नुपर्ने समय पनि नसकेको र स्वास्थ्य जाँच गर्ने सामग्रीको अभावले गर्दा पनि होला पहिले कोरोना जाँच भएको रहेनछ, जाँच नभए पनि उनी बिरामी भएपछि अस्पताल लग्नु पर्ने होइन र?

कोरोना पोजिटिभ हुँदैमा मान्छे मर्दैन .. यसरी क्वारेन्टिनमा हुँदाहुँदै मान्छे मर्नु भनेको एकदमै लाजमर्दो कुरा हो, विज्ञहरूले यसलाई ‘सिस्टम फ्यलुयर’पनि भन्नुभएको छ।

हामीले सबैलाई क्वारेन्टिनमा आउनुस् भन्यौं उहाँहरू आउनुभयो अब क्वारेन्टिनमै मान्छे मर्न लागेपछि एउटा प्रश्न चिन्न उठ्यो किन जाने क्वारेन्टिन? बरू घरमै सुरक्षित हिसाबले बस्छु, घरमा त बिरामी परें भने नि अस्पताल लग्छन्…. यो घटनाले मेरो मात्र होइन धेरैको मनमा छोएको होला.. आखिर किन यस्तो भयो, हामी के कुरामा चुक्यौं? अबको दिनमा यो घटना नदोहोरियोस् ..

विश्व स्वास्थ्य संगठनको क्वारेन्टिनमा हुनुपर्ने आफ्नै मापदण्ड छ-त्यो सायद अहिले धेरै ठाउँमा छैन।

कतै सुनिन्छ क्वारेन्टिनबाट मान्छे भागे रे अनि प्रहरीद्वारा फिर्ता ल्याइयो। किन सोचेनौं हामीले कि आखिर उनीहरू किन भागे? गर्मी महिना बस्ने राम्रो व्यवस्था छैन, राति लामखुट्टे लाग्छ एउटा झुल छैन, खाने सुत्ने राम्रो व्यवस्था छैन। हात धुने साबुन छैन, महिला, गर्भवती, बच्चा र वृद्धलाई राम्रो व्यवस्था छैन। यस्तोमा कोरोनाले भन्दा अरू नै सरूवा रोग फैलन र ज्यान नै लैजान सक्छ।

संघीयता भएको देशमा त स्थानीय तहको लागि काम गरी देखाउने यो एउटा सुवर्ण मौका हो, कसैको आदेश कुर्नु पर्दैन आफूसँग भएको स्रोतसाधन चलाएर आफ्नै ठाउँको जनताको सेवा गर्न पाइने समय हो यो!

संघीय सरकारले राहत बाँड्न भन्यो बाँड्यो, क्वारेन्टिन बनाउन भन्यो स्कुलको बेन्च जोडेर बनाइयो! अहिले त आफ्नो ठाउँलाई कस्तो बनाउने,कसरी लैजाने आफ्नै हातमा छ। केन्द्रीकरण भएको भए पो अरूको जवाफ पर्खिनु!

देशमा प्राकृतिक प्रकोप र महामारी जहिले नि आउन सक्छन्, खासमा पूर्वतयारी चाहिने हो तर त्यो भएन। लकडाउनको सुरूको २-३ हप्ता हामीसँग समय पर्याप्त थियो तर त्यसको उचित सदुपयोग गर्न सकेनौं।

अब त एउटा, दुइटा गर्दागर्दै कम्युनिटी ट्रान्समिसनमा गइसक्यो। अझै समय छ केही गर्न सकिन्छ; यो सबै जनशक्ति कै अभावले हो भने मेडिसिन या पब्लिक हेल्थ पढ्दै गरेका विद्यार्थीलाई क्वारेन्टिनमा राख्न सकिन्छ, उनीहरू प्रोफेसनल हैनन् तर सामान्य सेवा तथा सहयोग गरी अस्पताल पुर्‍याउन भने पक्कै सक्छन्, जसले गर्दा मान्छेको ज्यान नि जोगिन्छ र जनप्रतिनिधिहरूको कामको लोड नि कम हुन सक्छ। त्यो समय अलि व्यवस्थित क्वारेन्टिन बनाउनतिर लाग्न सकिन्छ ।

हामीलाई अरूलाई दोष लगाउने र आफू बच्न धेरै सजिलो छ। पहिले कोही बिरामीको मृत्यु भयो भने डाक्टरको लापरबाहीले भन्दिए भएको थियो। अहिले कोरोनाले भन्दिए भयो! मान्छे धनि-गरिब,पढेको-नपढेको, सहर-गाउँ, बच्चा- बुढो जस्तो नि हुन सक्छ तर ज्यानको मूल्य सबैको एउटै हो।

गरिब हुँदैमा मर्नु कसैलाई नपरोस्। स्वास्थ्य सेवा हाम्रो नेपालको संविधानले नै दिएको आधिकार हो, यसको उपयोग गर्न सबैले पाउनु पर्छ, मर्ने र बाँच्ने कसैको भाग्यमा निर्भर नहोस्… (सेताेपाटि डटकमबाट)