नेपाल पसेका सलहले कति क्षति पुर्‍याउलान् ?

krishi
Duduwa Corona

नेपाल पसेका सलहले कति क्षति पुर्‍याउलान् ?

  •  
  •  
  •  
  •  
  •  
  •  

असार १४ काठमाडौँ
सरकारी अधिकारी र विज्ञहरूको अनुमानविपरीत सलह नेपाल भित्रिएको छ । भारतको पन्जाब, हरियाणा, राजस्थान र गुजरात हुँदै उत्तर प्रदेशका विभिन्न भागमा गत महिनामै देखा परेको सलह शनिबार नेपालमा देखा परेको हो । केही समयअघि बिहार क्षेत्रमा पनि सलहले विनाश निम्त्याउन सुरु गरेको थियो । त्यसअघि पाकिस्तानमा विनाश गरेको थियो ।

केही दिनदेखि मनसुन सक्रिय भएर वर्षा भइरहे पनि दक्षिणबाट उत्तरतिर हावा बगेकाले त्यही हावासँगै भारतीय सीमा क्षेत्रबाट प्रदेश २, प्रदेश ५ हुँदै सलह भित्रिएको विशेषज्ञहरूको विश्लेषण छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार केही दिनदेखि दक्षिण पश्चिम ९भारतीय भूभाग० बाट नेपाल ९उत्तरतिर० मा वायु आइरहेको छ । ‘त्यही वायुसँगै सलह भित्रिएको हुन सक्छ । वायुको गति जतातिर छ सलह त्यतैतिर गइरहेको देखिन्छ,’ प्रधानांगले भने । विज्ञहरूले यसको मुभमेन्ट अहिल्यै किटान गर्न नसकिने बताएका छन् ।

महाशाखाले सोमबारदेखि भने पूर्वबाट पश्चिमतिर वायु केन्द्रित हुने प्रक्षेपण गरेको छ । पूर्वी वायु सक्रिय भएर पश्चिमतिर वायु बगे सलह उतैतिर भाग्ने सम्भावना छ । हावाको गति जतातिर हुन्छ, हूल त्यतैतिर जाने सलहको जन्मजात प्रकृति हो ।

सोमालिया, तान्जानिया, युगान्डा, दक्षिणी सुडान, इथियोपिया, खाडी मुलुकहरू, इरान, पाकिस्तान हुँदै भारतको उत्तर प्रदेश र बिहारबाट सलह भित्रिएको हो । फट्यांग्रा प्रजातिअन्तर्गत पर्ने सलहको मुख्य बासस्थल पूर्वी र दक्षिण अफ्रिकी मुलुकहरू हुन् । मरुभूमि ९बलौटे माटो भएको स्थान० र चिस्यान भएको क्षेत्रमा सलहले बढी समय बिताउँछ । सलहले सबै प्रकारका बाली, बोटबिरुवा र हरिया रूख सखाप पार्छ । रूखका बोक्रा र डाँठसमेत खाइदिने भएकाले यसलाई विनाशकारी कीरा प्रजातिका रूपमा लिने गरिन्छ ।

रातो कमिलामा विद्यावारिधि गरी नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० मा लामो समय काम गरेका समुद्रलाल जोशीले यसअघि पनि नेपालमा धेरैपटक सलहले विनाश निम्त्याएको बताए । उनका अनुसार पहिलोपटक ८ सय वर्षअघि नेपालमा सलह भित्रिएको इतिहास छ । पछिल्लोपटक भने सन् १९६२ मा सलह भित्रिएको थियो । त्यतिबेला काभ्रेको पनौतीमा सलहले मकै बाली नष्ट गरेको थियो भने काठमाडौंलगायत धेरै पहाडी क्षेत्रमा विनाश गरेको थियो । त्यसअघि सन् १९०६, १९१५ र १९३० मा पनि सलह भित्रिएको र क्षति गरेको जोशीले जानकारी दिएका थिए । नेपालका विभिन्न भागमा शनिबार देखिएका सलह वयस्क ९एडल्ट० हुन् ।

त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक प्रेमबहादुर बुढा नेपाल भित्रिएका सलह वयस्क भए पनि प्रजनन गर्ने र संख्या विस्तार गर्ने सम्भावना न्यून देख्छन् । ‘यिनलाई प्रजनन गर्न मरुभूमि ९बलौटे माटो० र हल्का चिस्यान ९मोयस्चर० आवश्यक पर्छ, त्यसैले संख्या विस्तार हुँदैन,’ बुढाले कान्तिपुरसित भने ।

सहप्राध्यापक बुढाका अनुसार सलहले दुई सातामा अन्डाबाट करिब सयको संख्यामा बच्चा उत्पादन गर्ने भएकाले यसको संख्या विस्तार छिटो हुन्छ । बच्चा १ देखि ३ महिनामा ६ पटकसम्म काँचुली फेरेपछि वयस्क हुन्छ । वयस्क सलह ४ देखि ५ महिनासम्म बाँच्छ । सलहले वयस्क भएपछि लामो समयसम्म हावामा उड्न र ४ देखि ५ हजार किमि १० दिनमै तय गर्न सक्छ ।

हावाको गति बदलिए सलह त्यतैतिर जाने भएकाले नेपालमा त्यति धेरै चिन्ता गर्नु नपर्ने विज्ञहरू तर्क गर्छन् । ठूलो समूहमा आएको देखिएकाले नियन्त्रण गर्न भने समस्या छ । ‘हामीकहाँ नियन्त्रण कसरी गर्ने भन्ने तयारी छैन । विषादी छर्किएरमात्र नियन्त्रण गर्न सकिँदैन,’ बुढाले भने, ‘विषादी नै छर्किने हो भने पनि कहाँ र कति क्षेत्रफलमा छर्किने भन्ने मूल समस्या छ ।’

संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठन ९एफएओ० ले सलहले खेती प्रणालीलाई विश्वभर नै चौपट पार्ने उल्लेख गरेको छ । एफएओले यो कीरा प्रजातिलाई सलह ९लोकस्ट० प्लेगको नाम दिइसकेको छ । अफ्रिकी मुलुकहरूमा दुई वर्षदेखि नै क्षति पुर्‍याएको सलहले एसियाली क्षेत्रमा पनि विध्वंश गर्ने एफएओको विश्लेषण छ ।

विशेषज्ञहरूले यसपटक देखा परेको सलह विगतमा अफ्रिका, मध्यपूर्व र एसियाली खाडी मुलुकहरूमा देखिएको भन्दा २० गुणा ठूलो भएको बताएका छन् ।

सलहको संख्या लाखौं वा करोडौं हुन्छ । तिनले उड्दै जाँदा बाटामा पर्ने खाद्य बालीमात्र होइन, रूखबिरुवा, बुट्यान, झाडी, डाँठ सबै सखाप पार्छन् । त्यसैले वैज्ञानिकहरूले यसलाई खतरनाक कीरा प्रजातिका रूपमा व्याख्या गरेका छन् । सलह १ सयदेखि १ सय ३० किलोमिटरसम्म समूह बनाएर हिँड्छन् । एउटै समूहमा ४ देखि ८ करोड हुने भएकाले ३५ हजार मानिसलाई पुग्ने खाना एक दिनमै नष्ट गर्न सक्छन् ।

विशेषज्ञहरूले मिचाहा कीरा प्रजाति र सलहजस्ता कीरा बढ्नुमा जलवायु परिवर्तनलाई कारण मानेका छन् । यस्ता कीरा प्रजातिको संख्या कैयौं हजार गुणाले बढोत्तरी भएको पाइएको छ । सलह धेरै संख्यामा ठूलो क्षेत्रलाई ढाकेर बस्ने र उड्ने भएकाले यसलाई नियन्त्रण गर्न विश्वमै चुुनौती बनेको छ । यसको नियन्त्रणका लागि अफ्रिकी मुलुकहरूमा मेसिनमार्फत विषादी छरिएको थियो । कतिपय मुलुकले हेलिकप्टरको सहायताले समेत विषादी छर्किएका छन् ।

प्राणीशास्त्री हरिप्रसाद थपलियाले समूहमा हिँड्ने कीरा प्रजाति भएकाले टिन ठटाएरमात्र भगाउन नसकिने बताए । उनका अनुसार सलह रातको समयमा बढी चलायमान हुन्छ । मान्छेको भीड बढी भएको स्थानमा भने सलह बस्न रुचाउँदैन । ‘यिनको नियन्त्रणका लागि विषादी छर्कनु नै एकमात्र उपाय हो, त्यतातिर सम्बन्धित निकायले ध्यान दिनुपर्छ,’ थपलियाले भने ।

एकपटक भित्रिएका सलह लामो समय एकै ठाउँमा भने बस्दैनन् । उपयुक्त बासस्थान महसुस नगरे कैयौं किलोमिटर तय गर्दै अन्यत्रै जाने यसको जैविक गुण हुन्छ । तर आइसकेपछि भेटे जतिका बाली ध्वस्त पार्छन् ।

गर्मी बढी भएको क्षेत्रमा सलह लामो समय बस्ने सम्भावना हुन्छ । गर्मी बढी भएको स्थानमा यसको जीवनचक्रसमेत परिवर्तन हुन सक्ने विशेषज्ञहरू बताउँछन् । गर्मी बढी भएको क्षेत्रमा प्रजनन क्षमता बढ्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिन मनसुन सक्रिय भई वर्षा हुने अनुमान गरेको छ । वर्षा बढी भएर चिसो भए सलह अन्यत्रै जाने सम्भावना हुन्छ ।

कीरा प्रजातिमा विद्यावारिधि गरेका नेचुरल हिस्ट्री म्युजियमका इशान गौतम सलहले कृषि क्षेत्रमा ठूलो क्षति निम्त्याउन सक्ने भएकाले नियन्त्रणका लागि देशभरि नै समुदायस्तरका कार्यदल ९टास्क फोर्स० बनाउनुपर्ने बताए । ‘सबै ठाउँमा समुदायस्तरका कार्यदल बनाएर नष्ट गर्ने अभियान चलाउन सकिन्छ,’ उनले भने, ‘विषादी छर्केर, धूवाँ वा गुइँठा बालेर र ठूला कपडालाई जालका रूपमा प्रयोग गरेर सलहलाई नियन्त्रण गर्न सकिन्छ ।बालीमा धेरै समय बसेर खाइरहने भएकाले त्यस्तो बेला ट्रयापमा पार्न सकिन्छ ।’

गौतमका अनुसार समातिएका सलह माछा र हाँसलाई आहारका रूपमा खुवाउन पनि सकिन्छ । सलहमा अत्यधिक प्रोटिन र कार्बोहाइड्रेट हुने भएकाले मान्छेले खाँदा पनि स्वास्थ्यका लागि राम्रो हुने उनले बताएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

रूपन्देहीको बुटवलमा शनिबार देखिएका सलह कीरा । तस्बिर अमृता अनमोल कान्तिपुर

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार