भुसको आगो झै सल्किरहेछ जातिय विभेद

भुसको आगो झै सल्किरहेछ जातिय विभेद

राजेन्द्र कार्की, असार ६ जाजरकोट
अन्र्तजातिय प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न भनेर गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी-८ सोती पुगेका जाजरकोट खलंगाका नवराज विक गाँउलेको कुटाइबाट मारिए । उनी मात्र होइन उनलाई साथ दिन गएका अरु पाँच जना युवाहरु पनि सँगै मारिए । नवराज सहित ६ जनाको ज्यान जाने गरी रुकुमको सोतीमा भएको घटना जातिय विभेदकै कारण घटेको अधिकारकर्मीको निश्कर्ष छ । नवराजको मल्ल थरकी एक किशोरी सँग दुई बर्ष देखि प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धलाई केटी पक्षले अस्वीकार गरेका कारण दुवै परिवार विच सम्बन्ध राम्रो थिएन । तल्लो जातको केटा सँगको छोरीको प्रेम सम्बन्ध मल्ल परिवारले सदाको छुटाउन चाहन्थ्यो तर प्रेमी प्रेमिकाले त्यो सम्बन्धलाई विहेमा परिणत गरेर अझ मजबुद बनाउन चाहन्थे । केटा तल्लो जातको र गरीब भएकै कारण केटीका आमाबाबुले त्यो प्रेमलाई स्वीकार गर्न नसक्दा ६ जनाको सामुहिक नरसंहार भएको दलित अधिकारकर्मीको भनाई छ ।

अन्र्तजातिय विवाह गरेका जाजरकोट जुनीचाँदे गाँउपालिका-५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाँउकी ज्योती शाह पाँच बर्ष देखि जिल्ला सदरमुकाम खलंगामा विस्थापित जीवन विताईरहेका छन् । उनीहरुले प्रेम त सफल पारे तर विहे गरेपछि पनि उनीहरु आफ्नो घरमा जान पाएका छैनन् । सदरमुकाम स्थित भाडाको कोठामा उनीहरुले गुजरा चलाईरहेका छन् । कथित माथिल्लो जातका भनिने माईती पक्षका शाह ठकुरीको धम्कीका कारण उनीहरु विस्थापित जीवन विताउन बाध्य भएका हुन् ।
भेरी नगरपालिका २ पोखराका पदम बुढा र जानुका विक विच अन्र्तजातिय विहे भयो । तर उक्त सम्बन्ध परिवार र समाजको दवावले टिक्न सकेन । अन्र्तजातिय विहे गरेर भारत भागेका उनीहरु तीन सन्तान सहित १३ बर्ष पछि घर फर्किए । त्यतिवेला सम्म सम्बन्ध राम्रै थियो तर घर पुग्दा पदमको परिवारले जानुकालाई दलित भएकै कारण स्वीकार गरेन । पदमको घरपरिवारले सजातिय (कथित माथिल्लो जात) विहे गराईदिएपछि जानुका सँग सम्बन्ध विच्छेद गरिदिए । उनी तीन छोराछोरी सहित एकल जीवन विताउन बाध्य छन् । केटाकेटीको लालनपालन गर्न उनलाई निकै समस्या परिरहेको छ ।

यी केही प्रतिनिधी घटना हुन् । दलित भएकै कारण अन्र्तजातिय प्रेम सम्बन्ध राख्दा कोही मारिनु पर्ने, कोही विस्थापित हुनु पर्ने र कोही सम्बन्ध विच्छेद गर्न बाध्य हुनु पर्ने अवस्था अझै कायमै छ । जातिय विभेद भुसको आगो झै भित्रभित्रै सल्किरहेको दलित अधिकारकर्मी गोपाल नेपाली बताउँछन् । दलित र गैरदलितहरु सँगै बस्न, खाना खान, सुत्न, यौन सम्बन्ध राख्न सम्म पछि पदैनन् तर जव विहेवारीको कुरा चल्छ समाज बाधक बन्छ । बैवाहिक नाता जोड्ने कुरा कुनै हालतमा स्वीकार गदैनन् र सोही आधारमा यस्ता धेरै घटना हुने गरेको उनको भनाई छ । ‘नवराज दलित नभएको भए उनी मारिने थिएनन् । त्यो घटना जातिय विभेदको पराकाष्ठा हो । कथित माथिल्लो जातकाहरु जातिय विभेद कति निर्मम र निर्दयी तरीकाले गर्छन र गरिरहेका छन् त्यो भोग्नेलाई मात्र थाह हुन्छ’ भन्दै उनले भने ‘कानुन बनाएर मात्र हुदैन । मन र ब्यवहार देखि नै सामाजिक परिवर्तन नहुँदा सम्म नवराजहरु मारिरहन्छन् र जानुका तथा गणेशहरु विस्थापित भैरहन्छन् ।’

अन्र्तजातिय विहे गरेपछि झुठा मुद्धा
जाजरकोट गर्खाकोटका गणेश चदाराले सोही ठाँउकी ज्योती शाहलाई भगाएर घनगढी पुरयाए । ठकुरीकी छोरी दलितले भगाईदिएपछि गर्खाकोटका गणेश र उनका बुवा कमारा चदारा विरुद्ध ८ लाख ५० हजार चोरी गरेको आरोप सहित ईलाका प्रहरी कार्यालय गर्खाकोटमा मुद्धा दर्ता गराए । गणेशको घरमै गएर ढुङ्गामुढा गदै एक हप्ता भित्र छोरीलाई नल्याए जे पनि हुन सक्छ भन्दै धम्क्याए । प्रहरीले गणेशका बुवालाई पक्राउ गर्यो । छोरालाई खोजेर ल्याउँछु भनेपछि प्रहरीले उनलाई छोडिदियो । उनले छोराबुहारीलाई जिल्ला सदरमुकाम खलंगा बोलाए । गणेश धनगढीबाट खलंगा आए । सुरक्षाका कारण देखाउँदै गर्खाकोट जान नसक्ने बताएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालयमै बयान लियो । दुवै पक्षको बयानका आधारमा ज्योतीका बुवा उत्तम शाहले चोरी गरेको भनि दर्ता गराएको मुद्धा झुठा ठहर भयो । प्रहरीले पनि उमेर पुगेका केटाकेटीको मनचित्त लागेर विहे गरे अरुले हस्तक्षेप गर्न नहुने बताउँदै दुवै पक्षलाई मिलापत्र गर्न आग्रह गर्यो तर माईती पक्षकाले मिलापत्र गर्न मानेनन् । गाँउ गए उनीहरुको सम्बन्ध विच्छेद गराउने र जतिखेर पनि आक्रमण हुन सक्ने डरले उनीहरु पाँच बर्ष देखि गाँउ जान सकेका छैनन् ।

नवराज एक रात थुनिएका थिए
जाजरकोट खलंगाका नवराज र सोतीकी मल्ल थरकी युवती विच प्रेम सम्बन्ध यति गाढा थियो कि केटाको घरमै आएर केटी बस्ने गरेकी थिईन । नवराजकी आमाका अनुसार ति युवती पुस १२ गते आएर चार दिन बसेको र फेरी पुस २९ गते आएर तीन दिन नवराज सँगै बसेकी थिईन । त्यतिवेलै नबराजका आमाबुवाले तिमी को हौ कसकी छोरी हौ? यहाँ यसरी बस्दा तिम्रा आमाबाबु रिसाउलान भनेर सोध्दा उनले ‘हामी दुवै एक अर्कालाई प्रेम गछौ । मेरो घर रुकुम सोती हो । म मल्ल ठकुरीकी छोरी हुँ’ भनेकी थिइन । तिमी ठकुरीकी छोरी रहिछौ हामी दलित हौ भोली तिम्रा आमा बुवाले गाली गर्नुहोला भनेर नवराजका बुवा मुनलालले भन्दा उनले ‘हामी माओवादी हौ । जातभात केही मान्दैनौ । कुनै चिन्ता नमान्नुहोस केही हुदैन’ भनेकी थिईन भनी परिवारका सदस्यहरुले बताएका छन ।

नवराज पनि युवतीको डेरा रहेको चौरजहारी पटक पटक जाने गर्दथे । तर युवतीका आमाबुवालाई त्यो सम्बन्ध पटक्कै मन परेको थिएन । एकार्कालाई छुटाउने योजनामा थिए । गत १७ बैशाखमा तीन जना साथीहरु सहित नवराज युवतीको घर सोती गए । उनी त्यहाँ पुगेको युवतीका आमाबुवाले थाह पाउने वित्तिकै गाँउका केटाहरु बोलाएर नियन्त्रणमा लिएर कुटपिट गरि चौरजहारी स्थित इलाका प्रहरी कार्यालयमा बुझाईदिए । प्रहरीले एक रात थुन्यो । भोली पल्ट नवराजकी आमाले किन मेरो छोरालाई थुनेको थुन्ने मान्छे बोलाउनुस भन्दा केटी तर्फका कोही आएनन् । प्रहरीले उनीहरुलाई छोडिदियो । चेतावनी दिन कुटपिट गरेर थुनेपनि नवराजले आफ्नो प्रेमलाई अघि बढाउने प्रयास गर्दा अन्ततः उनको ज्यानै गयो । १० जेठमा बेहुली लिन भनेर साथीहरु सहित गएका नवराजको टोलीलाई देख्ने वित्तिकै युवतीकी आमा प्रकाशी मल्लले ‘फेरी यो डुमौ टोक्या आईगछ । अस्तीको कुटाइले पुगेनछ । यसलाई आज यही ठिक गर्नु पर्छ’ भन्दै गाँउलेलाई हार गुहार गरेपछि केटाहरु फर्किएका थिए । उनीहरु फर्किएर तल बाटोमा आईसकेको बेला आधा घण्टा पछि घरेलु हतियार सहित आएका गाँउलेले नवराज सहित ६ जनालाई हत्या गरि भेरीमा बगाईदिएको र अन्यले भागेर ज्यान जोगाएको सँगै गएका नवराजका साथीहरुको भनाई छ । मेरो छोरा दलित नभएको भए मारिने थिएन नवराजकी आमा उर्मिलाले भनिन ‘छोरा मेरेपनि न्याय नमरोस । दोषीले उन्मुक्ति नपाउन, निर्दोस नफसुन् ।’

प्रेमका कारण ज्यान गुमाउने दलितहरू
काभ्रे, पाँचखाल– ६, होक्सेका अजीत मिजार कक्षा १२ मा अध्ययनरत थिए । गैरदलित युवतीसँगको दुई वर्षको प्रेमलाई उनले २०७३ असार २५ मा विवाहमा परिणत गरे । नवदम्पती अजितको दिदीकोमा बसेका थिए । दुई दिनपछि युवतीले माइतीलाई जानकारी दिएपछि माइती पक्षले ज्यान मार्ने धम्की दिदै उनीहरूको सम्बन्ध–विच्छेद गराइयो । अर्को दिन अजित बेपत्ता भए । अजितको परिवारले प्रहरीमा उजुरी ग¥यो ।

भोलिपल्ट धादिङको कुलपुर गाविसको परेवाटारमा झुण्डिएको अवस्थामा एउटा शव भेटियो। दुई दिनसम्म पनि मृतकको सनाखत हुन नसकेपछि पोस्टमार्टम गरेको भन्दै प्रहरीले धादिङमै लाश गाड्यो । यसको जानकारी मिजार परिवारले पायो । शंका लागेर उनीहरू काभ्रेको पाँचखालबाट धादिङको परेवाटार पुगे । घटनास्थल पुग्दा लाश गाडिसकिएको थियो । परिवारका सदस्यले खाल्डोबाट लाश निकाले । लाश अजितकै थियो । प्रहरीले पोस्टमार्टम गरेको भनेको थियो । तर, मृतकको शरीरमा कहीँकतै चिरफार गरेको भेटिएन । आफन्तले शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल ल्याए । अजीतको शव अझै अस्पतालमा छ ।

गैरदलित युवतीसँग छोराको प्रेम सम्बन्धका कारण २०६८ को भदौमा दैलेखका सेते दमाई मारिए । आफ्नै उमेरकी गैरदलित युवतीसँग उनको छोराको प्रेम थियो। दुवैले राजीखुशीमा प्रेमलाई बिहेमा परिणत गरे। तर, गैरदलित पत्नीको माइतीले सेतेका छोरालाई आक्रमण ग¥यो। छोरालाई बचाउँदा उनी आफैँ मारिए । त्यही वर्षको माघ १६ मा भएको सप्तरी, पन्सेरा–३ का शिवशंकर दासको मृत्युको कारण पनि अन्तरजातीय प्रेम र विवाह नै थियो । आफूहरूको प्रेमले परिवार र समाजमा विवाहका रूप नपाउने भएपछि झापाका अस्मिता सार्की र ईश्वर भट्टराईले ७ माघ, ०७३ मा एउटै पासो लगाए । तनहुँकी संगीता परियार, सिन्धुपाल्चोककी माया तिरुवा र म्याग्दीकी सविता नेपालीले पनि गैरदलितसँग प्रेमविवाहकै कारण ज्यान गुमाएका थिए ।

कानुनमा के छ ?
नेपालको कानुनले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । मुलुकी ऐन, २०२० ले नै छुवाछुतलाई दण्डनीय भनेको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछुतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ २०६३ मा नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ । वर्तमान संविधानको धारा ४० मा ‘दलितको हक’ अन्तर्गत सात वटा उपधारामा दलितका अधिकार र हक उल्लेख छन् ।

जातीय छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ले प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई आत्मसात् गरेको छ । यसैमा छुवाछुत तथा भेदभावविरुद्धको अधिकारमा विवाह गर्ने तथा वरवधू छान्ने अधिकार सुरक्षित छ । कसैले प्रचलित कानुनबमोजिम उमेर पुगेका वरवधूबाट मञ्जुर भएको अन्तरजातीय विवाह गर्नबाट कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसायका आधारमा रोक लगाए छुवाछुत तथा भेदभाव गरेको मानिन्छ ।
कानुनमा समानका कुराहरु गरिएपनि ब्यवहारमा अझै विभेद कायमै छ । चेतनाको अभाव एकातिर छ भने अर्कोतिर पुखौपुर्खा देखि नै गैरदलितले हामी माथिल्लो जातको हौ र दलित भनेका तल्लो जातका हुन । यीनीहरु दोस्रो दर्जाका नागरिक हुन भन्ने भन्ने परम्परागत सोचले गर्दा पनि विभेद हट्न सकेको छैन । अरुको लागी समानता खोज्ने तर आफुलाई पर्दा स्वीकार गर्न नसक्ने प्रबृत्ति पनि समाजमा विद्यमान छ । तसर्थ जातिय विभेद जस्तो अमानवीय कार्य रोक्न राज्यले नै अग्रसरता देखाउनु पर्छ । दलितको सशक्तीकरण, शिक्षा र राजगारीका अवसरका साथै कानुनको कार्यान्वयन गर्नु पर्छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार