किशोरावस्था : रुकुम घटनामा वास्ता नगरिएको पक्ष

Corona-Ad-Raptisonari

किशोरावस्था : रुकुम घटनामा वास्ता नगरिएको पक्ष

सबिना पन्त 

हालै रुकुम जिल्लाको चौरजहारीमा ६ जनाको ज्यान जानेगरी भएको नरसंहारको घटनाले सम्पूर्ण देश नै तरंगित हुन पुग्यो। स्वभाविक रुपमा सामाजिक सञ्जालदेखि संसद भवन र संयुक्त राष्ट्रसंघसम्म यस घटना विरुद्ध आवाज उठ्यो।

विभिन्न जातीय र वर्गीय हिसाबले यो घटनालाई केलाइरहँदा यसको महत्वपूर्ण पाटो भने कहीँ, कतै ओझेल परेको देखिन्छ। यस्ता घटना घट्नुमा सामाजिक कुसंस्कार त छन् नै, सँगसँगै किशोरावस्था र अभिभावकको भूमिकाबारे पनि बुझन र बुझाउन सकिएको छैन। यस लेखमा किशोरावस्थामा रहेका आफ्ना केटाकेटीलाई कसरी बुझ्ने? अभिभावकको भूमिका के रहने? जस्ता विषयमा चर्चा गरिन्छ।

के हो किशोरावस्था?
किशोरावस्था मानव जीवनको एउटा संक्रमणकालीन उमेर हो। यो बेलामा व्यक्ति बाल अवस्था छोड्दै युवा अवस्थामा प्रवेश गर्दै हुन्छ। विश्व स्वास्थ्य संगठनले   १० देखि १९ वर्ष उमेर समूहलाई किशोरावस्था भनेर परिभाषित गरेको छ। यस अवधिमा व्यक्तिमा विभिन्न शारीरिक, मानसिक र सामाजिक परिवर्तन हुन्छन्।

मनोवैज्ञानिक तवरले हेर्दा यस उमेरमा व्यक्ति स्वाबलम्वी भई समाजमा आफ्नो पहिचान बनाउन खोज्छ भने अर्कोतर्फ उसको भूमिका बच्चाको जस्तो गर्ने कि युवाजस्तो हुने भनेर द्विविधामा हुन्छ। यो सबै किशोरावस्थासँगै शरीरमा सिर्जना हुने हर्मोनहरुको कारण हुन्छ। यही कारण किशोर–किशोरी बढी भावनात्मक हुने, झनक्क रिसाउने, विपरीत लिङ्गप्रति बढी आकर्षित हुने, बुबाआमाभन्दा साथीभाइसँग बढी समय बिताउन चाहने हुन्छ। यो स्वभाविक प्रक्रिया हो।

यदि यस उमेरमा बालबालिकाले सही रुपमा अभिभावकको निगरानी पाएनन् भने गलत साथी–संगत, कुलतमा फस्ने सम्भावना, विभिन्न दुर्घटना, किशोरावस्थामा नै गर्भवती आदि समस्या आउन सक्छन्।

कस्तो हुनुपर्छ अभिभावकीय जिम्मेवारी?
    बालबालिका किशोरावस्थामा पुगेपछि पहिलेभन्दा बढी स्वतन्त्रता खोज्छन्। यस बखत अभिभावकले उनीहरुको स्वतन्त्रताको सम्मान गर्दै स्वाबलम्वी बन्न प्रेरित गर्नुपर्छ।

    यो उमेरमा अभिभावकले आफ्ना बच्चाको रुचि, क्षमता र कमजोरीलाई राम्रोसँग बुझ्नुपर्छ। साथसाथै उनीहरुको सबल पक्षलाई बढाउँदै लैजानुपर्छ भने कमजोरीलाई सुधार्दै लैजानुपर्छ।

    अभिभावकले आफ्ना बच्चाको सम्पूर्ण कुरा ध्यान दिएर सुनिदिनुपर्छ। अभिभावक साथीको रुपमा प्रस्तुत हुनुपर्छ, ताकी बच्चाले आफ्ना सम्पूर्ण कुरा निर्धक्क र खुलस्त भन्न सकोस्।

    यो उमेरमा बच्चाहरु अलि बढी रिसाउने, झिँझिने हुन्छन्। साथसाथै उनीहरुमा आएको शारीरिक परिवर्तनले तनाव पनि सिर्जना हुन सक्छ। यस्तो बेलामा अभिभावकले यो जीवनको स्वभाविक हो भनेर सम्झाउनुपर्छ। साथै यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी दिनुपर्छ।

    अभिभावकले आफ्ना छोराछोरीको साथीसंगत कस्तो छ थाहा पाउनुपर्छ।  समयसमयमा उनीहरुसँग भेट्ने र समय बिताउने गर्नुपर्छ। यसबाट साथीसंगतबाट हुनसक्ने दुर्घटनाहरु जस्तैः कुलतमा फस्ने, सवारी दुर्घटना आदिबाट बचाउन सकिन्छ।

    अभिभावकले बच्चालाई के गर्न हुन्छ, के गर्नु हुँदैन भन्ने सिकाउनुपर्छ। आफ्नो परिवारको चालचलन, रीतिथिति साथै सामाजिक मूल्य र मान्यता, राष्ट्रिय नियम–कानुनको बारेमा सिकाउनुपर्छ।

    किशोर–किशोरीलाई उनीहरुको उमेर अनुसार भूमिका र जिम्मेवारी के हो भन्नेबारे सिकाउनुपर्छ। बच्चालाई उसले गल्ती गरेको खण्डमा माफी माग्ने बानीको विकास गर्नुपर्छ।

    अभिभावकले आफ्नो बच्चालाई आवश्यक पर्दा हरबखत भावनात्मक तवरले साथ दिनुपर्छ। कहिल्यै पनि बच्चालाई अनावश्यक डर, धम्की देखाउनु हुँदैन।

    बुबाआमाले आफ्नो बच्चाको गोपनीयताको अधिकारको सम्मान गर्नुपर्छ। उनीहरुले भनेका कुराहरु उनीहरुको इच्छाविपरीत कहीँकतै भन्नु हुँदैन।

    अभिभावकले कहिल्यै पनि एउटा बच्चालाई अर्कोसँग दाँज्नु हुँदैन।

    आफ्नो बच्चाले राखेका जिज्ञासालाई अभिभावकले बुझ्ने गरी समाधान गरिदिनुपर्छ। अभिभावक र बच्चाबीच कुनै पनि कुराहरु लुक्नु हुँदैन।

अन्त्यमा, राज्यले जातीय विभेद र छुवाछुत दण्डनीय कार्य भनिरहँदा, किशोर–किशोरी कार्यक्रम राष्ट्रिय तवरमा लागू भइरहँदा, विभिन्न गैरसरकारी संघसंस्थाले करोडौंको बजेट किशोर–किशोरी कार्यक्रम र जातीय विभेद अन्त्यका लागि भनेर दातृ निकायसँग मागिरहँदा समाजमा घटेका नरसंहारले हामीलाई कुरीकुरी गरिरहेको भान हुँदैन? हामीले दिने शिक्षामा जातीय विभेद र यौन शिक्षालाई प्रभावकारी बनाउन सकेको भए आज चौरजहारी नरसंहार जस्ता घटना देख्नुपर्ने थिएन।

काम देखाउनका लागि होइन, गरेँ भन्नका लागि होइन, परिणाम र परिवर्तनको लागि गरौँ ताकि भविष्यमा यस्ता घटनाबाट अरु नवराजहरुको ज्यान नजाओस्। अर्को कुनै युवती किशोरावस्थामा नै मानसिक रुपले विक्षिप्त हुनु नपरोस्। स्वास्थ्य खबर पत्रिकाबाट

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार