रुकुम घटना नेकपा स्थायी कमिटीको एजेन्डा

रुकुम घटना नेकपा स्थायी कमिटीको एजेन्डा

असार १० काठमाडौं

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा रुकुम घटना पनि एजेन्डाका रूपमा भित्रिएको छ ।

बुधबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रारम्भमा रुकुम घटना एजेन्डामा थिएन । ओली निकट केही नेताहरूले रुकुम घटना पनि स्थायी कमिटी बैठकको एजेन्डा बनाइनुपर्ने आवाज उठाएपछि थपिएको एक नेताले जानकारी दिए । “पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल गठबन्धन नै बनाएर सरकारविरूद्ध प्रस्तुत हुने र आलोचनाको स्वर चर्को बनाउने संकेत पाएपछि केही नेतालाई सेबोटेज गर्न यो एजेन्डा आएको हो,” एक नेताले बाह्रखरीसँग भने ।

“रुकुम घटनामा अहिलेसम्म पार्टीको धारणा स्पष्ट भएको छैन । पार्टीले निकै ढिला गरी वक्तव्य निकाल्यो । पीडितलाई न्याय दिनुपर्छ भन्नेमा पार्टी बलियोगरी उभिनुपर्छ । त्यसमा कोही नेताको स्वार्थ जोडिने र मुद्दा कमजोर बन्नुहुँदैन । गृहमन्त्रालयको प्रतिवेदन, घटनाको अध्ययन, अनुसन्धान, मिसिलका आधारमा पीडितले न्याय र पीडकलाई कारबाही गर्नुपर्छ भनेर नै एजेन्डा तय गरिएको हो,” बालुवाटार स्रोतले बाह्रखरीसँग भन्यो ।

पछिल्लो समय प्रचण्डनिकट मानिएका नेता जनार्दन शर्मा सरकारको आलोचना गर्दै आएका छन् । रुकुमको चौरजहारी घटनाको प्रतिरक्षामा नेता शर्मा लागेको भन्दै नेकपाकै नेताहरूले टिप्पणी गर्दै आएका छन् । घटनालगत्तै संसदमा बोल्दै नेता शर्माले रुकुम घटनामा मारिएका नवराज विकसहित ६ जना नै ‘नदीमा हाम फालेर मरेको’  भन्ने अभिव्यक्ति दिएपछि विवादित बनेका थिए ।

उनले सरकारको आलोचना गर्न सक्ने ठानेर तह लगाउन रुकुम घटनालाई एजेन्डाकै रूपमा छिराइएको कतिपय नेताको बुझाइ छ । त्यस्तै स्थायी कमिटी बैठकमा नागरिकताको विषय पनि एजेन्डाको भित्रिएको छ । पार्टी सचिवालय बैठकले ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने निष्कर्ष निकालेको थियो । त्यही अनुसार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले पनि निर्णय गरेको छ ।

स्थायी कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले मन्तव्यसहित एजेन्डा प्रस्तुत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अर्को बैठक असार १२ गते ११ बजे बालुवाटारमा बस्ने तय भएको छ । बाह्रखरी डटकमबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार