सोती घटनका बिषयमा नेकपाले भन्यो : अझै पनि दलित समुदायमाथि विभेद र हिंसा देखापर्नु गम्भीर चिन्ता

सोती घटनका बिषयमा नेकपाले भन्यो : अझै पनि दलित समुदायमाथि विभेद र हिंसा देखापर्नु गम्भीर चिन्ता

जेठ २१ काठमाडौँ

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा गत जेठ १० गते घटेको घटनाको ११ दिनपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफनो औपचारिक धारणा सार्वजनिक गरेको छ । नेकपाका महासचिब विष्णु पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘हालै रुकुम पश्चिममा घटित घटनाले हामी सबैलाई गम्भीर र चिन्तित तुल्याएको छ । हाम्रो पार्टी उक्त विभत्स, त्रासदीपूर्ण र आपराधिक कूकृत्यको घोर निन्दा र भर्त्सना गर्दछ । महासचिव पौडेलले जारी गरेको विज्ञप्तिमा छ, ‘मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछ । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । उक्त घटनाको निष्पक्ष छानबिन गर्न, अपराधीहरूलाई कडाभन्दा कडा कारबाही र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

विज्ञप्तिमा संवैधानिक र कानुनी हिसाबले अग्रगामी परिवर्तन र उपलब्धिहरू हुँदाहुँदै पनि व्यवहारमा अझै पनि दलित समुदायमाथि विभेद र हिंसाका घटनाहरू देखापर्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख छ । ‘यसले हामीलाई राजनीतिक रुपमा प्राप्त उपलब्धिहरूलाई हेरेर सन्तुष्ट नहुन र सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि गम्भीर, सार्थक र योजनाबद्ध प्रयास गर्न घच्घच्याइरहेको छ’ विज्ञप्तीमा भनिएको छ ।

जाजरकोटबाट साथी नवराज विककी प्रेमिका भगाउन रुकुम पश्चिमको चौरजहारी पुगेका उनीसहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए । घटनामा परि ६ जनाको मृत्यु भइसकेको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार